ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वित्त कम्पनीको शेयरमूल्य औसतमा ५९.४९ % घट्यो, सर्वाधिक घट्नेमा गोर्खाज फाइनान्स

२०७९ जेठ, ३०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

जेठ ३०, काठमाडौं  । पछिल्लो समय बजार घट्दो ट्रेण्डमा छ ।

यस्तो अवस्थामा कतिपय लगानीकर्ताले बजार वियरिश ट्रेण्डमा गएको विश्लेषण गर्न लागेका छन् । नेप्से परिसूचक गत भदौ २ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । उक्त दिन नेप्से परिसूचक ३ हजार २०० विन्दुमा पुगेको नयाँ रेकर्ड कायम गरेको थियो ।

तर, अहिले बजार घटेर २ हजारको हाराहारीमा झरेको छ । यस बीचमा लगानीकर्ताले खर्बौं रूपैयाँ गुमाएका छन् । नेप्सेमा कारोबार हुने १३ ओटा समूहमध्ये वित्त कम्पनीका शेयरधनीहरूले पनि १० महीनाको अवधिमा करोडौं रुपैयाँ गुमाइ सकेका छन् । 

हाल नेप्सेमा १५ ओटा वित्त कम्पनीको शेयर कारोबार भइरहेको छ । यो अवधिमा १५ ओटा वित्त कम्पनीको शेयरमूल्य औसत ५९ दशमलव ४९ प्रतिशतले घटेको छ । १५ कम्पनीमध्ये सबैभन्दा बढी गोर्खाज फाइनान्सको शेयरमूल्य बढी घटेको छ ।

यो कम्पनीको शेयरमूल्य १० महीनामा ७० दशमलव ३६ प्रतिशत घटेको छ । यो कम्पनीको शेयरमूल्य २०७८ भदौ २ गते प्रतिकित्ता रू. १ हजार २९९ रहेकोमा २०७९ जेठ २७ गते प्रतिकित्ता रू.३८५ मा झरेको छ । 

बजार बुलिस ट्रेण्डमा रहेका बेलामा यस कम्पनीले हकप्रद शेयर र आकर्षक लाभांश दिने हल्ला फैलाएर सोझा लगानीकर्तालाई फसाइएको एक लगानीकर्ताले बताए । कम्पनीले आधिकारीक रूपमा कुनै पनि हकप्रद र बोनस शेयरको घोषणा नगर्दै सामाजिक सञ्जालमा अनेकौं हल्ला फैलाउने गिरोहलाई पनि नियामक निकायले कारबाही गर्नुपर्ने बताए ।

त्यति बेला बजार बढ्छ भन्दै हल्ला भएको र आफूले महंगोमा शेयर किनेको नाम नबताउने शर्तमा एक लगानीकर्ताले बताएका छन् । लगानीकर्ताले पनि लगानी गर्नुपूर्व आफूले कस्तो कम्पनीमा लगानी गर्दैछु भनेर राम्रोसँग आध्ययन गरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने कतिपयको भनाइ छ । 

बजार घटेर २ हजारको आसपासमा आइपुग्दा अरू वित्त कम्पनीको शेयरमूल्य पनि न्यून विन्दुमा पुगेको छ । बजार निरन्तर घट्न थालेपछि केही दिनदेखि लगानीकर्ताले बजार सुधार र विस्तारका लागि १९ बुँदे माग राख्दै आन्दोलन गरिरहेका छन् । यतिबेला कतिपय लगानीकर्ताले भने स्वार्थ समूहले बजार बढाउनलाई हौवा फैलाउँदै सडकमा नाराबाजी गर्नुको औचित्य नरहेको बताउँदै पनि आएका छन् । 

त्यसैगरी शेयरमूल्य बढी घट्ने दोस्रोमा मञ्जुश्री फाइनान्स कम्पनी रहेको छ । यो कम्पनीको शेयरमूल्य १० महीनामा ६७ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य २०७८ भदौ २ गते प्रतिकित्ता रू. १ हजार ३७० रहेकोमा २०७९ जेठ २७ गते शुक्रवार रू. ४४२ मा झरेको हो । यो कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट ४० प्रतिशत बोनस शेयर वितरण गरेको छ । ४० प्रतिशत बोनस शेयरको समायोजनले गर्दा पनि उक्त कम्पनीको शेयरमूल्य घटेको देखिन्छ । 

१५ ओटा कम्पनीमध्ये प्रतिशतका आधारमा सबैभन्दा कम शेयरमूल्य घट्नेमा वेष्ट फाइनान्स रहेको छ । यो कम्पनीको शेयरमूल्य ३७ प्रतिशत घटेको छ । यो कम्पनीको शेयरमूल्य गत भदौ २ गते प्रतिकित्ता रू. ५९९ रहेकोमा अहिले घटेर रू. ३७४ मा झरेको छ । 

१५ ओटा कम्पनीमध्ये सबैभन्दा कम शेयरमूल्य समृद्धि फाइनान्सको रहेको छ । यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २३२ दशमलव ५ रहेको छ । त्यसैगरी दोस्रोमा मल्टीपर्पस फाइनान्सको शेयरमूल्य रू. २४४ रहेको छ । 

नेप्से परिसूचक गत भदौ २ गते हालसम्मकै उच्च विन्दुमा पुगेको दिन वित्त समूहको कुल कारोबार रकम रू. २ अर्ब ८२ करोड रहेको थियो । हाल उक्त समूहको कुल कारोबार रकम रू. ४ करोडको आसपासमा झरेको छ । 


स्रोत : नेप्से
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)