ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जलविद्युत् क्षेत्रकै पहिलो मर्जर : रिडी र रैराङ साउनभित्रै एकीकृत कारोबार गर्ने तयारीमा

२०७९ असार, २०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । बैंंक तथा वित्तीय संस्थाहरूमा बाक्लै रूपमा देखिन सकिने मर्जर जलविद्युत् क्षेत्रमा भने हालसम्म रिडी र रैराङ हाइड्रोपावरमा मात्र देखिएको छ । जलविद्युत् क्षेत्रमै पहिलो पटक यी दुई कम्पनी मर्जरमा जान लागेका हुन् । असार १७ गते दुवै कम्पनीले विशेष साधारणसभा सम्पन्न गरी मर्जर प्रस्तावलाई अन्तिम रूप दिएका छन् । 

रैराङ हाइड्रोपावरलाई रिडी हाइड्रोपावरले गाभ्न लागेको हो । यी दुई कम्पनी १ बराबर शून्य दशमलव ९३ को अनुपातमा शेयर आदानप्रदान गरी एक हुन लागेका हुन् । यस आधारमा रैराङ हाइड्रोपावरको १०० कित्ता शेयर बराबर रिडी हाइड्रोपावरको ९३ कित्ता शेयर प्राप्त हुनेछ । 

रिडी हाइड्रोपावरका अध्यक्ष गुरू प्रसाद न्यौपानेले मर्जर सम्बन्धी सम्झौता पत्रलाई विशेष साधारणसभाले पारित गरीसकेकाले आवश्यक प्रक्रिया सम्पन्न गरी साउन महीनाभित्रै एकीकृत कारोबार शुरू गर्ने गरी अघि बढेको बताए । जलविद्युत् क्षेत्रकै पहिलो मर्जर भएकाले अन्य कम्पनीहरूलाई पनि प्रोत्साहन मिल्ने गरी मर्जर प्रक्रिया सम्पन्न गर्ने लक्ष्य उनको छ । दुई राम्रा कम्पनी एक भई बन्ने नयाँ कम्पनी अझ बलियो बन्ने विश्वास उनको छ ।

पछिल्लो समय जलविद्युत् कम्पनीहरूले आयोजना निर्माणका लागि पूँजी जुटाउन हकप्रद शेयर निष्कासनलाई जोड दिईरहेको अवस्थामा रिडी र रैराङ एक भई मजबुत कम्पनी बन्न लागेको जानकारी समेत उनले दिए । लगानीकर्ताहरूको सम्पत्ति लामो समय बन्धक नबन्ने गरी मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने तयारीमा जुटेको न्यौपानेको भनाइ छ ।

रिडी पावर कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू गरिने बताएका न्यौपानेले मर्जर पश्चात् बन्ने कम्पनीको मातहतमा रिडीखोला, रैराङखोला र इवाखोला गरी तीन जलविद्युत् आयोजनाहरू र एक बुटवल सौर्य विद्युत् आयोजना रहने उल्लेख गरे । यी आयोजनाहरूको व्यवस्थापनसँगै मर्जरपश्चात् कायम पूँजीले नयाँ ठूला आयोजनाको निर्माणमा पनि कम्पनीले ध्यान दिने उनले जानकारी दिए ।

दुई कम्पनी एक भएपश्चात् व्यवस्थापकीय खर्च कम हुने र नाफा बढ्ने भन्दै उनले लगानीकर्ताको प्रतिफलमा पनि वृद्धि हुने बताए । यस वर्ष भने दुवै कम्पनीले एउटै अनुपातमा १२ दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गरेका छन् । आगामी वर्ष बोनस शेयरमा जोड दिने जानकारी समेत न्यौपानेले दिए । 

हाल रिडी हाइड्रोपावरको चुक्तापूँजी रू. ५८ करोड ५५ लाख ५८ हजार र रैराङ हाइड्रोपावरको चुक्तापूँजी रू. ५६ करोड रहेको छ । यी दुई कम्पनीबीच गत कात्तिक १७ गते मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मर्जरका कारण दुवै कम्पनीको शेयर कारोबार कात्तिक २२ गतेदेखि रोक्का रहेको छ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार रिडी हाइड्रोपावर अन्तर्गतका रिडीखोला जलविद्युत आयोजनाबाट रू. ४ करोड २३ लाखभन्दा बढी र बुटवल सोलार आयोजनाबाट रू. ६ करोड ५८ लाखभन्दा बढी आम्दानी भएको छ ।

त्यस्तै रैराङ हाइड्रोपावर अन्तर्गतको रैराङ खोला जलविद्युत् आयोजनबाट रू. ४५ लाख ८३ हजारभन्दा बढी र इवाखोला जलविद्युत् आयोजनाबाट रू. २० करोड ५ लाखभन्दा बढी आम्दानी भएको छ । सो अवधिसम्म रैराङ हाइड्रोपावर रू. ५ करोड ४९ लाखभन्दा बढी र रिडी हाइड्रोपावर रू. ४८ करोड ३८ लाखभन्दा बढी खुद नाफामा रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)