ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१७ कम्पनीको कारोबार रोक्का : कारोबार छिटो खुलाउन फुकेन गाँठो

२०७९ असार, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । बैंक तथा वित्तीय संस्था र बीमाक्षेत्रका कम्पनीबीच मर्जर तथा प्राप्ति प्रक्रियाले निरन्तरता पाइरहँदा धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको शेयर कारोबार रोक्का हुने क्रम पनि बढिरहेको छ । हालसम्म मर्जर तथा प्राप्तिकै कारण धितोपत्र दोस्रो बजारमा १७ ओटा कम्पनीको शेयर कारोबार रोक्कामा छ । 

मर्जरका कारण पाँचओटा वाणिज्य बैंक, पाँचओटा जीवन बीमा कम्पनी, दुईओटा निर्जीवन बीमा कम्पनी, तीनओटा लघुवित्त कम्पनी र दुईओटा जलविद्युत् कम्पनीको कारोबार रोक्का गरिएको छ । 

हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि वाणिज्य बैंकतर्फका नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का रहेको छ । त्यस्तै जीवन बीमातर्फका प्राइम लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, ज्योति लाइफ र युनियन लाइफको शेयर कारोबार रोकिएको छ । त्यस्तै निर्जीवन बीमातर्फ हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार रोकिएको छ । लघुवित्ततर्फका नाडेप, घोडीघोडा लघुवित्त र समाज लघुवित्तको मर्जर तथा प्राप्ति प्रयोजनकै कारण कारोबार रोकिएको छ । जलविद्युत्तर्फको रिडी र रैराङ जलविद्युत्को शेयर कारोबार पनि मर्जरका कारण रोक्कामा रहेको छ । 

यसरी कम्पनीको शेयर कारोबार रोकिँदा लगानीकर्ताको सम्पत्ति बन्धक बन्दै आएको छ । कानूनले कारोबार रोक्का राखिराख्नुपर्ने व्यवस्था नगरे पनि लामो समयसम्म कारोबार रोकिँदा लगानीकर्ता मारमा परेका छन् । 

मर्जर तथा प्राप्तिका कारण लगानीकर्ताको सम्पत्ति लामो समय बन्धक बनाउन नहुने पक्षमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) नै उभिएका छन् । तैपनि उनीहरूले यसको समाधान निकालेका छैनन् । 

शेयर कारोबार खुलाउन नियामक निकाय बोर्डले नेपाल राष्ट्र बैंकसँग पनि छलफल गरिसकेको छ । यस विषयमा थप अध्ययन गरी निकास निकाल्न बोर्डले गठन गरेको टास्क फोर्सलाई जिम्मेवारी दिएको बताइएको छ । टास्क फोर्सले जतिसक्दो छिटो यस विषयमा निकास निकाल्ने बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए । उनले आगामी आर्थिक वर्षदेखि कारोबार छिटो खुलाउने विश्वास व्यक्त गरे । 

मर्जर तथा प्राप्तिका कारण कारोबार रोक्का गर्न नहुनेभन्दा पनि लामो समय रोक्का गर्न नहुने पक्षमा बोर्ड उभिएको छ । राष्ट्र बैंकको नियमनमा पर्ने कम्पनीहरूको सम्बन्धमा राष्ट्र बैंकले विनियमावली नै परिवर्तन गर्न आवश्यक देखिएको छ । यस विषयमा राष्ट्र बैंकले निकास निकाल्न सहयोग गर्ने अध्यक्ष हमालको विश्वास छ । 

बैंक तथा वित्तीय संस्थाबाहेकका क्षेत्रका कम्पनीले भने राष्ट्र बैंकको व्यवस्थालाई टेकेर अघि बढेको देखिएकाले नयाँ व्यवस्था लागू गर्न समस्या नभएको उनको भनाइ छ ।

नबिल बैंकले प्राप्ति प्रक्रिया पूरा गरी असार २७ गतेदेखि नेपाल बंगलादेश बैंकसँग एकीकृत कारोबार शुरू गर्दै छ । गत पुस २९ गते प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका यी बैंकले ६ महीनाभित्र प्राप्ति प्रक्रिया सम्पन्न गर्न लागेका हुन् । पुस ३० गतेदेखि नेपाल बंगलादेश बैंकको शेयर कारोबार रोक्का रहेको हो ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)