ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऋणपत्रमा लगानीकर्ताको आकर्षण कम

२०७९ असार, ३१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । पछिल्लो समय ऋणपत्र खरीदमा सर्वसाधारणको आकर्षण कम रहेको पाइएको छ । प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आएको ऋणपत्रका लागि परेको आवेदन हेर्दा यसमा सर्वसाधारणको आकर्षण कम रहेको पुष्टि हुन्छ । 

सर्वसाधारणमा जारी भएको साधारण शेयर (आईपीओ) मा पहिलो दिनमै मागभन्दा कैयौं गुणा बढी आवेदन परिरहेको बेला ऋणपत्रमा भने छिटोमा विक्री बन्द हुने अवधिभित्र मागबमोजिम आवेदन नपरेको अवस्था छ । पछिल्लो समय सानिमा र सिद्धार्थ बैंकले ऋणपत्र विक्री गरेका थिए । नेपाल एसबीआई बैंकको ऋणपत्र विक्रीकै क्रममा छ । नेपाल एसबीआई बैंकको ऋणपत्रको आवेदन छिटोमा बन्द हुने मिति असार २८ थियो । तर, उक्त अवधिसम्म पर्याप्त मात्रामा आवेदन नपरेपछि साउन ४ गतेसम्म आवेदन खुलै रहने भएको छ । यसअघि सानिमा र सिद्धार्थ बैंकले पनि छिटोमा आवेदन बन्द हुने अवधिभित्र पर्याप्त आवेदन नपरेपछि ढिलो अवधिसम्म ऋणपत्र विक्री गरेका थिए ।

निश्चित अवधिको लागि निश्चित ब्याजदर तोकेर जारी हुने ऋणपत्र दोस्रो बजारमा सूचीकृत भए पनि नियमित कारोबार भने भएको देखिँदैन । पछिल्लो समय लगानीयोग्य पूँजीको अभाव भइरहेको बेला लामो समयसम्म लगानीमा रहने ऋणपत्रप्रति सर्वसाधारणको आकर्षण घटेको जानकार बताउँछन् । कम्पनीले जारी गरेको आईपीओ दोस्रो बजारमा सूचीकृत भएपछि कारोबारका लागि सहज हुने तर ऋणपत्रमा त्यस्तो नहुने लगानीकर्ताको गुनासो छ । 

स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्कीले पछिल्लो समय धितोपत्र बजारमा भित्रिएका नयाँ लगानीकर्तामा ऋणपत्रको सम्बन्धमा कम ज्ञान रहेको बताए । ऋणपत्रमा सर्वसाधारणको आकर्षण बढाउन यस विषयमा वित्तीय साक्षरता आवश्यक रहेको कार्कीको बुझाइ छ । जति पनि लगानीकर्ताले ऋणपत्रबारे बुझेका छन् तिनले पनि दोस्रो बजारमा कारोबारका लागि प्राविधिक कठिनाइ हुने भएकाले ऋणपत्र खरीदमा चासो नदिएको कार्की बताउँछन् । दोस्रो बजारमा ऋणपत्रको बजार विस्तार गर्ने नियामकको नीति तथा कार्यक्रमले पूर्णता पाए आगामी दिनमा आईपीओसरह ऋणपत्रमा पनि लगानीकर्ताको आकर्षण बढ्ने विश्वास कार्कीले व्यक्त गरे ।

करिब ५३ लाख लगानीकर्ता रहेको पूँजीबजारमा सार्वजनिक निष्कासनमा आउने धितोपत्रको आ–आफ्नै मूल्य मान्यता रहेकाले आम लगानीकर्तालाई साधारण शेयर, ऋणपत्र र म्युचुअल फन्डबारे पर्याप्त जानकारी दिनुपर्ने कार्की बताउँछन् । 

ऋणपत्र विक्रीको जिम्मेवारी पूरा गरिरहेका मर्चेन्ट बैंकरहरू लगानीकर्ताको संख्या बढिरहे पनि धितोपत्रसम्बन्धी ज्ञानको भने अभैm कमी रहेको बताउँछन् ।
ऋणपत्रमा पछिल्लो समय जानेर, बुझेर आवेदन गर्ने लगानीकर्ता कम नै रहेको उनीहरूको भनाइ छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सार्वजनिक निष्कासनमा आउने साधारण शेयर, ऋणपत्र र म्युचुअल फन्डका एकाइलाई समेत आईपीओकै संकेत दिने गरेका कारण धेरैजसोको झुक्किएर आवेदन पर्ने गरेको मर्चेन्ट बैंकरको भनाइ छ । कतिपय सेवाग्राही ‘आईपीओ सम्झेर आवेदन दिएको ऋणपत्र रहेछ यो आवेदन रद्द गरिदिनुपर्‍यो’ भन्दै कार्यालयमै आएको विक्री प्रबन्धकले जानकारी दिएका छन् । 

लगानीकर्ताले छोटो समय लगानी गरेर धेरै नाफा कमाउन चाहने भएकाले पनि ऋणपत्रमा चासो कम देखिएको मर्चेन्ट बैंकरहरूको बुझाइ छ । पछिल्लो समय धेरै कम्पनीको ऋणपत्र सर्वसाधारणमा पूर्ण रूपमा विक्री नभई प्रत्याभूतकर्ताले सकारेको अवस्था रहेको मर्चेन्ट बैंकर बताउँछन् । 

सीडीएससी भने आम लगानीकर्तामा सहज तरीकाले पहुँच विस्तार गर्ने क्रममा सार्वजनिक निष्कासनका धितोपत्रमा लगानीकर्ता स्पष्ट हुने गरी विवरण खुलाएको बताउँछ । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले ५२ लाखभन्दा बढी लगानीकर्ताको सजिलोका लागि सार्वजनिक निष्कासनका धितोपत्रलाई सहज तरीकाले बुझिने गरी प्रस्तुत गरिएको बताए । आम लगानीकर्तामा साधारण शेयरबारे जति जानकारी ऋणपत्र र म्युचुुअल फन्डबारे नभएको पनि उनले स्वीकार गरे । यस विषयमा लगानीकर्तालाई साक्षर बनाउन सीडीएससीले आफ्नो तर्फबाट काम गरिरहेको उनको भनाइ छ । 

ऋणपत्र तथा म्युचुअल फन्डका एकाइ पनि प्रारम्भिक सार्वजनिक निष्कासनकै धितोपत्र भएकाले आईपीओको संकेत दिएको उनको भनाइ छ । मेरो शेयर वेबसाइट र मेरो शेयर सफ्टवेयरमा साधारण शेयर, ऋणपत्र, हकप्रद शेयर र म्युचुअल फन्डका एकाइलाई स्पष्टसँग बुझिने गरी राखिएको न्यौपानेले बताए । सबै लगानीकर्तालाई हतार नगरी संयमतासाथ थोरै अध्ययन गरेरमात्र सार्वजनिक निष्कासनका धितोपत्रमा आवेदन दिनसमेत उनले आग्रह गरे । लगानीकर्ता नै अलमलिएको अवस्था भए आईपीओको संकेतका विषयमा पुनर्विचार गर्ने न्यौपानेले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)