ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अहिले पनि काम लाग्ला वारेन बफेटको लगानी रणनीति ? 

२०७९ साउन, ९  
अन्तरराष्ट्रिय लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं ।  अमेरिकी अर्बपति लगानीकर्ता तथा बर्कशायर ह्याथवेका अध्यक्ष तथा सीईओ वारेन बफेटलाई २० औं शताब्दीको अन्त्य र २१ को शताब्दीको शुरूका सबैभन्दा सफल लगानीकर्ताको रूपमा हेरिन्छ । ‘ओमाहाका भविष्यवक्ता’ भनेर चर्चित बफेटले विद्यमान लगानी प्रवृत्तिलाई गलत साबित गरेर झन्डै खर्ब डलरको सम्पत्ति थुपारेका छन् । साधारण जीवनयापन गर्ने बफेट सबैभन्दा दानी धनाढ्यमध्ये पर्दछन् । सन् २००६ मा उनले आफ्नो ८० प्रतिशत सम्पत्ति परोपकारी संस्थाहरूलाई दान दिने घोषणा गरेका थिए । 

सन् २००७–०८ को वित्तीय संकटको समयमा बफेटले गरेका कयौं लगानीमाथि शंकाको दृष्टिले हेरिएको थियो । तर अहिले ती लगानी निकै मुनाफादायक साबित भएका छन् । लगानीकर्ताहरूले लगानीका लागि शेयर रोज्ने बफेटको क्षमताको लामो समयदेखि प्रशंसा गर्दै आएका छन् ।

सुपरकप्युटर र अल्गोरिदिमबाट कारोबार हुने अहिलेको युगमा पनि ९१ वर्षका बफेटको लगानी नीति सान्दर्भिक छ भनेर अमेरिकी हेज फन्ड रेनेसा टेक्नोलोजिज (रेनटेक) का व्यवस्थापक जिम साइमन्सले हालै एउटा अन्तरवार्ता भनेका थिए । 

‘हामीहरूले तथ्यांकशास्त्री, भौतिकशास्त्री, खगोलविद् र गणितिज्ञहरू भर्ना गर्‍यौं, महत्त्वपूर्ण कुरा यिनीहरू थिए,’ सिमन्सले शुरूमा आफ्नो भर्ना नीतिबारे भनेका छन् ।

तपाईंले भौतिकशास्त्रीलाई वित्त सिकाउन सक्नुहुन्छ तर वित्त क्षेत्रका व्यक्तिलाई भौतिकशास्त्र सिकाउन सक्नु हुन्न । एनएसएका पूर्व कोडब्रेकर र एमआईटीमा गणितका पूर्व प्राध्यापक समेत रहेका सिमन्सको भनाइ छ । रेन टेक इतिहासकै सबैभन्दा ठूलो अनि उत्कृष्ट प्रदर्शन गर्ने हेज फन्डमध्ये एउटामा पर्दछ । यसको अधिकांश कारोबार अल्गोरिदमबाट गरिन्छ । तर बफेटको लगानी गर्ने परम्परागत तरिका थोत्रो नहुने उनको भनाइ छ ।

कुनै पनि कम्पनीको गहन अध्ययन गर्न, त्यहाँको व्यवस्थापनको विश्लेषण गर्न यो निकै तर्कसंगत भएको उनको भनाइ छ । वारेन बफेटले गर्ने जस्तो लगानी शैलीको सधैं छुट्टै स्थान हुनेमा उनले जोड दिएका छन् । 

गत दुई वर्षमा कोरोना भाइरसको महामारीबीच पनि शेयर बजार उकालो लागेका थिए । तर यो वर्ष बजार ओरालो लागेका छन् । अमेरिकामै पनि प्रमुख शेयर परिसूचकहरू दोहोरो अंकले घटेका छन् । ४० वर्षकै ताजा स्तरमा उक्लिएको महँगी नियन्त्रण गर्न फेडले आक्रामक रूपमा ब्याजदर बढाउन थालेपछि मन्दीको भय चुलिएको छ । यस्तोमा भूराजनीतिक अराजकताले आगोमा घिउको काम गरिदिएको छ । लगानीकर्ताहरू त्रस्त बनेका छन् ।

गत १३ वर्षयता विश्वभर देख्न पाइएको खुकुलो मौद्रिक नीतिलाई केन्द्रीय बैंकहरूले क्रमिक रूपमा कसिलो बनाउँदै गएका छन् । बजारमा भय र त्रास हाबी छ । शेयर बजारबाट लगानीकर्ताहरूले धमाधम लगानी झिकेर सुरक्षित मानिने सम्पत्तिमा लगानी गर्ने प्रवृत्ति देखिन थालेको छ । 

प्राविधिक विश्लेषकहरूले कुनै पनि कम्पनीको शेयरको विश्लेषण शेयरको मूल्य र विक्री आयतनका आधारमा गर्छन् । शेयर व्यापारी र विश्लेषकहरूले पनि कम्पनीको चार्ट हेरेर आधारभूत विश्लेषण गरेर नै शेयर कतातिर जान्छ भन्ने भविष्यवाणी गर्ने हो । बफेटले सधैं कम्पनीको समग्र अवस्था हेरेर राम्रो व्यवसायमा लगानी गर्नुपर्छ भन्दै आएका छन् । 

लगानीलाई निरन्तरता दिन नडराउनु 
अहिले मन्दीको भय बढिरहेको समयमा लगानीलाई निरन्तरता दिन नडराउनु भनेर बफेट बताउँछन् । शेयर बजार ओरालो लागिरहेको अनि अर्थतन्त्र खुम्चिरहेको समय लगानीका लागि उपयुक्त होइन जस्तो धेरैलाई लाग्न सक्छ । तर शेयरको मूल्य न्यून हुने यो बेला लगानीको लागि उत्तम समय हो भन्छन् बफेट ।

खराब समय लगानीकर्ताको अनन्य मित्र भएकाले यसले बजार घटेको बेलामा सस्तोमा शेयर किन्ने अवसर दिने उनले सन् २००८ को महामन्दीको समयमा न्यूयोर्क टाइम्समा छापिएको आफ्नो एक लेखमा भनेका थिए । मन्दीको समयमा बजार घटे पनि अर्थतन्त्रको अवस्था सुध्रँदै गएपछि शेयर बजार पनि पुनः  उकालो लाग्न थाल्छन् । मन्दीको समयमा बजारमा लगानी गर्दा सस्तो पर्न आउँछ । थोरै मूल्यमा धेरै शेयर किन्न सकिन्छ ।

दीर्घकालीन समयका लागि लगानी 
आगामी हप्ता वा महीनामा शेयर बजार कतातिर जान्छ भनेर कसैले  पनि भविष्यवाणी गर्न सक्दैन । यसको भविष्यवाणी त वारेन बफेटले पनि गर्न सक्दैनन् । मन्दी कत्तिको गम्भीर हुन्छ र कति लामो समयसम्म रहन्छ भन्ने कसैलाई थाहा हुन्न ।

तर यो समय बित्दै जाँदा बजार सकारात्मक भने बन्छ । अवस्था जति नै खराब भए पनि सुध्रिन्छ । सधैं दीर्घकालीन लगानीमा केन्द्रित हुन सजिलो हुन्न । विगतमा पनि बजारमा अनेकौं संकट आए अनि ती सबै संकट पार गरेर बजार अहिलेको अवस्थामा आइपुगेको हो । यो संकटबाट पनि पार पाइन्छ भन्ने सोच्नुपर्छ । 

सही शेयरको चयन 
मन्दीको समयमा पनि शेयर बजारमा लगानीलाई निरन्तरता दिन सकिन्छ । तर सफलताको सूत्र चाँहि सही शेयरको चयन नै हो । आफूहरूले शेयरमा भन्दा पनि व्यवसायहरूमा लगानी गर्ने गरेको बफेट बताउँछन् । सबैखालका शेयरहरूले मन्दीको अवस्था पार गर्न सक्दैनन् । तर स्वस्थ्य कम्पनीहरूमा भने यसको सम्भावना धेरै हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)