ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किन बढ्दै छन् बोनस शेयर दिने कम्पनी ?

२०७९ साउन, १३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

साउन १३, काठमाडौं । पछिल्लो समय बोनस शेयर दिने कम्पनीको संख्या बढ्दै गएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा सूचीकृत बोनस शेयरको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७८/७९ मा मात्रै ६१ करोड ७९ लाखभन्दा बढी बोनस शेयर सूचीकृत भएको छ । यो तथ्यांक तीन वर्षयताकै उच्च हो ।

यसरी हेर्दा पछिल्लो समय बोनस शेयर दिने कम्पनीको संख्या बढ्दो देखिन्छ । आव २०७८/७९ मा मात्रै १४५ कम्पनीले बोनस शेयर वितरण गरेको सेबोनले जानकारी दिएको छ । आव २०७७/७८ मा ४६ करोड १७ लाख ८१ हजार कित्ता बोनस शेयर सूचीकृत भएको थियो । सो वर्ष १३४ कम्पनीले बोनस शेयर वितरण गरेका हुन् ।

बोनस शेयर कम्पनी, देश र शेयरधनी कसैको लागि पनि हितकारी नभएको विश्लेषक ज्योति दाहाल बताउँछन् । बोनसपश्चात् मूल्य समायोजन हुने हुँदा थप कित्ताले शेयरधनीको सम्पत्तिमा कुनै असर पर्दैन । वर्षैपिच्छे पूँजीको भार थपिँदा व्यापार सोही मात्रामा थपिएर जान्छ भन्ने पनि हुन्न र थपिए पनि एउटा विन्दुमा पुगेपछि मन्दीको स्थिति आउँछ । कुनै पनि कम्पनीले जति मात्रामा नगद बाहिर पठाउने सामथ्र्य राख्छ, त्यसलाई सफल मानिने दाहालको भनाइ छ ।

बोनस शेयरले कम्पनीको चुक्ता पूँजी बढाउने, नेटवर्थ तथा सञ्चिति घटाउने र शेयरधनीको कित्तामा परिमाणात्मक वृद्धि दिनेबाहेक गुणात्मकरूपमा केही पनि दिँदैन । बोनस शेयर जारी हुने सूचनाले केही दिन शेयरको मूल्य अस्वाभाविक बढ्ने, पूँजीको कारण आम्दानी सोही अनुपातमा कायम राख्न सञ्चालन र स्रोत परिचालन खर्च बढ्नेबाहेक गुणात्मकरूपमा प्रतिफल केही नपाइने विश्लेषक दाहाल बताउँछन् ।

विदेशी मुलकमा भने सूचीकृत कम्पनीहरूले बोनस शेयर वितरण गर्नुलाई राम्रो मानिँदैन । बोनस शेयर वितरण गर्दा कम्पनीको दायित्व बढ्दै जाने गर्दछ भने कम्पनीको चुक्ता पूँजीसमेत बढेर जान्छ । नेपालमा भने ठिक उल्टो रहेको छ । लगानीकर्ताले बढी बोनस दिने कम्पनीहरू छानेको पाइन्छ । सोही कारण पनि कुनै पनि कम्पनीले आकर्षक लाभांश प्रस्ताव गर्दा शेयर मूल्य बढ्ने गरेको पाइन्छ ।

नेपालमा वर्षैपिच्छे सूचीकृत कम्पनीहरूले बोनस शेयर वितरण गरिरहँदा पनि लाभांश क्षमता बढेको देखिन्छ । यसो त पछिल्लो दुई वर्षको शेयर बजार ट्रेण्डलाई हेर्दा लगानीकर्ताले बोनस शेयरलाई भन्दा पनि सर्टटर्म ट्रेड गरेर प्रतिफल लिएको देखिन्छ । एउटा उदाहरण छ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना शेयरधनीलाई शत प्रतिशत बोनस शेयर वितरण गरेको थियो । त्यतिबेला यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजारभन्दा बढी थियो । त्यति बेला उक्त कम्पनीको शेयर खरीद गरेका दीर्घकालीन लगानीकर्ताको अझै सावा नउठेको बताइन्छ । हाल यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४६२ दशमलव ९ रहेको छ ।

नियामक निकायले बाध्यात्मक पूँजी वृद्धि गरिदिँदा कम्पनीहरूले बोनस शेयर दिनै पर्ने बाध्यता रहेको छ । २०७२ सालमा नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरूको पूँजी रू. २ अर्बबाट ८ अर्ब पुर्‍याउन निर्देशन दिएसँगै सबै बैंकहरूले नगद लाभांश भन्दा बोनस शेयर नै दिएका थिए । त्यसपछि बीमा समितिले २ पटक पूँजी वृद्धि गर्न निर्देशन दिएको छ । 

यसरी बोनस शेयर धेरै वितरण गर्नु भनेको कम्पनीको दायित्व बढ्नु र पूँजी मात्र बढेको देखिन्छ । सोही कारण चुक्तापूँजी बढाउनभन्दा पनि सञ्चिति बढाउन आवश्यक रहेको जानकारहरू बताउँछन् । यसो त कम्पनीहरूको शेयर संख्या थोरै हुँदा उक्त शेयर सीमित व्यक्ति वा समूहको पकडमा हुने हुँदा अझ धेरैमा कम्पनीको पहुँच पुर्‍याउन बोनस शेयर जारी गर्दछन् ।

त्यस्तै शेयर संख्या थोरै हुँदा मूल्य धेरै बढ्ने भएकाले धेरैको पहुँचमा शेयर पुग्न नसक्ने कारण बोनस शेयर जारी गरेर संख्या वृद्धि गराइन्छ । बोनस शेयर जारी हुँदा मूल्य पनि समायोजन हुने हुँदा केही सस्तो जस्तो देखिँदा किन्नेको पहुँचमा पुग्छ । बोनस शेयर जारी गर्न नचाहने कम्पनीले शेयर खण्डीकरण गरेर पनि संख्या बढाएर पहुँच बढाउने गर्दछन् । खण्डीकरण गर्दा पनि मूल्य समायोजन हुन्छ र किन्नेको पहुँचमा पुग्छ । यी कारणले गर्दा सूचीकृत कम्पनीहरूको बोनस शेयर जारी गर्छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

ramram

[Jul 29, 2022 06:13am]

niyamak le bonus share banda garnu parxa.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)