साउन २२, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. २० करोड २६ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ३१ दशमलव ३० प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू. १५ करोड ४३ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको सञ्चालन नाफा ८६ दशमलव ३८ प्रतिशत बढेकाले खुद नाफा बढ्नमा सहयोग पुगेको हो । अघिल्लो वर्ष रू. १३ करोड ८० लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. २५ करोड ७२ लाखभन्दा बढी यो नाफा गरेको हो ।
२५ प्रतिशत बोनस शेयर वितरण गरी रू. ५१ करोड ४० लाख ९९ हजार चुक्तापूँजी पु¥याएको कम्पनीको जगेडा कोष रकम ४७ दशमलव ७६ प्रतिशत बढी रू. २९ करोड ६० लाखभन्दा बढी कायम भएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाबाट साढे ४७ प्रतिशत बढी रू. ३ अर्ब ५० करोडभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ३२ प्रतिशत बढी रू. ७ अर्ब ३५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
अघिल्लो वर्ष २ दशमलव ६३ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ३७ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ३९ दशमलव ४१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव ५८ रहेको छ ।