साउन ३१, काठमाडौं । सी–आस्बा सेवा दिएबापत केही बैंक तथा वित्तीय संस्थाले निश्चित शुल्क लिने गर्दछन् ।
२६ ओटा वाणिज्य बैंकमध्ये तीन ओटा बैंकले सी–आस्बाबाट आईपीओ भर्दा निःशुल्क सेवा दिंदै आएका छन् भने बाँकीले शुल्क लिने गर्दछन् । नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने सी–आस्वा शुल्क निःशुल्क गरेका हुन् ।
तर, साी आस्बा शुल्कका नाममा बैंकले मनलाग्दी रकम लिन थालेपछि मर्का परिरहेको गुनासो लगानीकर्ताको छ । केही वर्ष अघिसम्म प्राथमिक शेयर बजारमा लगानीकर्ताको संख्या न्यून थियो । आईपीओमा थोरै आवेदन पर्ने भएकाले सबैले शेयर पाउँथे । जब शेयरमा आवेदन दिने व्यवस्था डिजिटल भयो, लगानीकर्ताको संख्या पनि बढ्दै गयो । लगानीकर्ताको संख्या बढ्न थालेपछि आईपीओ पाउनु भाग्य कै खेल जस्तै भएको छ।
सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले रू. १०० लिने गर्दछ । यस बैंकले आईपीओमा आवेदन भरेपिच्छे नै रू. १०० शुल्क लिने गर्दछ । यद्यपि यो दर नियमभित्रै पर्छ । बाँकी बैंकले रू १० देखि २५ सम्म यस्तो शुल्क लिने गर्दछन् ।
शेयर बजारमा आकर्षण बढेपनि विभिन्न शुल्कका नाममा मर्कामा परेको लगानीकर्ताहरुले गुनासो गर्दैआएका छन् ।धेरै शुल्कमध्येको एक हो सी - आस्बा शुल्क । सी- आस्बा शुल्क ठूलो भार बनेको लगानीकर्ताहरुको भनाइ छ । कतिपय कम्पनीले आस्बा शुल्क निःशुल्क रहेकोमा पछिल्लो समय भने शुल्क लिन थालेका छन् । सेञ्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक र नेपाल क्रेडिट एण्ड कमर्सले गत आर्थिक वर्षसम्म आस्वा शुल्क निःशुल्क रहेकोमा अहिले लिन थालेका छन् ।
यसरी आईपीओ भरेपिच्छे नै रकम काटिने व्यवस्थालाई परिर्वतन गरेर आईपीओ परेको खाताबाट मात्र रकम काट्न र नपरेको खाताबाट नकाटिने व्यवस्था ल्याउन लगानीकर्ताहरुले माग गर्दै आएका छन् । आवेदन दिएपिच्छे रकम काट्नुभन्दा डिम्याट र मेरो शेयर जसरी वार्षिक शुल्क तोकिनुपर्ने माग लगानीकर्ताहरुको छ ।
सीडीएस क्लियरिङका अनुसार साउन २६ गतेसम्म डिम्याट खाताको संख्या ५३ लाख ३७ हजार ७७० पुगेको छ भने ५५ ओटा बैंक तथा वित्तीय संस्था सी–आस्वा प्रणालीमा आबद्ध छन् ।
शेयर नपर्दा पनि शुल्क काट्ने क्रम नरोकिएपछि पछिल्लो समय आईपीओ भर्नेको संख्या घट्दो क्रममा रहेको पाइएको छ । चर्को सी–आस्बा शुल्क र कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने थोरै संख्याको शेयरका कारण आईपीओ भर्ने आवेदकको संख्या घट्दै गएको हो ।
केहिसमय अघिमात्र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा २७ लाख ९ हजार जनाले आवेदन दिएका थिए । त्यसैगरी पछिल्लो समय आईपीओ निष्कासन गरेको अपर सोलु हाइड्रोपावरको आईपीओमा १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिए ।
पछिल्लो समय शेयर बजार पनि घट्दो ट्रेण्डमा छ । यसले पनि आईपीओ भर्नेको संख्या दिन प्रतिदिन कम हुँदै गएको छ । बजार बढ्दा सबैको चासो बढ्ने हुँदा आईपीओ खुल्ने बित्तिकै भर्नेको संख्या पनि स्वतः बढ्ने गर्दछ । हिजोआज बजार निरन्तर घट्दो ट्रेण्डमा रहेकाले बजारप्रति लगानीकर्ताले पनि त्यति ध्यान दिएको पाइदैन ।
शेयर बजारमा प्रवेश गर्न चाहनेहरूले नै डिम्याट खाता खोलेर आईपीओ भर्न उत्साह देखाउने गरेका छन् । पुरानो डिम्याट होल्डरले भने दोस्रो बजारबाट सस्तोमा शेयर खरीद गर्न पाएपछि आईपीओतिर ध्यान नदिएकाले पनि आवेदकको संख्या घटेको जानकारहरू बताउँछन् ।
विगत चार वर्षदेखि प्राथमिक शेयर बजारमा चासो राख्दै आएका अनुप धामीले सी–आस्बा शुल्कका कारण आईपीओ भर्न छोडेको बताए । ‘मैले आफू, बाबा, ममी, भाइ र बहिनी गरी पाँच जनाको नाममा आईपीओमा आवेदन दिंदै आएको थिएँ, मेरो सेञ्चुरी बैंकमा खाता छ, यसमा पहिले निःशुल्क थियो’, उनले भने, ‘अहिले भने आस्वाशुल्क रू. २५ लिन थालेको छ ।
आवेदन दिंदा पनि आईपीओ पर्न छाड्यो, धेरै कित्ता भएको आईपीओ आए मात्र भर्छु, नत्र अरुमा भर्दिनँ,’ उनले भने, ‘बरु दोस्रो बजारमा कम शेयरमूल्य भएको कम्पनीको शेयर किन्ने गरेको छु ।’
पछिल्लो आस्बाशुल्कबारे सामाजिक सञ्जालमा पनि चौतर्फी आलोचना भइरहेको छ । यसैबीच नियामक निकाय नेपाल धितोपत्र बोर्डले आस्बाशुल्कमा एकरुपता ल्याउने बारे छलफल भइरहेको बताएको छ । यसका लागि गठित आस्वाशुल्क निर्धारणसम्बन्धी अध्ययन समितिले धितोपत्र बोर्डमा प्रतिवेदन पनि बुझाइसकेको छ ।
कुन बैंकले कति लिन्छन् शुल्क ?