ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ स्टक एक्सचेञ्ज : लाइसेन्स प्रक्रिया रोक्न एमाले सांसद्को माग 

२०७९ भदौ, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नेपालको धितोपत्र बजारमा दोस्रो स्टक एक्सचेञ्ज थपिने विषयको चर्चा पछिल्लो समय एकाएक चुलिएको छ । एक दशकदेखि नै चर्चामा रहेको दोस्रो स्टक एक्सचेञ्ज स्थापनालाई मूर्त रूप दिन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमावली संशोधन गरी अर्थ मन्त्रालयमा पेश गरेसँगै यो विषयको चर्चा चुलिएको हो । 

बोर्डले नयाँ स्टक एक्सचेन्ज थप्न धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ संशोधन गरेको हो । नियमावलीमा भएको चुक्तापूँजी, लगानीको व्यवस्था र शेयर अंश ग्रहणको व्यवस्थामा संशोधन गरेर बोर्डले स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरेको बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिएका छन् । 

संशोधित व्यवस्थाअनुसार नयाँ स्टक एक्सचेञ्ज कम्पनीको चुक्तापूँजी ३ अर्ब रुपैयाँ हुनुपर्नेछ । अहिलेसम्म ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । नयाँ स्टक एक्सचेन्जमा अन्य संस्थागत लगानीकर्ताका साथै पब्लिक वा प्राइभेट जोसुकै योग्य संस्थागत लगानीकर्ताले लगानी गर्न सक्ने गरी बोर्डले नियमावली संशोधन गरेको प्रवक्ता केसीको भनाइ छ ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणको विषयमा संसद्‍मा समेत चर्चा चलेको छ । मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा नेकपा एमालेका सांसद् कृष्णप्रसाद दाहालले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणको विषय उठाए । उनले अहिलेको स्टक एक्सचेञ्जलाई नै सुधार गरेर अगाडि जानुपर्ने आवश्यकता औंल्याउँदै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न माग गरे ।  

हाल नेपालमा एकमात्र स्टक एक्सचेन्ज सञ्चालनमा छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा नेपाल सरकारको ५८ दशमलव ६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको १४ दशमलव ६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६ दशमलव १४, प्रभु र लक्ष्मी बैंकको ५-५ तथा अन्यको शून्य दशमलव ६० प्रतिशत शेयर स्वामित्व छ । 

नेप्सेका प्रबन्धक निरन्जन फुँयालसमेत अर्को स्टक एक्सचेन्ज आवश्यक रहेको बताउँछन् । सरकारी स्वामित्वको संस्था भएकाले नेप्सेलाई पर्फर्मेन्स देखाउन गाह्रो भएको फुँयालको भनाइ छ । एउटा प्रविधि बिग्रियो भने नयाँ किन्न खरीद नियमावलीअनुसार ९ महीना लाग्ने उनले बताए । ‘यसर्थ नेप्सेलाई प्रतिस्पर्धी बनाउनका लागि पनि अर्को स्टक एक्सचेञ्ज आवश्यक छ,’ फुँयालले भने । 

नेप्सेका उच्च अधिकारीले नै अर्को स्टक एक्सचेञ्ज आवश्यक रहेको तर्क गरिरहँदा ब्रोकरहरू भने नेप्सेलाई नै सुधारेर लैजानुपर्ने बताउँछन् । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले यति सानो बजारमा अर्को स्टक एक्सचेञ्ज आवश्यक नभएको बताए । अहिलेकै बजार सञ्चालकको सिस्टमलाई बजारले खोजेअनुसार बनाएर लैजानुपर्ने भन्दै उनले दुई ओटा स्टक एक्सचेञ्ज नेपालमा चल्नै नसक्ने दाबी गरे ।

लाइसेन्स वितरण गर्दै जाने र पछि चल्न नसकेको खण्डमा मर्ज गर्ने परिपाटी स्पष्ट हुँदाहुँदै पनि सरकारले यो कदम चालेमा कमजोरी साबित हुने रानाभाटको भनाइ छ । लगानीकर्ताका अगुवा भने अर्को स्टक एक्सचेञ्ज नयाँ प्रविधि, नयाँ औजार र नयाँ सुविधासहित आउनुपर्ने बताउँछन् ।

शेयर लगानीकर्ता संघ (नेपाल) का कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले पुरातन सोच, पुरातन तरीका तोड्न पनि नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको बताए । छिमेकी राष्ट्र भारतमा नेप्सेसँगै शुरू भएका बजारहरू विश्वमै पहिचान कायम गर्न सफल भएको अवस्थामा नेप्सेमा भने एकाधिकार र सिन्डिकेटका कारण समस्या भएको भनाइ फुल्लेलको छ । नेप्से एउटा मात्र स्टक एक्सचेन्ज भएकाले एकाधिकारको स्थिति रहेको भन्दै उनले नेप्सेलाई नै प्रतिस्पर्धी र सुधारमुखी बनाउन अर्को स्टक एक्सचेञ्ज चाहिने प्रतिक्रिया दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

bhairav

[Sep 7, 2022 03:33pm]

यो एमाले भन्ने जन्तु जहिले पनि बिकास बिरोधी जस्तो । पहिले पनि अरुण हाइड्रो प्रोजेक्ट बिरोध गरेर देश बर्बाद पर्‍यो । कुनै ठुला प्रोजेक्ट त हुनु न दिने देशमा । अन्य देश पनि त छन निजी स्टक एक्सचेन्ज । त्यसको समाजबाद के खुलित हुने हो ।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)