काठमाडौं । कुनै पनि देशको अर्थतन्त्रको ऐनाको रूपमा पूँजीबजारलाई लिने गरिन्छ । यसको विकास, विस्तार र प्रवर्द्धनको क्रममा धितोपत्र बजारसम्बन्धी विभिन्न तीनओटा नियमावली एकैपटक पारित भएको छ । गत भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न नियमावलीसहित धितोपत्र बजार सञ्चालन नियमावली २०७४ (पहिलो संशोधन) स्वीकृत गरेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको प्रस्तावसहित नियमावली संशोधन गरी गत असारको अन्तिममा अर्थ मन्त्रालयमा पेश गरेको थियो ।
बोर्डले मन्त्रालयमा पेश गर्दाकै बखतदेखि नयाँ स्टक एक्सचेन्जको पक्ष र विपक्षमा चर्चा परिचर्चा शुरू भएको थियो, जुन अहिले पनि कायमै छ । तर, सरकारले नयाँ स्टक एक्सचेन्जको बाटो खुला गरिसकेको छ । यो अवस्थामा तरंग पैदा हुनु स्वाभाविक पनि हो ।
नियामकले यसमा शंका नगर्न, बरु यसले धितोपत्र बजारको विकासका लागि महत्त्वपूर्ण आधार तय हुने भनेर लगानीकर्ताको विश्वास लिन खोजिरहेको देखिन्छ । उसले सीमित ठूला व्यापारिक घरानालाई नयाँ स्टक सुम्पन खोजेको आरोपको पनि खण्डन गर्दै प्रतिस्पर्धाका आधारमा मात्र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गरिने बताएको छ । नयाँ स्टकमा चुक्ता पूँजी, शेयर अंश र लगानी व्यवस्था संशोधन गरिएको छ । संशोधित व्यवस्थाअनुसार नयाँ स्टक एक्सचेन्ज कम्पनीको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ हुनुपर्नेछ । अहिलेसम्म ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था थियो । नयाँ स्टक एक्सचेन्जमा अन्य संस्थागत लगानीकर्ताका साथै पब्लिक वा प्राइभेट जोसुकै योग्य संस्थागत लगानीकर्ताले लगानी गर्न पाउनेछन् ।
उता धितोपत्र बजारमा दोस्रो स्टक एक्सचेन्ज थपिने विषयमा संसद्मा पनि एकाएक चर्चा चुलियो । विपक्षी दलका एक जना सांसद्ले अहिलेको स्टक एक्सचेन्जलाई नै सुधार गरेर अगाडि जानुपर्ने र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्नुपर्ने माग गरे । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का उच्च अधिकारीले नै अर्को स्टक एक्सचेन्ज आवश्यक रहेको तर्क गरिरहँदा नेप्से कर्मचारी युनियन भने विरोधमा उत्रिएको छ । त्यसो त दलाल व्यवसायी पनि नेप्सेलाई नै सुधारेर लैजानुपर्ने पक्षमा छन् । हाल नेपालमा एकमात्र स्टक एक्सचेन्ज सञ्चालनमा छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सरकारको ५८ दशमलव ६६ प्रतिशत शेयर स्वामित्व छ । बाँकी अन्यको छ ।
स्टक ब्रोकर एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले यति सानो बजारमा अर्को स्टक एक्सचेन्ज आवश्यक नै नभएको र यो ल्याउने हो भने दुईओटै स्टक एक्सचेन्ज चल्न नसक्ने ठोकुवा गरे । उनको भनाइमा अहिलेकै बजार सञ्चालकको सिस्टमलाई बजारले खोजेअनुसार बनाएर लैजानुपर्छ । लगानीकर्ताका अगुवाले चाहिँ नयाँ स्टक एक्सचेन्ज नयाँ प्रविधि, नयाँ औजार र नयाँ सुविधासहित आउन आवश्यक रहेकोमा जोड दिइरहेका छन् ।
भारतमा के छ अवस्था ?
विश्वका प्रायः विकसित देशमा दुई वा दुईभन्दा बढी स्टक एक्सचेन्ज छन् । भारतमा पनि दुईभन्दा धेरै स्टक एक्सचेन्ज छन् । तर, राष्ट्रिय स्तरमा नाम चलेका दुईओटा मात्र छन्– बीएसई र एनएसई । भारतमा सबैभन्दा ठूलो बम्बई स्टक एक्सचेन्ज (बीएसई) शुरू भएको धेरै वर्षपछि नेशनल स्टक एक्सचेन्ज (एनएसई) को स्थापना भएको थियो । त्यहाँ नेप्सेसँगै शुरू भएका स्टक एक्सचेन्जहरू विश्वमै पहिचान कायम गर्न सफल भइसकेका छन् । एनएसईले शुरुआती दिनदेखि नै आधुनिक प्रविधि र प्रणालीमा आधारित सेवा दिएको थियो, जसले गर्दा शेयर खरीदविक्री सजिलो बन्दै गयो । त्यसपछि बीएसईले पनि आधुनिक प्रविधि प्रयोग गर्न थाल्यो । अहिले यो स्टक एक्सचेन्ज विश्वकै छैटौं स्थानमा छ । पछि आएको एनएसईसँगको प्रतिस्पर्धाको कारण यो अगाडि बढेको हो । यी दुई स्टक एक्सचेन्जबीच कम्पनी सूचीकरणदेखि लिएर नयाँ प्रविधि भित्र्याउनेसम्मका विषयमा प्रतिस्पर्धा हुन्छ । बहुराष्ट्रिय तथा ठूला कम्पनीको शेयर यी दुवै एक्सचेन्जमा सूचीकृत छन् । भारतको धितोपत्र नियामक सेबीले ब्रोकरलाई दुवै एक्सचेन्जमा कारोबार गर्न अनुमति दिएको छ, जसले गर्दा लगानीकर्तालाई शेयर किनबेच गर्न सजिलो छ ।
तर, नेपालमा यो र योसँग सम्बद्ध विषयवस्तुमा के कस्तो व्यवस्था गरिन्छ भन्नेमा नियामक धितोपत्र बोर्डले गृहकार्य त के सोच्नसमेत भ्याइनसकेको अवस्था छ ।
नेपालमा सरकार मातहत रहेको नेप्से एउटामात्र स्टक एक्सचेन्ज भएकाले एकाधिकारको स्थिति हुनु स्वाभाविक हो । यो अवस्थामा नेप्सेलाई नै प्रतिस्पर्धी, सुधारमुखी, समयानुकूल बनाउन अर्को स्टक एक्सचेन्जको आवश्यकता त छँदैछ तर के निश्चित हो भने धेरै स्टक एक्सचेन्ज खोल्दैमा पूँजीबजारमा प्रतिस्पर्धा हुन्छ भन्ने चाहिँ छैन । प्रतिस्पर्धाको नाममा एकाधिकार कायम हुने जोखिम पनि उत्तिकै छ । त्यसमा पनि नियामक धितोपत्र बोर्डसँग दुईओटा स्टक एक्सचेन्जको नियमन गर्ने क्षमता छ जस्तो पनि देखिँदैन ।
सरकारी स्वामित्वका ४४ ओटा सार्वजनिक संस्थानमध्ये नेप्से उत्कृष्टमा पर्छ । यसले सरकारलाई वार्षिक ५० देखि १६७ प्रतिशतसम्म नगद लाभांश दिँदै आएको छ । तर, यो भन्दैमा राज्यको नागरिकप्रति अरू दायित्व पनि छन् । त्यही दायित्वको आधारमा नयाँ स्टक आएको हो । यसमा कुनै शंका रहेन, गर्नु पनि हुँदैन ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २३४ छ । राष्ट्र बैंक, बीमा समितिको निर्देशनअनुसार बैंक, लघुवित्त कम्पनी, बीमा कम्पनीहरू मर्जर र प्राप्तिका कारण यो संख्या घट्दो क्रममा छ । जलविद्युत् कम्पनीहरू पनि प्राप्ति तथा मर्जरमा जान थालेका छन् । यो अवस्थामा लगभग २०० ओटा सूचीकृत कम्पनी लिएर दुईओटा स्टक एक्सचेन्ज चल्न सक्ला त ? यो प्रश्न आफैंमा अहम् छ । जतिओटा एक्सचेन्ज आए पनि नियमन त नेपाल धितोपत्र बोर्डले नै गर्ने हो । पब्लिक कम्पनीहरू जसले अर्बौंलगानी गरेर स्टक एक्सचेन्ज ल्याउँछन् उनीहरूले लगानीकर्ताको हितविपरीत काम गरे भने लाइसेन्स नै गुम्ने अवस्था पनि आउन सक्छ । यस्तो काम त उनीहरूले नगर्लान् नै, त्यसमा पनि झन् धितोपत्रसम्बन्धी ऐन २०६३ मा भएको संशोधनले त बदमासी गर्नेबारे पूँजीबजार सम्बद्ध कुनै पनि पक्षले सोच्न पनि नसक्ने अवस्था ल्याएको छ ।
धितोपत्रसम्बन्धी उपकरणको विविधीकरण गर्ने, डेरिभेटिभ साथै कमोडिटिज मार्केटको विकास गर्ने, एसएमई कम्पनीको समेत सूचीकरण गर्नुपर्ने, वैकल्पिक लगानी कोषहरू जस्तै प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल र हेज फन्डको विकास गर्ने तथा गैरआवासीय नेपाली र विदेशी संस्थागत लगानीकर्ता भित्र्याउनुपर्ने अबको बाटोलाई नियामक निकाय, बजार सञ्चालक, दलाल व्यवसायी, निजीक्षेत्र तथा सरोकारवालाले ध्यान दिन वाञ्छनीय हुन्छ । हुन त एकताका नेप्सेको पुनः संरचना गर्दै यसको आधुनिकीकरण गर्नुपर्ने माग पनि उठेको थियो । तर, एकाएक नयाँ स्टक एक्सचेन्जका लागि नियमावली पारित भएर आउँदा संशय बढ्नु स्वाभाविक पनि हो । यसलाई चिर्दै अगाडि बढ्नु नै सबैको हितमा हुन्छ । किनभने यो स्वीकृत भएर आइसकेको छ । नेपालको पूँजीबजारको सुधार र विस्तारका लागि अब सरकारी र निजी स्टक एक्सचेन्जबीचमा प्रतिस्पर्धा हुनैपर्छ । तब मात्रै लगानीकर्ताले अरू देशको स्टक एक्सचेन्जमा जस्तै नयाँ उपकरण, गुणस्तरीय सेवासुविधा पाउनेछन् । पूँजीबजार नै प्रतिस्पर्धी भएर जानेछ ।
कुनै पनि काम आफैंमा नराम्रो हुँदैन । नयाँ स्टक एक्सेचन्जको प्रवेशपछि पूँजीसँगै प्रविधि भित्रिनेछ । नयाँ दलाल कम्पनी थपिनेछन् । लगानीकर्ताको संख्या वृद्धिसँगै आक्रामक बजार विस्तार हुन मद्दत पुग्छ । यी र यस्ता सम्भावना हुँदाहुँदै बजार सानो छ, दुईओटा स्टक एक्सचेन्ज के चल्ला र भनेर बस्ने बेला यो होइन । सबै पक्षले सम्भावनाको बाटो पहिल्याउँदै अगाडि बढ्ने हो । नयाँ स्टक एक्सेचन्ज आउँदैमा कसैको बिजोग पनि हुँदैन, नेप्से पनि टाट पल्टिँदैन ।