ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुराना ब्रोकर कम्पनीलाई पूँजी बढाउने समयसीमा २०८२ सम्म

२०७९ भदौ, २९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । अब खुल्ने ब्रोकर कम्पनीका लागि लागू हुने चुक्तापूँजी साबिकका कम्पनीले भने २०८२ साल असार मसान्तसम्म कायम गरे हुने व्यवस्था भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंगलवार धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी-चौथो संशोधन) नियमावली, २०७९ सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो । यसै साताभित्र नयाँ ब्रोकर लाइसेन्स खुला गर्ने तयारी गरेको बोर्डले नयाँ ब्रोकर कम्पनीका लागि तीन तहको पूँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

बोर्डले सीमित दायराको पहिलो तहको ब्रोकरका लागि २० करोड, शेयर किनबेच गर्नेसँगै डीपीका रूपमा काम गर्ने लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी ६० करोड र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी हुने गरी नियमावली संशोधन गरेको छ । आफ्नो सुविधाअनुसारको तहमा रहेर सेवा प्रदान गर्न पुराना ब्रोकर कम्पनीले २०८२ साल असार मसान्तभित्र चुक्तापूँजी कायम गर्नुपर्ने नियमावलीमै उल्लेख गरिएको छ । यसअघि ब्रोकरको चुक्तापूँजी २ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था थियो । मार्जिन कारोबार सुविधा प्रदान गर्ने ब्रोकरको हकमा खुद सम्पत्ति ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था थियो । साबिकका ब्रोकर कम्पनीले पहिलो तहको सेवा प्रदान गर्नकै लागि पनि ९ गुणाले पूँजी वृद्धि गर्नुपर्ने अवस्था छ । 

ब्रोकर कम्पनीहरू भने तोकिएको समयभित्र चुक्तापूँजी पुर्‍याउन कुनै समस्या नभएको बताउँछन् । नेपालको सानो बजारमा अहिले भइरहेकै ब्रोकरको व्यवसाय सन्तोषजनक नभएको अवस्थामा थप ब्रोकर लाइसेन्सको विषयमा भने सोचेर अघि बढ्नुपर्ने सुझाव ब्रोकरहरूले दिएका छन् । आगामी दिनमा ब्रोकरहरूले पूँजीको आधारमा सेवा दिने व्यवस्थाले प्रतिस्पर्धाको स्थिति सृजना भई सेवाको गुणस्तर उकासिने उनीहरूको भनाइ छ । बोर्डले ब्रोकर संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने माग ब्रोकरहरूको छ ।

तोकेबमोजिमको पूँजी कायम गर्न नसक्ने अवस्था आए तोकिएको अवधि समाप्त हुनुभन्दा कम्तीमा ६ महीनाअगावै मर्जर वा प्राप्तिका लागि बोर्डसमक्ष निवेदन दिन सकिने व्यवस्था संशोधित नियमावलीमा गरिएको छ । बोर्डले यो नियमावली प्रारम्भ भएपछि ३० दिनको समय दिई इच्छुक संगठित संस्था वा कम्पनीबाट धितोपत्र दलाल र धितोपत्र व्यापारीका लागि निवेदन माग गर्न सक्ने व्यवस्था नियमावलीमा छ । निवेदन दिने अवधि समाप्त भएको मितिले ३५ दिनभित्र अनुमतिपत्र जारी हुन सक्ने वा नसक्ने सम्बन्धमा निर्णय लिनुपर्नेसमेत नियमावलीमा उल्लेख छ । 

नयाँ व्यवस्थाअनुसार हरेक ३ वर्षमा नयाँ ब्रोकर लाइसेन्स वितरण हुनेछ । सीमित दायराको धितोपत्र दलाल लाइसेन्सका लागि निवेदन दस्तुर ५० हजार, अनुमति दस्तुर २५ लाख र वार्षिक शुल्क १ लाख ५० हजार रुपैयाँ तोकिएको छ । पूर्ण दायरासहितको धितोपत्र दलालको हकमा निवेदन दस्तुर १ लाख रुपैयाँ तिर्नुपर्छ । यसलाई अनुमतिपत्र दस्तुर ५० लाख र वार्षिक शुल्क ३ लाख रुपैयाँ तोकिएको छ ।

धितोपत्र व्यापारीको हकमा निवेदन दस्तुर २ लाख, अनुमति दस्तुर १ करोड र वार्षिक शुल्क ५ लाख रुपैयाँ तोकिएको छ । 

नियमावलीका अस्पष्टता हटाउने प्रयासमा बोर्ड 

यसै साताभित्र नयाँ ब्रोकर लाइसेन्सका लागि निवेदन आह्वान गर्ने तयारी गरेको बोर्ड संशोधित नियमावलीका अस्पष्ट बुँदा स्पष्ट पार्ने प्रयासमा पनि जुटेको छ । बोर्ड प्रवक्ता रूपेश केसीले संशोधित धितोपत्र व्यवसायी नियमावलीमा लाइसेन्सका लागि आवेदन खुला गर्ने अवधिमा उल्लिखित दुई बुँदाले बोर्डसँगै आम नागरिकमा अन्योल उत्पन्न भएको बताए । 

नियमावली प्रारम्भ भएपछि ३० दिनको समय दिई धितोपत्र दलाल र धितोपत्र व्यापारीका लागि निवेदन माग गर्न सकिने पहिलो बुँदा र नियमावली प्रारम्भ भएको ३ वर्षपछि धितोपत्र बजारमा उपलब्ध भौतिक सुविधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्थासमेत अध्ययन गरी धितोपत्र दलाल र धितोपत्र व्यापारीका लागि निवेदन माग गर्न सकिने दोस्रो बुँदाका कारण अन्योल सृजना भएकाले यसलाई स्पष्ट पार्न बोर्डले काम शुरू गरिसकेको प्रवक्ता केसीको भनाइ छ । एक/दुई दिनभित्रै संशोधित नियमावलीमा उल्लिखित ती बुँदाबाट उत्पन्न अन्योल हट्ने गरी बोर्डले सूचना जारी गर्ने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)