ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दिनदिनै किन बढीरहेको छ डलरको भाउ ? एक वर्षमै ११ रुपैयाँले बढेर ऐतिहासिक उचाईंमा

महँगी नियन्त्रण झन झन कठिन हुँदै, निम्न वर्गको चुल्हो निभ्ने खतरा

२०७९ असोज, ७  
बजार समाचार विविध अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । नेपाली बजारमा शुक्रवार अमेरिकी डलरको भाउ यस अघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि जारी गरेको विनिमय दर अनुसार एक डलरको खरिद मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको छ । अर्थात् नेपालीहरुले एक डलर किन्न अघिल्लो दिनको तुलनामा  १ रुपैयाँ ४१ पैसा बढी खर्च गर्नु पर्नेछ । डलरको भाउमा यो स्तरमा उक्लिएको इतिहासमै पहिलो पटक हो ।

यस अघि साउन ५ मा डलर–रुपैयाँ विनिमय दर १२८ रुपैयाँ २९ पैसाको कीर्तिमानी उचाईमा थियो । त्यसयता भने डलर नेरु विनिमय दर क्रमिक रुपमा घट्न थालेको थियो । एक वर्ष अघिको तुलनामा डलरको भाउ नेपाली बजारमा अहिले ११ रुपैयाँ १८ पैसा महँगो भइसकेको छ । यो वर्षको शुरु हुँदाखेरिको तुलनामा भने डलर झन्डै साढे ७ रुपैयाँ महँगिएको छ । 

अहिले डलरको तुलनामा नेपाली रुपैयाँको भाउ कीर्तिमानी स्तरमा आउनुको कारण नेपालको आन्तरिक अवस्थाले गर्दा नभएर अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको आक्रामक ब्याजदर वृद्धि र विश्व बजारमा डलर सूचक बलियो हुँदाको परिणति भएको बताउँछन् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर  दीपेन्द्र बहादुर क्षेत्री । दशैंका मुखमा यसरी डलर महँगिएसँगै आयातित महँगी बढ्ने र नेपालीहरुको भात भान्सा नै प्रभावित हुने  पनि उनले बताएका छन् । 

न्यून आय भएका नेपालीहरू महँगिका कारण दैनिक जीवन यापन गर्नै नसक्ने अवस्थामा पुगिसकेको बेला डलरको ऐतिहासिक मूल्य वृद्धिले निम्न मध्यम र मध्यम वर्गीय परिवारलाई पनि दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्ने अर्थविदहरू बताउँछन् ।

नेपालको अर्थतन्त्र सबै आयातमा निर्भर रहेका कारण डलर तिरेर आयात गरिने हरेक वस्तुको मूल्य बढ्ने छ । विलासिताका वस्तु मात्रै आयात गर्नु परेको भए यसको असर उच्च वर्गमा मात्रै पर्न सक्थ्यो । तर नेपालमा त खाद्यान्न देखि पेट्रोलियमसम्म, नुनदेखि सुनसम्म सबै आयात गरिने भएकाले यसले निम्न वर्गको भान्सा निभ्न सक्ने उनीहरूको चिन्ता छ ।

किन बढ्यो डलरको भाउ ? 
अमेरिकी डलरको तुलनामा भारतीय रुपयाको तीव्र अवमूल्यनसँगै शुक्रवार नेपाली बजारमा पनि डलर महँगो भएको हो । भारतीय रुपयासँग नेपाली रुपयाको स्थिर आबद्धता रहेको छ । बुधवार सकिएको नीतिगत बैठकमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले प्रमुख ब्याजदर शून्य दशमलव ७५ प्रतिशत अंकले बढाएको थियो । फेड अध्यक्ष जेरोम पावेलले महँगी नियन्त्रण गर्न यो भन्दा आक्रामक रुपमा ब्याजदर बढाउन सकिने अभिव्यक्ति दिएपछि बिहीवार भारतीय रुपयाको भाउ डलरको तुलनामा झन्डै एक प्रतिशतले घटेर प्रतिडलर ८० रुपया ८६ पैसामा झरेको थियो । 

उक्त दिन मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राहरुको तुलनामा डलरको भाउ जनाउने डलर सूचक पनि १११ दशमलव ८० अंकमा उक्लिएको थियो । यो डलर सूचकले छोएको २० वर्षयताकै ताजा उच्च स्तर हो । सोही दिन दुई वर्षे अमेरिकी ट्रेजरीको प्रतिफल पनि बढेर ४ प्रतिशत माथि उक्लिएको थियो । यस अघि डलरको तुलनामा रुपयाको भाउ अगष्टको अन्त्यतिर कीर्तिमानी न्यून स्तरमा झरेको थियो । त्यतिबेला एक डलर बराबर ८० रुपया १२ पैसा थियो । 

अस्थायी रुपमा भारतीय रुपयाको भाउ डलरको तुलनामा ८१ रुपया वा ८१ रुपया ५० पैसासम्म झर्न सक्ने विश्लेषकहरुले बताएका छन् । तर विनिमय दर मार्च ३१ सम्ममा ८० भन्दा तल नजाने बैंक अफ अमेरिकाका प्रवन्ध निर्देशक तथा कन्ट्री ट्रेजरर जयश मेहताको भनाइ छ । रुपयाको भाउमा तीव्र कमी रोक्न भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले डलर बेचिरहेको छ । 

डलरको तुलनामा पछिल्लो समय एशियाका अधिकांश मुद्रा कमजोर बनेका छन् । रुस र युक्रेनबीचको भुराजनीतिक तनाव चर्किरहेको छ । डलर सूचक बढेर ११३ माथिसम्म उक्लिने अनुमान बढिरहेको छ । यस्तो भयो भने डलरको तुलनामा भारु थप कमजोर बनेर विनिमय दर ८२ रुपया माथि जान सक्ने विश्लेषण समेत बढेको छ । 

डलर थप महँगो हुने सम्भावना बढ्दै 
शुक्रवारको कारोबारमा पनि अमेरिकी डलरको तुलनामा भारतीय रुपया कमजोर बनेको छ । उक्त दिनको कारोबारमा एक पटक विनिमय दर ८१ रुपया २३ पैसासम्म कायम भएको थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समय अनुसार साँझ ३ः१५ बजेतिर भारु डलर विनिमय दर १२ पैसा कमजोर हुँदै प्रतिडलर ८० रुपया ९५ पैसा आसपास छ ।  यसको अर्थ शनिवारका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक विनिमय दरमा डलरको खरिद दर थप महँगो हुनेछ ।

शुक्रवार डलरको तुलनामा यूरो अष्ट्रेलियाली डलर र न्यूजिल्यान्डको डलर समेत ताजा न्यून स्तर नजिक ओर्लिएका थिए । आरबीआईले रुपया कमजोर हुन नदिन बजारमा गर्न सक्ने सम्भावित हस्तक्षेपले रुपयाको तीव्र अवमूल्यनलाई रोक्ने अनुमान बजारमा छ ।

भारतीय पूँजी बजारमा लामो  समयपछि विदेशी संस्थागत लगानीकर्ताहरु खूद क्रेता बनेका छन् । यसले पनि रुपयाको भाउलाई टेवा दिने आशा छ । तर फेडको आक्रामक ब्याजदर वृद्धिसँगै विश्व बजारमा डलर बलियो बन्ने क्रम जारी रहँदा आगामी दिनमा यसको असर भारु डलर विनिमय दरमा देखिने र यसको असर पोखिएर नेरु कमजोर भएर डलर थप महँगो हुने पनि क्षेत्रीले बताएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)