ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्व बजारमा घटिरहँदा नेपालमा किन घटेन तेलको भाउ ? 

२०७९ असोज, १४  
बजार समाचार अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । जुनको शुरुको तुलनामा अहिले विश्व बजारमा कच्चा तेलको भाउ झन्डै ३० प्रतिशतले घटिसकेको छ । जुन ८ मा प्रतिब्यारेल  १२४ डलरमाथि रहेको कच्चा तेलको भाउ पछिल्लो समय प्रतिब्यारेल ८९ डलर मुनि छ । विश्व बजारमा तेलको भाउ घटिरहेको भएपनि नेपाली उपभोक्ताहरुलाई पेट्रोलियम पदार्थमा खासै राहत छैन । 

जेठ १९ मा नेपाली बजारमा प्रतिलिटर रुपैयाँ १७० रहेको पेट्रोलको भाउ बढेर असार ५ मा १९९ रुपैयाँ कीर्तिमानी उच्च स्तरसम्म उक्लियो । त्यसयता भाउ १७९ रुपैयाँसम्म झरेर पुनः १८१ रुपैयाँमा स्थिर छ । भारतमा पेट्रोलियम पदार्थको भाउ दिनँहु संशोधन गरिन्छ । भारतीय आयल निगम (आईओसी) ले नेपाललाई भने हरेक १५/ १५ दिनमा संशोधित मूल्य पठाउने गरेको छ । 

विश्व भर आकाशिएको महँगी नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ लगायत ७ दर्जनभन्दा धेरै केन्द्रीय बैंकहरुले धमाधम ब्याजदर बढाइरहँदा मन्दीको भय चुलिएको छ, डलर बलियो बनेको छ भने अन्य मुद्राहरुको भाउ घटेका छन् । डलरको तुलनामा भारतीय रुपयाको भाउ तीव्र दरमा कमजोर बन्दै गर्दा विश्व बजारमा कच्चा तेलको भाउमा आएको कमीको पूरा लाभ मिल्न सकेको छैन भन्छन् भारतीय विश्लेषकहरु ।

नेपालमा पनि अवस्था ठ्याक्कै यस्तै छ त ?
जेठको मध्यतिर विश्व बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १२४ डलर रहँदा डलर नेरु विनिमय दर १२४ रुपैयाँ ५० पैसा आसपास थियो । पछिल्लो समय विश्व बजारमा कच्चा तेलको भाउ ८८ डलर रहेको छ भने डलर नेरु विनिमय दर झन्डै १३० रुपैयाँ छ ।

सोझो हिसाबले भन्नु पर्दा जेठ १९ मा नेपाल आयल निगमले भाउ बढाउँदा विश्व बजारमा एक ब्यारेल कच्चा तेलको १५ हजार ४५० रुपैयाँ पथ्र्यो । अहिले एक ब्यारेल कच्चा तेलको मूल्य ११ हजार ४५० रुपैयाँ भन्दा कम नै हुन आउँछ । तर पनि मूल्यमा राहत नहुनु चाँहिको कारण के होला ? 

रुपैयाँको तुलनामा डलर आकाशिएकोले विश्व बजारमा कच्चा तेलको भाउ घटेको भएपनि नेपालमा पेट्रोलियम पदार्थको भाउ घट्न नसकेको नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक सुरेन्द्र पौडेल भन्छन् । कच्चा तेल डलरमा किनबेच हुन्छ । भाउ घटेको भएपनि एक डलर किन्न खर्च गर्नुपर्ने रुपया÷रुपैयाँ बढ्ने भएकोले मूल्यमा आएको कमीको प्रभाव उल्टिन्छ भन्छन्, पौडेल । कच्चा तेलको भाउ तीन डलर बढ्नु र नेपालमा डलरको भाउ १ रुपैयाँ बढ्नुको प्रभाव एउटै हुन्छन् भन्ने उनको भनाइ छ । 

भन्सारमा लाग्ने कर मूल्यमा आधारित नभएर लिटरमा आधारित भएकोले पनि मूल्य घट्दा पनि कर नघटेको उनी बताउँछन् । अटो प्राइसिङमा जान नसक्दा विश्व बजारमा मूल्यमा हुने उतारचढावको प्रभाव नदेखिएको समेत उनी बताउँछन् । युक्रेनमाथि रुसको आक्रमण र अन्य आर्थिक अनिश्यका कारण तेलको भाउ अस्थीर छ ।

विश्व बजारमा पछिल्लो समय तेलको भाउमा तीव्र उतारचढाव आइरहेकोले पनि मूल्य संशोधनमा समस्या आइरहेको छ । तेल अमेरिकी डलरमा किनबेच हुन्छ । डलर महँगो हुनुको अर्थ उही परिमाणको तेल खरीदका लागि बढी रुपैयाँ खर्च गर्नु पर्दछ । 

शुक्रवार विश्व बजारमा कच्चा तेलको भाउ रातोमा आएको छ । कच्चा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल शून्य दशमलव ७६ प्रतिशतले घटेर ८८ डलर शून्य ८ सेन्टमा किनबेच भइरहेको छ भने अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट प्रतिब्यारेल शून्य दशमलव ६१ प्रतिशतको कमीसहित ८१ डलर १० सेन्टमा आएको थियो । 

हालैका दिनमा विश्व बजारमा कच्चा तेलको भाउमा आइरहेको कमीप्रति पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूहबाहिरका अन्य प्रमुख तेल उत्पादकहरु (ओपेकप्लस)ले कस्तो खालको प्रतिक्रिया देखाउँछन् सोही अनुरुप तेल बजारले टेवा पाउन/नपाउन सक्छ । \

तर अहिलेका लागि फेडको ब्याजदर वृद्धिलगायत कारणहरुले गर्दा डलर मजबूत हुने क्रम जारी रहँदा भारत र नेपालमा डलर महँगो बन्ने रुपया÷रुपैयाँमा तेल महँगो हुने देखिएको छ । भारतीय तेल प्रशोधनकर्ताहरुले भारतीय उपभोक्ताहरुलाई नै राहत दिने गरी मूल्य कटौती नगर्ने भन्ने खालको समाचार भारतीय सञ्चार माध्यममा छापिएको समयमा नेपाली उपभोक्ताहरुले राहत पाउने आशा गर्नु आकाशको फल आँखा तरी मर जस्तै हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)