ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजी संरचना मिलाउन ६ ओटा लघुवित्त एफपीओ निष्कासन गर्ने तयारीमा

२०७९ असोज, १६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । पूँजी संरचना मिलाउनका लागि ६ ओटा छुट्टाछुट्टै लघुवित्त कम्पनीहरु एफपीओ निष्कासनको तयारीमा रहेका छन् ।

किसान लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था र नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारी गरेका हुन् । यी ६ ओटै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएर  निष्कासनको तयारी गरेका हुन् । 

सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीले मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउन एफपीओ निष्कासन गर्नुपर्ने प्रावधान भएकाले यी कम्पनीहरूले एफपीओ निष्कासन गर्न लागेका हुन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट निष्कासनको अनुमति पाएपछि मात्र एफपीओ निष्कासन हुनेछ । 
किसान लघुवित्त वित्तीय संस्था :
 किसान लघुवित्त प्रतिकित्ता रु. १२५ अंकित दरमा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले २०७८ असार २९ गते निवेदन दिइसकेको छ । 
एनआरएन लघुवित्त वित्तीय संस्थाले दिव्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ ।

यस कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रु. १२ करोड ३९ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने ८ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले रु. १३ करोड ४८ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव ६० प्रतिशत रहेकोमा गत आवमा बढेर ४ दशमलव ८८ प्रतिशत पुगेको छ । 
नयाँ सारथि लघुवित्त वित्तीय संस्था :
नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा  ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्नका लागि २०७८ भदौ ९ गते बोर्डमा निवेदन दिएको छ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथि लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिएसँगै बनेको नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । यस कम्पनीले गत आवको चौथो त्रैमाससम्म रु. ७ करोड ९० लाख नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले रु. ७ करोड २० लाख नाफा कमाएको थियो । 
मिर्मिरे लघुवित्त वित्तीय संस्था :
कम्पनी ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । प्रतिकित्ता रु. १७७ दशमलव ८ मा उक्त एफपीओ निष्कासन गर्नका लागि सेबोनमा २०७८ कात्तिक  २३ गते निवेदन दिएको थियो । यस कम्पनीले एफपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराइसकेको छ । इक्रा नेपालले कम्पनीले निष्कासन गर्न लागेको एफपीओलाई इक्रा एनपी इस्युआर बीबी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ । यस कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । यस कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रु. २० करोड ८१ लाख नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्ममा रू. १९ करोड २७ लाख नाफा कमाएको थियो । 
समता घरेलु लघुवित्त वित्तीय संस्था :
कम्पनी प्रतिकित्ता रू. १५९ दशमलव शून्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले उक्त कित्ता एफपीओ निष्कासन गर्नका लागि २०७८ चैत २९ गते सेबोनमा निवेदन दिएको छ । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर भई समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार शुरू भइसकेको छ ।  

यस कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा २६ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आवमा रु. १० करोड ८३ लाख नाफा कमाएकोमा गत आवमा रु. ७ करोड ९७ लाखमा सीमित भएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा बढेसँगै नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ८३ प्रतिशत रहेकोमा गत आवमा बढेर ३ दशमलव ७६ प्रतिशत पुगेको हो । 
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था :
यस कम्पनीले प्रतिकित्ता रु. १५९ मा १ लाख ७८ हजार कित्ता ४५१ कित्ता एफपीओ निष्कासन गर्दै छ । कम्पनीले उक्त एफपीओ निष्कासन गर्नका लागि २०७८ चैत २५ गते सेबोनमा निवेदन दिइसकेको छ ।

उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएपछि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको छ । यस कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रु. ३ करोड ८८ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ५४ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवमा रु. ८ करोड ५७ लाख नाफा कमाएको थियो । 

युनिक नेपाल लघुवित्त वित्तीय संस्था  :
कम्पनीले प्रतिकित्ता रू. १०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले उक्त एफपीओ निष्कासन गर्नका लागि २०७८ चैत १७ गते सेबोनमा निवेदन दिइसकेको छ । यस युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्जरपश्चात् युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ ।

यस कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रु. ७ करोड ६७ लाख नाफा कमाएकोमा गत आवमा बढेर रु. ९ करोड १ लाख पुगेको हो ।  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)