ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

 दशैं विशेष : यसरी गरौं स्वस्थकर मासुको उपभोग

२०७९ असोज, १८  
समाचार विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

काठमाडौं । नेपालीहरूको घरआँगनमा यतिबेला दशैं शुरू भइसकेको छ । पर्वमा माछामासुको धेरै खपत हुने गरेको छ । दशैंमा हजारौं कुखुरा, हाँस, राँगा र बोकाको बलि दिने वा घरघरमा काटेर खानेरखुवाउने चलन छ । दशैंमा बलि नदिने मांसाहारी मानिसले पनि पसलबाट मासु ल्याएर खाने गरेका छन् । मध्यम र उपल्लो वर्गका मानिस च्याङ्ग्राको मासु नखाएसम्म दशैंमा मनोरञ्जन लिएको मान्दैनन् । 

दशैंमा दैनिकजसो मासुका परिकार पाक्ने गर्छन् । तर मासु कति, कसरी र कस्तो खाने भन्ने सन्दर्भमा हामी खासै सचेत छैनौं । प्रायस्ले मासु खाए पुग्यो भन्ने मान्यता राख्ने गरेको पाइन्छ । गलत तरीकाले भण्डारण गरिएका र बासी मासु खाँदा ज्यानै जान सक्ने स्वाथ्यकर्मीहरू बताउँछन् । मासुमा १४ प्रतिशतदेखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ भने यसमा जिंक, भिटामिन बी, पोटासियमजस्ता तत्त्वहरू पनि पाइन्छन् । शरीरका लागि यी अति आवश्यक तत्त्वहरू हुन् । नेपालीमा मासु खाने संस्कृति विकसित भए पनि खानपानको तरीका भने सन्तुलित नभएको पोषणविद् बताउँछन् । 

सन्तुलित भोजनका लागि मासु अनिवार्य जस्तै मानिन्छ । तर, सही प्रयोग नगरेमा खण्डमा यसबाट प्राप्त हुने तत्त्वहरू पाउन सकिँदैन भने यसले स्वास्थ्यमा ठूलै असर समेत गर्न सक्छ । विभिन्न अध्ययन–अनुसन्धानले दैनिक धेरै मात्रामा मासु खानाले स्वास्थ्यमा प्रतिकूल असर गर्ने देखाएका छन् । चाडवाडमा मासु खानै नहुने भन्ने होइन, तर कस्तो मासु खाने, कति र कसरी खाने, भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । रातोभन्दा सेतो मासु खान उपयुक्त हुने चिकित्सकहरू बताउँछन् । रातो मासु खानै हुँदैन भन्ने होइन । तर, मात्रा मिलाएर खान जान्नुपर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ । स्वस्थ मासुका लागि सबैभन्दा पहिले मासु प्रयोग गर्ने पशुपन्छी नै स्वस्थ हुन जरुरी हुन्छ ।

स्वस्थ खसी बोका कसरी छनोट गर्ने ?

दशैंका लागि खसीरबोका छनोट गर्ने कुरामा ध्यान दिन सके मासुबाट सर्ने रोगबाट बच्न तथा स्वस्थ मासु प्राप्त गर्न सकिन्छ । दशैंका लागि बजारमा ल्याइने खसी, बोका, राँगा, च्याङ्ग्रामा कृषि विभागले स्वास्थ्य परीक्षण गरी विभिन्न रङले मार्किङ गरेका पशुमात्रै खरीद गर्नुपर्ने पशु स्वास्थ्य चिकित्सक बताउँछन् । हेर्दै अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएको, फनफनी घुमिरहने खसीबोका किन्नै नहुने उनीहरूको सुझाव छ । केही रकम जोगाउने नाममा रोगी पशु किन्नु भनेको रोग नै किन्नु सरह हुने वरिष्ठ पशु चिकित्सक केशव भट्ट बताउँछन् । दशैंमा काठमाडौं भित्रिने खसीबोकालाई सरकारी स्तरबाटै परीक्षण गरेर रातो र हरियो रङ दलिदिने गरिएको छ । सिङमा हरियो रङ पोतिएका खसीबोका वा च्याङ्ग्रा स्वस्थ हुन् भने रातो रङ दलिएका अस्वस्थ हुन् भन्ने संकेत हो ।

स्वस्थ मासु कसरी थाहा पाउने ?

मासुु छिट्टै सड्ने खाद्यवस्तु हो । त्यसैले हलुका गुलाबी, हरियो वा प्याजी रङको भए त्यो खान अयोग्य भइसकेको अर्थात् सड्न शुरू गरेको भन्ने बुझ्न सकिन्छ । मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, दुर्गन्ध आउनु हुँदैन । सफा  फ्रिजमा अलग–अलग गरी छोपेर राखेको मासु मात्रै खरीद गर्नुपर्दछ । मासु काट्दा र समाउँदा तन्के जस्तो लाग्छ भने त्यस्तो मासु खरीद गर्नु हुँदैन । साथै मासु पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काट्नेको तरीका, तराजु सफा छ कि छैन भन्नेमा पनि ध्यान दिनुपर्छ ।

कस्तो मासु खाने ?

फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको, बासी तथा खुला स्थानमा राखेको, काँचो मासुको परिकार खानु राम्रो मानिँदैन । मासु राम्ररी पखालिएको हुनुपर्छ । पखालिएको मासु पकाउँदा राम्ररी पाकेको हुनुपर्छ । मासुमा मानिसले धेरै थरीका मसला र धेरै चिल्लो पदार्थ राखेर पकाउने गर्छन् । तर मसला र चिल्लो दुवै कम भएको मासु खानु स्वास्थ्यका लागि लाभदायी हुने चिकित्सकहरू बताउँछन् । सकेसम्म बोसो र छालारहित मासु खानुपर्छ । घरमा काटेर मासु तयार पार्दै हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनैपर्छ ।
पुन : प्रकाशित

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)