ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिनिधिसभा निर्वाचनमा पाँच अर्थमन्त्री चुनावी मैदानमा, पाण्डे र पौडेलको प्रतिस्पर्धा रोचक हुने

चार जना पूर्वअर्थमन्त्री भने प्रत्यक्ष निर्वाचनबाट टाढा

२०७९ कार्तिक, २  
समाचार विविध निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । आगामी ४ मङ्सिरमा हुने आम निर्वाचनको मैदानमा मुलुकको अर्थतन्त्र हाँकेका पाँच जना अर्थमन्त्री छन् । अर्थलाई महत्त्वपूर्ण मन्त्रालयका रूपमा हेरिने भएकाले पनि पूर्व तथा वर्तमान अर्थमन्त्रीले प्रतिस्पर्धा गरेको चुनावी क्षेत्रलाई मतदाताले विशेष चासोका साथ लिएका छन् ।

आसन्न प्रतिनिधिसभाको चुनावमा बहालवाला अर्थमन्त्री जनार्दन शर्मासहित पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल, वर्षमान पुन र ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिस्पर्धा गर्दै छन् ।

अर्थमन्त्री शर्मा, पूर्वअर्थमन्त्रीद्वय पुन र कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । अर्थमन्त्री शर्मासँग एमालेका नन्दराम देवकोटाले प्रतिस्पर्धा गर्दै छन् । शर्मा नेकपा (माओवादी केन्द्र) को पकड क्षेत्र रूकुम पश्चिमबाट उम्मेदवार भएकाले फेरि पनि उनकै जित हुने अनुमान गरिएको छ । 

रूकुम पश्चिममा नेपाली कांग्रेसका बागीले उम्मेदवारी फिर्ता लिएपछि अर्थमन्त्री शर्मालाई चुनावमा झनै सजिलो भएको देखिन्छ । प्रतिनिधिसभा सदस्यका कांग्रेस उम्मेदवार मानबहादुर नेपाली र स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसकै लालबहादुर महतले उम्मेदवारी फिर्ता लिएका छन् । चुनावी मैदानमा अर्थमन्त्री शर्माका प्रतिस्पर्धीका रूपमा स्वतन्त्र उम्मेदवारी दिएका तारक केसी र एमाले उम्मेदवार देवकोटामात्र छन् ।

त्यस्तै, पूर्वअर्थमन्त्रीद्वय पाण्डे र पौडेल एमालेबाट चुनावी मैदानमा छन् । उनीहरूलाई जनता समाजवादी पार्टी तथा राप्रपाको समर्थन छ । चितवन–१ मा एमालेका प्रभावशाली नेता तथा उपाध्यक्ष सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा पुगेका विश्वनाथ पौडेलबीच भिडन्त हुँदै छ । दुवै उम्मेदवार अर्थतन्त्रका अब्बल ज्ञाता मानिन्छन् ।

पाण्डे सोही क्षेत्रका निर्वतमान सांसद्समेत हुन् । योजना आयोगका उपाध्यक्ष रहेका डा. पौडेल युवा अर्थशास्त्री हुन् । एमाले नेता पाण्डे २०५४ देखि ६० सम्म राष्ट्रिय सभा सदस्य थिए । चितवनको राप्ती नगरपालिकाका बासिन्दा पाण्डे २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेको समानुपातिक सभासद् थिए ।

२०६६ सालमा माधवकुमार नेपालको प्रधानमन्त्री कालमा उनी अर्थमन्त्री थिए । पाण्डेले २०७० को संविधानसभा सदस्य र २०७४ को संसदीय चुनाव चितवन–१ बाटै जितेका थिए । चितवन–१ मा कांग्रेसबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्ने चर्चा थियो । तर, योजना आयोगको उपाध्यक्ष रहेका पौडेलले पनि चुनाव लड्न इच्छा देखाएपछि वाग्लेलाई पार्टीले टिकट दिएन । पौडेलसँग अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टका एशोसिएट प्रोफेसर हुन् । वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा पौडेलले त्यहाँ आर्थिक सल्लाहकारका रूपमा काम गरेका थिए । 

माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन पनि चुनावी मैदानमा छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार उनीसँग नेकपा एमालेका पूर्ण बुढामगरले प्रतिस्पर्धा गर्दै छन् । यसअघि २०७४ सालको निर्वाचन पनि पुनले रोल्पाबाटै जितेका थिए । 

त्यस्तै, पूर्वअर्थमन्त्री तथा बहालवाला सञ्चार एवं सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि चुनावी मैदानमा छन् । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनका मुख्य प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैत हुन् । कार्कीले अघिल्लो चुनाव पनि सोही क्षेत्रबाट जितेका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देही क्षेत्र नं २ बाट एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल र सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजु गुरुङबीच प्रतिस्पर्धा हुँदै छ । निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरे पनि अदालतले तत्काल खारेज नगर्न अल्पकालीन आदेश दिएसँगै उनीहरूबीच प्रतिस्पर्धा हुने सम्भावना कायमै छ । यो क्षेत्र एमालेको गढ भएकाले पनि पौडेललाई चुनाव जित्न त्यति असहज नरहेको ठानिन्छ । 

पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक सीटमा छन् । आसन्न चुनावमा पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराई, डा. रामशरण महत र डा. युवराज खतिवडा चुनावी मैदानमा छैनन् । उनीहरू पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संघीय चुनाव नलड्ने घोषणा गर्दै आफ्नो क्षेत्रमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सहयोग गरिरहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)