ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समानुपातिक सांसदमा नेताका श्रीमतीदेखि आफन्तसम्म, कुन नेताका को ?  

२०७९ मंसिर, २५  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको खसआर्य महिला कलस्टरबाट सांसदमा सिफारिस भएकी छन् कांग्रेस नेत्री डा. आरजु राणा देउवा । उनी आफ्ना पति प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको जोडबलमा सांसद बनेकी हुन् । 

कांग्रेसमा नेताको श्रीमती भएर सांसद सिफारिस हुने उनी मात्रै एक्ली होइनन्, यो सूचीमा गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणको नाम पनि छ । उनी पनि खसआर्य महिला कलस्टरबाटै सांसद चुनिएकी हुन् । यो सूचीमा सपना राजभण्डारीको नाम पनि आउँछ । उनी कांग्रेस नेता स्व. नविन्द्रराज जोशीकी श्रीमती हुन् । 

कांग्रेस मात्रै होइन, यो निर्वाचनमा संसदको दोस्रो ठूलो दल नेकपा (एमाले)मा पनि नेताका श्रीमती सांसद बनेका छन् । पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ की श्रीमती नैनकला थापा पनि समानुपातिकतर्फ सांसद चुनिएकी छन् । 

नेकपा (माओवादी केन्द्र)ले पनि नेताका श्रीमतीलाई सांसद सिफारिस गरेको छ । माओवादीबाट नेता सूर्य सुवेदीकी श्रीमती ज्ञानु बस्नेत, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलकी श्रीमती उर्मिला माझी पौडेल समानुपातिक सांसद सिफारिस भएका छन् । 

नेताकाे श्रीमती सांसद बनाउनेमा जनता समाजवादी पार्टी नेपाल पनि छ । उसले पार्टीको संघीय परिषद् अध्यक्ष अशोक राईकी श्रीमती सुशीला श्रेष्ठलाई समानुपातिक सांसद बनाएको हो ।

प्रतिनिधिसभामा मात्र होइन, प्रदेशमा पनि नेताका श्रीमती सांसद चुनिएका छन् । एमालले नेता भीम आचार्यकी श्रीमती मीरादेवी खनाल आचार्यलाई प्रदेश १ को प्रदेशसभामा समानुपातिक सांसद चयन गरेको छ । 

यस्तो गर्नेमा ठूला दल मात्रै छैनन्, मधेश प्रदेशसभामा समानुपातिकबाट १ सिट पाएको संघीय समाजवादी पार्टी पनि छ । पार्टी अध्यक्ष मुहमद रिजवान अन्सारीले उक्त सिटमा आफ्नी श्रीमती विमला अन्सारीलाई सिफारिस गरेका छन् । 

यसविरुद्ध पार्टी नेता कमलेश्वरप्रसाद साहले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचनअघि पार्टीले पठाएको बन्दसूची अनुसार उक्त कोटामा आफू सिफारिस हुनुपर्ने उनको माग छ । 

दलहरूले नेताका श्रीमती मात्रै होइन, आफन्तलाई पनि सांसद सिफारिस गरेका छन् । एमालेले पार्टी महासचिव शंकर पोखरेलकी बहिनी मेनकाकुमारी पोखरेललाई समानुपातिकतर्फ सांसद चुनेको छ । यस्तै, माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्माकी बहिनी नारायणी शर्मा पनि सांसदमा सिफारिस भएकी छन् । 

प्रतिनिधिसभामा थ्रेस होल्ड कटाएका दलहरूले शनिवार (हिजो) निर्वाचन आयोगमा आफ्नो पार्टीले समानुपातिकतर्फ पाएको सिटमा बन्ने सांसद सिफारिस गरेका थिए । दलहरूले निर्वाचनअघि आयोगमा बुझाएको  समानुपातिकतर्फका सांसदको बन्दसूचीबाट सांसद चयन गरेका हुन् । 

प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० सिटमध्ये एमालेले ३४, कांग्रेसले ३२, नेकपा (माओवादी केन्द्र)ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपालले ७–७, जनमत पार्टीले ५ सिट पाएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)