ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दश नयाँ अनुहार समृद्धि र विकासका योजना बोकेर पहिलोपल्ट संसद्मा  

२०७९ मंसिर, २३  
समाचार निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । आमनिर्वाचन २०७९ को मतपरिणाम आएसँगै यसपालि संसद्मा नयाँ अनुहारको बाहुल्य देखिँदै छ । मधेशमा किसानको मुद्दा बोकेर माथि उठेकादेखि चिकित्सा क्षेत्रमा काम गरेका, भ्रष्टाचारविरूद्धका अभियन्ताहरू यसपालि चुनाव जितेर संसद्मा पहिलोपटक छिर्दै छन् । ठूला शक्तिलाई पन्छाएर चुनाव जितेकाहरूको योजना साविकका दलहरूको भन्दा बेग्लै छ । 

विभिन्न पृष्ठभूमिबाट आएकामध्ये पहिलोपटक संसद् छिर्न लागेका जनमत पार्टीका अध्यक्ष सीके राउतलाई कुनै बेला विखण्डनकारीको आरोप लाग्थ्यो । स्वतन्त्र मधेशको मुद्दालाई जोडतोडले उठाएका उनी राष्ट्रद्रोहको मुद्दामा कैयौंपटक जेल परे । केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन पहल गर्‍यो । त्यसपछि मधेशबाट जनमत पार्टी खोली राजनीतिमा आएका राउत सप्तरी–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराएर संसद्मा प्रवेश गर्दै छन् । पछिल्लो समय मधेशमा कृषकको समस्यालाई जोडतोडले उठाएर उनी राजनीतिमा उदाएका पात्र हुन् । 

उनी ससंद्मा जाँदै मात्र छैनन्, अब बन्ने सरकारमा समेत जाने तयारीमा छन् । त्यसका लागि सत्तागठबन्धनसँग छलफलमा लागेका छन् । राउतका अनुसार सरकारमा जान खोज्नुको कारण कृषकका र बेरोजगारी समस्या समाधान गर्ने मनसाय हो । ‘किसान आन्दोलनको माग सम्बोधन र कृषकका समस्या हल गर्न कृषि मन्त्रालय हामीले पाउनुपर्छ,’ उनले भने । 

संसद्मा नयाँ अनुहारका रूपमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम पनि प्रवेश गर्न लागेकी छन् । २०५२ असार ३ गते जन्मिएकी गौतम सम्भवत: प्रतिनिधिसभाकै कान्छी सदस्य हुन् । गौतमले कानूनमा स्नातक गरेकी छन् । उनीसँग अधिवक्ता भएर काम गरेको अनुभव छ भने पत्रकारितामा पनि उनी संलग्न थिइन् । गौतमले जनताको एकएक समस्यालाई सदनसम्म पुर्‍याउने योजना सुनाइन् । 

ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की पनि संसद्नमा नयाँ अनुहार हुन् । उनले ऊर्जामन्त्रीसमेत रहेकी माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाललाई हराएकी हुन् । 

चुनाव जितेसँगै उनले मतदाता निराश नहुने गरी काम गर्ने बताएकी छन् ।  उनले सरकारमा जाने वातावरण भए स्वास्थ्यमन्त्री रोज्ने तयारी गरेकी छन् । ‘सरकारमा जाने, मन्त्रालयस्तरमै गएर गर्न सक्ने आँट क्षमता हिम्मत छ । अभिभावकको साथ छ,’ उनले भनिन्, ‘मन्त्रालय रोज्न परेमा पक्कै पनि स्वास्थ्यमन्त्री रोज्नेछु ।’

यसपालि सदनमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नयाँ अनुहारका रूपमा देखिँदै छन् । झापा क्षेत्र नं १ बाट निर्वाचित शर्मा युवा पुस्ताले आशाका रूपमा हेरेका छन् ।  विश्वप्रकाश निडर र स्पष्टवक्ताका रूपमा चिनिएका नेता हुन् । उनी पार्टीभित्र भएका गलत निर्णय र गलत कदमलाई खुलेरै विरोध गर्छन् । 
अघिल्लो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शर्मा हालै सम्पन्न महाधिवेशनबाट अत्यधिक मतका साथ महामन्त्री बनेका थिए । काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदीप पौडेल पनि संसद्मा नयाँ अनुहार हुन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेर संसद्मा उदाएका पौडेलबाट पनि सर्वसाधारण ठूलो अपेक्षा राखेका छन् । 

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार बनेर चुनाव जितेका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही नयाँ अनुहारका रूपमा देखिँदै छन् । भ्रष्टाचार विरोधी अभियानकर्मीका रूपमा उदाएका शाही गत फागुनमा राप्रपामा प्रवेश गरेका थिए । शाहीले भ्रष्टाचार अन्त्य गर्न आफू सदनमा निर्मम रूपमा प्रस्तुत हुने बताए । ठाकुर गैरे पनि सदनमा नयाँ हुन् ।

नेकपा (एमाले) भित्र बेलाबेला वैचारिक विद्रोह जनाउँदै आएका नेता गैरे पाल्पा २ बाट निर्वाचित भएका हुन् । पाल्पाको बराङ्दीमा जन्मेका गैरेले पार्टीमा लागेको ३२ वर्षमा पहिलोपटक सांसद उम्मेदवार बन्ने मौका पाएका थिए ।  पुराना नेताको अनुभव, योग्यता, क्षमतालाई मुलुकले प्राप्त गर्ने अवस्था सृजना गर्दै युवाले नेतृत्व प्राप्त गर्ने प्रक्रिया अघि बढाउनुपर्ने मान्यता राख्दै आएको उनले नेपालमा अब विकास र समृद्धिको राजनीति आवश्यक रहेको बताए । 

टेलिभिजन कार्यक्रमबाट लोकप्रियता कमाएका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताको रूपमा संसद्मा पुगेका छन् । उनी केही समय अमेरिका बसेर फर्किएका व्यक्ति हुन् । लामिछानेले सबैभन्दा लामो समय टेलिभिजनमा अन्तर्वार्ता गरेर विश्व रेकर्डसमेत राखेका थिए ।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेले त्यहीँबाट दुईपटक सांसद बनिसकेका एमालेका कृष्णभक्त पोखरेल र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई हराएका थिए । 

शिशिर खनाल अर्का नयाँ अनुहार हुन् । काठमाडौं–६ बाट निर्वाचित खनालले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् । उनी नेपालमा सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्न अब्बल भूमिका निभाउने संस्था ‘टिच फर नेपाल’का पूर्वप्रमुख कार्यकारी अधिकृत पनि हुन् । 

सदनमा नयाँ अनुहारका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली देखिँदै छन् । विभिन्न वस्तुको निर्यात गर्दै आएका उनी काठमाडौं–७ बाट निर्वाचित भएका हुन् । देशमा व्याप्त बेथिति र भ्रष्टाचारको मुद्दा उठाउने उनको योजना छ भने समृद्धिको यात्रा अघि बढाउने गरी उनले आफ्नो योजना तय गर्ने बताउँछन् । 

काठमाडौं ८ बाट निर्वाचित विराजभक्त श्रेष्ठ अर्का युवा अनुहार हुन् । श्रेष्ठ सहभागितामूलक विकासको मर्मअनुसार अघि बढ्ने बताउँछन् । राजनीतिलाई सुसंस्कृत बनाउन भूमिका खेल्ने उनले चुनावअघि जारी गरेको प्रतिबद्धता पत्रमा उल्लेख गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)