ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एमालेको चुनावी घोषणापत्र : स्रोतविनै २० ग्यारेन्टी !

२०७९ कात्तिक, १६  
समाचार निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । नेकपा (एमाले) ले आसन्न आमचुनावलाई लक्षित गर्दै स्रोतविनाका करीब दुई दर्जन योजना समेटेर घोषणापत्र सार्वजनिक गरेको छ । 

अघिल्लोपल्ट तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले एकताको घोषणा गर्दै चुनावमा होमिएपछि दुवैले गरी करीब दुई तिहाइ बहुमत पाएका थिए । चुनावपछि दुवै पार्टी एकीकृत पनि भए । झन्डै दुई तिहाइ बहुमत सरकारको नेतृत्व केपी शर्मा ओलीले सम्हाले । ओली नेतृत्वको बलियो सरकारले पनि उपलब्धिमूलक काम गर्न नसकेको भन्दै जनस्तरबाट आलोचना भइरहेका बेला आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गर्दै एमालेले मंगलवार राजधानीको पाँचचारे होटेलबाट स्रोतविनाका महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको हो । 

सुशासन, विकास, समृद्धि र समानतासहित चार संकल्प गरेको एमालेले घोषणापत्रमार्फत पहिलो सेसन : समृद्धि अधिवेशन, नेपालीलाई मात्र नागरिकता, हंगर नो लंगर, उत्पादन स्वदेशी : बजार विदेशी, सुरक्षित छाना : पुग्छ सबैको चाहना, कमाइ : युवाको रोजाइ, पढाइ : भविष्यको जग बसाइ, प्रेसर–सुगर : भइन्छ बिरामी औषधि बेगर, फ्री मीटर : १० हजार लिटर, फ्री युनिट : ५० युनिटलगायतको ग्यारेन्टी गरेको छ । 

यी योजना कसरी कार्यान्वयन गर्ने र त्यसको स्रोत के हो भन्ने कुरा घोषणापत्रमा खुलाइएको छैन । एमालेको घोषणापत्रमा आगामी ५ वर्षमा मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने असम्भव लक्ष्य पनि राखिएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपाली अर्थतन्त्रको आकार ४८ खर्ब रुपैयाँ बराबर छ । ५ वर्षमा अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउन लगातार १५ प्रतिशतभन्दा बढी दरमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढ्नुपर्छ । एमालेले चुनावी घोषणापत्र जारी गर्नुभन्दा १ दिनअघि सोमवार मात्रै विश्व बैंकले नेपालको जीडीपी वृद्धिदर यो वर्ष सन् २०२२ मा ५ दशमलव ८ प्रतिशत, सन् २०२३ मा ५ दशमलव १ प्रतिशत र सन् २०२४ मा ४ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

एमालेले ५ वर्षमै नेपालीको प्रतिव्यक्ति आम्दानी २४ सय अमेरिकी डलर पुर्‍याउने दाबी पनि घोषणापत्रमा राखेको छ । यो लक्ष्य पनि ५ वर्षभित्र प्राप्त गर्न सम्भव छैन । चालू आर्थिक वर्षसम्म नेपालीको प्रतिव्यक्ति आम्दानी १३ सय अमेरिकी डलर पुग्ने प्रक्षेपण छ । एमालेले ५ वर्षमा ५० नयाँ शहरको विकास र निर्माणाधीन सबै राजमार्ग सम्पन्न गर्ने योजना घोषणापत्रमा समेटेको छ ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–निजगढ खण्डको निर्माण सम्पन्न गरी रेल कुदाउने, रसुवागढी–काठमाडौं र वीरगञ्ज–काठमाडौं रेलमार्गको प्रक्रिया अगाडि बढाउने एमालेको योजना छ । मोटर बाटो पुर्‍याउन कठिन भौगोलिक अवस्था भएका गाउँमा केबुलकार पुर्‍याउने उसले दाबी गरेको छ ।
 
एमालेले आफ्नो चुनावी घोषणापत्रमा राष्ट्रिय झण्डासहितको पानीजहाज चलाउने वाचा पनि दोहोर्‍याएको छ । अघिल्लो निर्वाचनमा पनि यो योजना एमालेको प्राथमिकतामा थियो । केपी शर्मा ओलीले प्रधानमन्त्री भइसकेपछि एउटा कार्यक्रममा भाषण गर्दा पानीजहाजको टिकट काट्ने मिति नै तोकेका थिए । तर, अहिलेसम्म पानीजहाज कार्यालय खोल्नेबाहेक अरू काम भएको छैन ।

रोजगारी सृजनामा पनि एमालेले महत्त्वाकांक्षी लक्ष्य अघि सारेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगारलाई ६ महीना रोजगारी दिने उसको भनाइ छ । एमाले नै सत्तामा छँदा शुरू गरेको यो कार्यक्रमको कार्यान्वयन अहिले पनि फितलो छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकसहितले ऋण सहयोग गरे पनि त्यसलाई सही रूपमा खर्च गर्न स्वयं एमाले सरकारमा हुँदा चुक्यो । एमाले सरकारमा हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यकर्ता बटुलेर सामान्य काम लगाई बजेट खर्चेको आरोपसमेत लाग्दै आएको छ ।

श्रमिकको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याउने, ५ वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, वार्षिक २५ लाख पर्यटक भित्र्याउनेलगायत दाबी एमालेले गरेको छ । सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने, सबै कृषियोग्य भूमिमा सिँचाइ सुविधा ५ वर्षमा पुर्‍याइने घोषणापत्रमा उल्लेख छ । 

जनता अलमल्याउन घोषणापत्र ल्याइएको होइन : ओली 

घोषणापत्र डिजिटल माध्यमबाट सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले देश बनाउने भिजन आफ्नो पार्टीसँग मात्र रहेको दाबी गरे । ‘एमालेसँग मात्र देश बनाउने भिजन छ । काम गर्ने क्षमता छ । एमालेको सुदृढ बहुमतविना देशको विकास हुँदैन,’ उनले भने, ‘सुशासन र विकासको बाटोमा एमालेले लैजान्छ । त्यसैले एमालेलाई बहुमत दिन आवश्यक छ । एमालेले जारी गरेको घोषणापत्र जनता अलमल्याउन होइन, विकास गर्नका लागि हो ।’

एमाले अध्यक्ष ओलीले अब नेपालीका घरघरमा आयातित ग्यास नभई नेपालमै उत्पादित बिजुली पुर्‍याइने बताए । ‘मैले २०७२ सालमा नाकाबन्दी लागेर काठमाडौंमै दाउराबाट खाना पकाउने बाध्यता भएकाले उक्त कुरा बोलेको थिएँ । त्यसबेला घरघरको चूल्होमा ग्यास पुर्‍याउँछु भनेको कुरा अब पुरानो भइसक्यो,’ उनले भने ।

आफ्नो पुरानो भनाइ फेर्दै ओलीले अब आयातित ग्यास घरघर पुर्‍याउने नभई देशमै उत्पादित बिजुली पुर्‍याउने बताए । ‘अब ग्यासमा भन्दा विद्युत्मा हामी फोकस हुन्छौं,’ उनले भने, ‘अब सवारीसाधन पनि बिजुलीको चलाउनुपर्छ ।’

अघिल्लो निर्वाचनमा एमालेलाई बहुमत नदिएकाले सरकार स्थिर नभएको र धेरै काम गर्न नपाएको ओलीको भनाइ थियो । ‘हामीसँग १२१ सीट उपलब्ध थियो, बहुमत थिएन । सरकार गठन गर्न १३८ सीट चाहिन्थ्यो । सरकार बनाउन अर्काे पार्टी चाहिन्थ्यो,’ उनले भने, ‘अर्को पार्टीसँग एकता गरेर बहुमत पुर्‍यायौं, तर त्यो टिकाउ भएन । जनताका काम गर्न व्यवधान कसले गरेको छ, सबैले थाहा पाएका छन् ।’ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)