ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनबीच कारखानामै थुनिएका कर्मचारीलाई फक्सकोनले चौब्बर बोनस दिने

२०७९ कात्तिक, १६  
रोजगारी अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

पेचिङ (चीन) । ताइवानी चिप निर्माता तथा करारमा विद्युतीय सामाग्री बनाइदिने कम्पनी फक्सकोनले चीनमा रहेको आइफोन कारखानामा थुनिएका कर्मचारीहरूलाई दैनिक बोनस चौब्बर दिने भएको छ । कोभिडका कारण लगाइएको लकडाउनले गर्दा अहिले उक्त कारखानामै हजारौं कर्मचारीहरू थुनिएका छन् ।

केही कर्मचारीहरू कारखानाको पर्खाल नाघेर निस्किएको भिडियो सार्वजनिक भएपछि कम्पनीले सो घोषणा गरेको हाे । मध्य चीनको चङचाउमा रहेको उक्त कारखानाको एसेम्बल लाइनमा थुनिएका कर्मचारीहरूलाई दिइने दैनिक बोनस बढाएर ४०० युआन पुर्याउने भएको छ । सप्ताहन्तमा सार्वजनिक एउटा भिडियोमा कारखानाको बार नाघेर निस्किएको भिडियो निकै भाइरल भएको थियो ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले कोभिडविरुद्ध शून्य सहनशीलताको नीति अपनाएका छन् । यस्तोमा सर्वसाधारण र व्यवसायीहरूलाई समस्या भइरहेको छ । उक्त कारखानामा एक महीनामा २५ दिनभन्दा धेरै काम गरेकाहरूलाई अधिकतम् ५ हजार युआन बोनस दिइने पनि फक्सकोनले सामाजिक सञ्जाल विच्याटमा घोषणा गरेको छ । यसअघि बोनसको आकार १ हजार ५०० युआन मात्रै थियो ।

नोभेम्बरमा बिदै नलिइकन सक्दो काम गर्नेहरूलाई कम्पनीले महीनाभरका लागि १५ हजार युआनभन्दा धेरै बोनस दिनसक्ने बताइएको छ । क्रमिकरूपमा उत्पादनलाई व्यवस्थित बनाउन र कर्मचारीहरूको अटूट कामका लागि धन्यवाद भन्ने प्रयासअन्तर्गत बोनस दिन लागिएको कम्पनीले बताएको छ । फक्सकोनले अहिले अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलका लागि आइफोन १४ बनाइरहेको छ ।

चीनले कोभिड नियन्त्रण गर्न देशका कयौं शहरहरूमा कठोर लकडाउन गरेको छ । अहिले फक्सकोनको चङचाउ कम्प्लेक्समा हजारौं कर्मचारी थुनिएको बताइन्छ । सो कारखाना विश्वको सबैभन्दा ठूलो आइफोन बनाउने कारखाना हो । त्यहाँ झन्डै २ लाख कर्मचारीहरू काम गर्छन् । ८५ प्रतिशत आइफोन एसेम्बल यही कारखानामा हुन्छ ।

उत्पादन गर्न भ्याइनभ्याइ हुने समयमा कोभिडको प्रभाव देखिँदा एप्पलले भारतलगायत अन्य देशमा आइफोनको उत्पादन बढाउन शुरु गरेको छ । सो कारखानामा रहेका कति कर्मचारीलाई कोभिडको संक्रमण भएको छ भन्ने आधिकारिक जानकारी आएको छैन । गएको बुधबार भने फक्सकोनले सो कारखानामा रहेको सानो संख्यामा कर्मचारीहरूलाई संक्रमण भएको बताएको थियो ।

त्यहाँ थुनिएर बस्न बाध्य भएकाहरूलाई आवश्यक सामानको आपूर्ति गराइरहेको अनि मानसिकरूपमा आराम हुने वातावरण दिएको दाबी कम्पनीले गरेको थियो । तर, चिनियाँ सामाजिक सञ्चालमा शेयर गरिएकाे भिडियोमा कर्मचारीहरू भागेको देखिएको थियो ।

कारखाना कयौं दिनदेखि बन्द छ । कोभिड भएका कर्मचारीहरू कारखानाभित्रै क्वारेन्टिनमा छन् भने संक्रमण नभएका कर्मचारी काम गरिरहेका छन् ।

कर्मचारीहरूको काम गर्ने वातावरण सुधार्न सयौंको संख्यामा संक्रमण नियन्त्रक टोली कारखानामा पठाइएको छ । अवस्था सामान्य बन्न अझै २ हप्ताभन्दा धेरै लाग्ने बताइन्छ ।

चीनले कोभिड नियन्त्रणका लागि गरेको बन्दाबन्दीका कारण कारखाना, पार्कलगायत स्थानमा हजारौं मानिसहरू थुनिने गरेका छन् । गत वर्ष नोभेम्बरमा पनि डिज्नीको पार्कमा ३० हजार भन्दा धेरै मानिसहरू थुनिएका थिए । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)