ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रवासी नेपालीलाई आईपीओमा आरक्षण : यस्ता छन् शर्त र नियम

२०७९ कात्तिक, १८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका प्रवासी नेपालीले शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण पाउने व्यवस्था लागू भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भदौमै सार्वजनिक गरेको धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७९ छैटौं संशोधन बिहीवार (कात्तिक १७ गते) देखि लागू गरेको हो । यो निर्देशिका लागू भएसँगै अब बोर्डबाट आईपीओ निष्कासनका लागि स्वीकृति पाउने कम्पनीले वैदेशिक रोजगारीमा रहेका प्रवासी नेपालीका लागि १० प्रतिशत कोटा छुट्ट्याउनुपर्ने भएको हो । 

बोर्डका उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरीले संशोधित निर्देशिकाबमोजिम अब बोर्डबाट स्वीकृति पाउने कम्पनीको आईपीओमा मात्र यो व्यवस्था लागू हुने जानकारी दिए । बोर्डबाट स्वीकृति प्राप्त गरी आईपीओ जारी गर्न बाँकी रहेका कम्पनीको हकमा भने यो व्यवस्था लागू नहुने गिरीको भनाइ छ । आगामी दिनमा कम्पनीहरूलाई आईपीओ निष्कासनका लागि अनुमति दिनुपूर्व वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई १० प्रतिशत शेयर छुट्ट्याउन लगाएर मात्र स्वीकृति दिने गिरीले स्पष्ट पारे । 

उनका अनुसार श्रमस्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीले मात्र आईपीओमा १० प्रतिशत आरक्षण पाउनेछन् । यो आरक्षणअनुसारको शेयर वितरणका लागि सर्वसाधारणमा आईपीओ निष्कासन गर्नुअघि १५ दिनको अवधि तोकी आह्वानपत्र प्रकाशित गर्नुपर्ने उपकार्यकारी निर्देशक गिरीले जानकारी दिए । वैदेशिक रोजगारीमा गएका नेपालीले रेमिट्यान्स (विप्रेषण) बचत खातामार्फत आईपीओबापतको रकम भुक्तानी गर्नुपर्ने भएकाले केही प्राविधिक विषय निक्षेप सदस्यहरूसँग जोडिएको गिरी बताउँछन् । विप्रेषण बचत खातामा पछिल्लो ६ महीनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ सम्बद्ध आवेदकले आफू रोजगारीमा रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने व्यवस्थाले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउनसमेत बल पुग्ने गिरीको विश्वास छ ।

निक्षेप सदस्यहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि हितग्राही डिम्याट खाता खोल्दा विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी हितग्राही खाता खोल्न सक्ने व्यवस्था छ । 

वैदेशिक रोजगारीमा गएका नेपालीलाई सी–आस्बा रजिस्ट्रेशन नम्बर (सीआरएन) समेत विद्युतीय माध्यमबाट उपलब्ध गराउने व्यवस्था बोर्डले गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको शेयरमा आवेदन दिनेले सर्वसाधारणका लागि जारी भएको शेयरमा पुन: आवेदन दिन नपाउने निर्देशिकामा उल्लेख छ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्ट्याएको शेयर विक्री नभई बाँकी रहन गएमा उक्त शेयर सर्वसाधारणमा थप गरी जारी गर्नुपर्ने व्यवस्था संशोधित नियमावलीमा गरिएको छ । यो व्यवस्था अंकित मूल्यमा थप सार्वजनिक निष्कासन गर्ने संगठित संस्थाको हकमा लागू नहुने बोर्डको भनाइ छ । 

सर्वसाधारणतर्फको बाहेक अन्य समूहको शेयर बाँडफाँट भएको मितिले ३ वर्ष अवधि पूरा नभई विक्री गर्न नपाइने व्यवस्थासमेत संशोधित निर्देशिकामा छ । तर, प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, हेज फन्ड वा यस्तै प्रकारको कोषका रूपमा बोर्डमा वा विदेशमा दर्ता भएको कोषको स्वामित्वमा रहेको शेयर भने बाँडफाँट भएको मितिले १ वर्ष पूरा भएपछि विक्री गर्न सकिनेछ ।

सरकारले यस वर्षको बजेटमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत शेयर आरक्षण गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था कार्यान्वयनका लागि बोर्डले निर्देशिका संशोधन गरी लागू गरेको हो । 

पछिल्लोपटकको जनगणना २०७८ अनुसार २१ लाख ६९ हजार नेपाली विदेशमा छन् । यो अध्ययन, रोजगारीलगायत उद्देश्यले गएका नेपालीको संख्या हो । श्रमस्वीकृति लिएका प्रवासी नेपालीको यकीन तथ्यांक भने कसैसँग पनि छैन । श्रम विभागसँग रोजगारीका लागि विदेश जाने नेपालीलाई दिएको श्रमस्वीकृतिको अभिलेख भए पनि फर्किनेको तथ्यांक राख्ने चलन नभएकाले श्रमस्वीकृति लिएका कति नेपाली विदेशमा छन् भन्न सकिने अवस्था छैन । 

शर्त र नियम

  • श्रमस्वीकृति लिएर विदेश गएको व्यक्तिले मात्र आरक्षित आईपीओमा आवेदन दिन पाउने
  • प्रवासी नेपालीले विप्रेषण बचत खातामार्फत आईपीओबापतको रकम भुक्तानी गर्नुपर्ने
  • आवेदकको विप्रेषण बचत खातामा पछिल्लो ६ महीनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ उसैले रोजगारीमा रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने
  • डिम्याट खाता विद्युतीय माध्यमबाटै खोल्न सकिने
  • सी–आस्बा रजिस्ट्रेशन नम्बर (सीआरएन) समेत विद्युतीय माध्यमबाटै 
  • आरक्षित शेयरमा आवेदन दिनेले सर्वसाधारणका लागि जारी भएको शेयरमा आवेदन दिन नपाउने 
  • शेयर बाँडफाँट भएको मितिले ३ वर्ष अवधि पूरा नभई विक्री गर्न नपाइने
  • अबदेखि स्वीकृत हुने आईपीओमा मात्र आरक्षण
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Binod bohara

[Nov 5, 2022 04:04am]

Good job



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)