काठमाडौं । पछिल्लो समय शेयर बजारमा धेरैको चासो बढ्न थालेको छ । हरेक पसल, विभिन्न ठूलाठूला अफिस र विद्यार्थीहरूले समेत चासो लिन थालेका छन् ।
यस क्षेत्रमा धेरैजसो मानिसहरू त बुझेर नै लागेका हुन्छन् भने कतिपय अरूले भनेको आधारमा लगानी गरिरहेका हुन्छन् । यस्तो अवस्थामा गरिएको लगानी केही समय राम्रो भए पनि जोखिमयुक्त हुने गर्दछ ।
सोही कारण लगानी गर्नुपूर्व लगानीकर्ताले कम्पनीको वित्तीय विवरण राम्रोसँग अध्ययन गर्नु जरुरी हुन्छ । कम्पनीका मूल्य आम्दानी अनुपात, प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ र जगेडा कोषसम्बन्धी सूचकले लगानीकर्तालाई लगानी रणनीति बनाउन सहयोग पुग्ने देखिन्छ ।
प्रतिशेयर आम्दानी : प्रतिशेयर आम्दानी कम्पनीले आर्जन गरेको मुनाफालाई कुल शेयर संख्याले भाग गरेर निकालिन्छ । यसरी निकालिएको प्रतिशेयर आम्दानी तीन महिनासम्म उपयुक्त हुन्छ । यसलाई वार्षिकीकरण गर्ने हो भने फरक सूत्र प्रयोग गर्नुपर्छ । यद्यपि शेयर लगानी गर्नेहरूको लागि तीन/ तीन महिनामा निकालिने प्रतिसेयर आम्दानी बढी महत्वपूर्ण हुन्छ । यो शेयर मूल्य मापन गर्ने एक महत्वपूर्ण औजार हो ।
प्रतिशेयर आम्दानी धेरै भएकोलाई राम्रो मानिन्छ भने कम भएको कमसल रहेका जानकारहरू बताउँछन् । जुन कम्पनीको प्रतिशेयर आम्दानीदर वृद्धि भइरहेको छ, त्यस्तो संस्थामा लगानी गर्नु उपयुक्त हुन्छ । यसले कम्पनीको कमाइ राम्रो भइरहेको र लगानीकर्ताले राम्रो प्रतिफल पाउन सक्ने अवस्था रहेको संकेत गर्छ ।
मूल्य आम्दानी अनुपात : पछिल्लो बजार मूल्यलाई प्रतिशेयर आम्दानीले भाग गरेर आउने अनुपातलाई मूल्य आम्दानी अनुपात भनिन्छ । यो अनुपात जति कम भयो त्यही नै राम्रो हो । कम मूल्य आम्दानी अनुपात भएको कम्पनीको शेयरमा लगानी गरेमा जोखिम कम र मूल्य बढ्ने अनुमान गर्न सकिन्छ । यसो त मूल्य आम्दानी अनुपात बढी भएको कम्पनीमा लगानी गरेमा जोखिम बढी हुने जानकार बताउँछन् ।
सामान्यतया मूल्य आम्दानी अनुपात १८ देखि २५ रहेको कम्पनीमा लगानी गर्नु सुरक्षित मानिन्छ । पछिल्लो समय केही कम्पनीको मूल्य आम्दानी अनुपात १ सयभन्दा बढी रहेको छ । यस्तो कम्पनीहरूको शेयरमा बढी जोखिम हुने गर्दछ । कम्पनीहरूले तीन/ तीन महीनामा यो अनुपात दिने गरे पनि लगानीकर्ताले जहिले चाहियो त्यति बेला नै हिसाब गरेर पछिल्लो अवस्था थाहा पाउन सकिन्छ । बजार धेरै नै घटेको अवस्थामा यो अनुपातलाई पनि हेरेर लगानी गरेमा प्रतिफल राम्रै हुने विश्लेषकले दाबी छ ।
प्रतिशेयर नेटवर्थ : प्रतिशेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ कि छैन भनेर मूल्यांकन गर्न सकिन्छ । यो धेरै हुनु नै राम्रो मानिन्छ । प्रतिशेयर नेटवर्थ वृद्धि हुनुले उसको दायित्व घटिरहेको छ भन्ने देखाउँछ । यदि यो सूचक नकारात्मक भएमा कम्पनीको अवस्था खराब रहेको बुझ्न सकिन्छ । लगानी गर्नुपूर्व लगानीकर्ताले धेरै नेटवर्थ भएको कम्पनीमा लगानी गर्नु उचित मानिन्छ । यसलाई किताबी मूल्य पनि भनिन्छ ।
यदि कम्पनी केही कारणबस डुब्ने अवस्था आएमा आफ्ना लगानीकर्तालाई किताबी मूल्यको आधारमा लगानी फिर्ता गर्ने गर्दछ । नेटवर्थ निकाल्ने सूत्र : कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउने र आउने परिणामलाई कुल शेयर संख्याले भाग गर्नुपर्छ ।
जगेडा कोष : लगानीकर्ताले लगानी गर्नुपूर्व यो महत्वपूर्ण कोष पनि हेर्नुपर्ने हुन्छ । कम्पनीले सार्वजनिक गर्ने वित्तीय विवरणमा चुक्ता पूँजीसँगै जगेडालाई पनि उल्लेख गरिएको हुन्छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै खडा भएको यो कोषले कम्पनीको प्रतिकूल अवस्थाको सामना गर्ने क्षमतालाई बुझाउँछ । यो कोषको आकार जति बलियो हुन्छ, त्यति बैंकहरूको जोखिम वहन क्षमता मजबुत भएको मानिन्छ । अर्कोतिर बोनस शेयर दिएर पूँजी वृद्धि गर्न सहयोग पुग्दछ । भर्खरैको उदाहरण के छ भने नियामक निकाय बीमा समितिले इन्स्योरेन्स कम्पनीहरूको चुक्ता पूँजी बढाउन निर्देशन दिएको छ ।
यतिबेला कतिपय बलिया राम्रा कम्पनीले जगेडा कोषबाट बोनस शेयर दिएर पूँजी पुर्याउने तयारी गरिरहेका छन् । यसो त केही वर्ष अगाडि स्ट्याण्डर्ड चार्टड बैंकले शतप्रतिशत बोनस शेयर दिएर राष्ट्र बैंकले तोकेको चुक्तापूँजी रू. ८ अर्ब पुर्याएको थियो । यस कारण पनि भविष्यमा कति बोनस शेयर दिन सक्ने सम्भावना कति छ भनरे जान्न यस जगेडा कोषलाई हेर्नु महत्वपूर्ण मानिन्छ ।
यी माथिका सूचकसँगै लगानीकर्ताले बजारको ट्रेण्ड र अल्पकालीन लगानी या दीर्घकालीन लगानी गर्ने भनी यकिन गरेमा शेयर बजारबाट प्रतिफल प्राप्त गर्न सकिन्छ । कहिल्यै पनि शेयर बजारमा लगानी गर्ने पैसा ऋण या सापटी लिएर गर्नु हुँदैन ।
स्वयम् आफूले जोखिम बहन गर्न सक्ने क्षमतालाई मध्यनजर गरेर लगानी गर्नुपर्ने हुन्छ । शेयर बजार भनेको सधैं बढ्ने मात्र पनि होइन घट्ने मात्र पनि होइन । यी दुई ट्रेण्डलाई सूक्ष्म अध्ययन गरेर लगानी गरेमा प्रतिफल प्राप्त हुने विश्लेषकहरू बताउँछन् ।