ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंमा पुराना नेतालाई नयाँ उम्मेदवारको चुनौती, कसको प्रतिद्वन्दी को ?

२०७९ कात्तिक, २१  
समाचार निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । देशभर चुनावी सरगर्मी ह्वात्तै बढेका बेला काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका पुरानालाई नयाँले मुश्किल पार्ने देखिएको छ । सबै क्षेत्रका उम्मेदवार चुनावी कार्यक्रम र घरदैलो अभियानमा छन् । चुनावी मैदानमा उत्रेका उम्मेदवारले जित्ने दाबीसमेत गरिरहेका छन् । 

चुनावको मिति नजिकिँदै गर्दा पुरानालाई नयाँ उम्मेदवार भारी पर्ने सम्भावना बढ्दो छ । काठमाडौं क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट पूर्वसभामुख ओनसरी घर्तीमगर र नेकपा एमालेबाट मणिराम फुँयाल प्रतिस्पर्धामा छन् । उनीहरूलाई स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले चुनौती दिएका छन् । यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस क्षेत्रबाट चुनाव लड्दै आएका थिए । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम मैदानमा छिन् ।

पुराना दलले जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले परिवर्तनका लागि आफूले उम्मेदवारी दिएको बताइन् । उनले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरेर युवालाई देशमै बस्ने वातावरण बनाउने प्रतिबद्धतासहित दिएको उम्मेदवारी पुरानाका लागि टाउको दुखाइ बनेको छ ।

काठमाडौं क्षेत्र नम्बर ३ मा पनि कडा प्रतिस्पर्धाको स्थिति छ । २३ जना उम्मेदवार रहेको यो क्षेत्रमा सत्ता गठबन्धन र एमालेले आफ्नो साख तथा विरासतसँग जोडेर प्रचार अभियान अघि बढाएका छन् । उनीहरूलाई अरू दलसँगै स्वतन्त्र उम्मेदवारले चुनौती दिइरहेका छन् । मतदाता भने स्थानीय विकास र नागरिकको जीवनस्तर उकास्ने योजना ल्याउनेलाई मतदान गर्ने मनस्थितिमा छन् । 

काठमाडौं–३ मा ५८ हजार ८८९ मतदाता छन् । यस क्षेत्रमा यसअघि वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार कृष्ण राई निर्वाचित भएका थिए । यसपटक पनि एमालेले राईलाई नै उम्मेदवार बनाएको छ । सत्तारूढ गठबन्धनबाट कांग्रेसका सन्तोष चालिसे चुनावी प्रतिस्पर्धामा छन् । उनीहरूले विकास र समृद्धिलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।

उनीहरू मूलत: सुकुमबासी समस्या समाधान, बागमती सफाइ अभियान, कृषि, रोजगारी, स्वास्थ्य, शिक्षा र पर्यटनलाई मूल मुद्दा बनाएर जनतामा पुगेका छन् । यो निर्वाचन क्षेत्रमा एमाले र कांग्रेसका उम्मेदवारबीच प्रचारको होडबाजी छ । उनीहरूलाई अन्य दल र स्वतन्त्र उम्मेदवारले चुनौती थपिदिएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ६ सहित कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको धेरै क्षेत्र समेटिएको यो क्षेत्रका नागरिकको मुख्य समस्या सडक र फोहोर व्यवस्थापन नै हो । यीसहित कृषि र पर्यटन विकासलाई प्राथमिकता दिने उम्मेदवार आफूहरूको रोजाइमा पर्ने मतदाता बताउँछन् ।

राष्ट्रिय स्तरमै चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ बाट यसअघि नै दुईपटक निर्वाचित कांग्रेस महामन्त्री गगन थापा सत्ता गठबन्धनका तर्फबाट चुनावी मैदानमा छन् । अघिल्लो चुनावमा थापासँग पराजित एमाले विदेश विभाग प्रमुख राजन भट्टराई यसपालि पनि मैदानमा छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट भट्टराई पार्टीको आन्तरिक राजनीतिमा पनि प्रभावशाली मानिन्छन् । अघिल्लो चुनावमा बेहोरेको नतीजा उल्ट्याउने उनको योजना छ । दलका १७ र स्वतन्त्र १४ गरी ३१ उम्मेदवार रहेको काठमाडौं–४ मा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुनसक्छ । ठूला दलका उम्मेदवारलाई स्वतन्त्र र राप्रपाका ठाकुरमोहन श्रेष्ठले चुनौती दिँदै छन् । काठमाडौं–४ मा ३६ हजार २७७ महिलासहित ६९ हजार ७५२ मतदाता छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस युवानेता प्रदीप पौडेललगायत चर्चित स्वतन्त्र उम्मेदवारका कारण काठमाडौं क्षेत्र नम्बर ५ पनि धेरैको चासोमा छ । राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताबीचको प्रतिस्पर्धा यो क्षेत्रको विशेषता हो । 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल पार्टीमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरीयतामा छन् । ओली नेतृत्वको सरकारमा पोखरेल उपप्रधानमन्त्री थिए । २०६४ र २०७० को चुनावमा कांग्रेस नेता नरहरि आचार्यसँग पराजित पोखरेल २०७४ मा कांग्रेस प्रवक्ता प्रकाशशरण महतलाई पराजित गरेपछि पार्टीसँगै राष्ट्रिय राजनीतिमै प्रभाव जमाउन सफल भए । यसपटक पनि एमालेबाट पोखरेल नै उम्मेदवार बन्दा कांग्रेसले भने युवानेता प्रदीप पौडेललाई अघि सारेको छ । पौडेलले चुनावी अभियान तीव्र बनाइरहँदा पोखरेल जित दोहोर्‍याउने रणनीतिसहित अघि बढेका छन् । 

प्रतिनिधिसभामा पौडेलको यो पहिलो प्रतिस्पर्धा हो । २०७४ मा तनहुँ क्षेत्र नम्बर २ मा माओवादी नेत्री आशा कोइरालासँग ५ मतले पराजित पौडेल अहिले क्षेत्र नै परिवर्तन गरेर काठमाडौं–५ आएका छन् । अघिल्लो चुनावमा गुमेको पार्टीको साख फर्काउने उनको योजना छ । यस क्षेत्रमा एमाले र कांग्रेसका उम्मेदवारलाई चुनौती दिने स्वतन्त्र उम्मेदवार हुन्– रञ्जु दर्शना न्यौपाने । २०७४ को स्थानीय तह चुनावमा काठमाडौं महानगरको मेयरमा विवेकशील पार्टीबाट २३ हजार मत प्राप्त गर्दै चर्चामा आएकी रञ्जु यसपटक प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार बनेकी हुन् । 

काठमाडौं–६ मा सत्ता गठबन्धनका तर्फबाट पूर्वमन्त्रीसमेत रहेका भीमसेनदास प्रधान मैदानमा छन् । प्रहरी संगठनमा रहँदा निकै चर्चामा रहेका सर्वेन्द्र खनाल नेकपा एमालेको तर्फबाट यही क्षेत्रमा लड्दै छन् । अहिलेसम्मको सांगठनिक मत हेर्दा यो क्षेत्रमा यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

प्रधान पूर्वरक्षामन्त्री, खनाल नेपाल प्रहरीका पूर्वमहानिरीक्षक । दुवै सुरक्षा निकायसँग जानकार र नजीक भएकाले चुनावी प्रतिस्पर्धा पनि उस्तै रोचक र कडा हुने देखिन्छ । यो क्षेत्रमा जनता समाजवादी पार्टीका मनोज आचार्य, राप्रपाका विष्णुप्रसाद आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतले प्रधान र खनाललाई चुनौती दिनेछन् ।

सत्ता गठबन्धन दलले कांग्रेसलाई धोका नदिए प्रधानको जित सुनिश्चित रहेको कतिपयको विश्लेषण छ । राप्रपासँग चुनावी तालमेल गर्ने चर्चा चले पनि तालमेल नहुँदा केही घाटा खनाललाई पर्ने तर्क गर्नेहरू पनि छन् । विगतमा यस क्षेत्रबाट एमालेका सहाना प्रधान र अष्टलक्ष्मी शाक्यजस्ता नेता निर्वाचित भएको हिसाबले खनाललाई पनि त्यति असहज नहुने तर्क गर्न सकिन्छ । 

यस्तै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा सत्तारूढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की मानुषी यमी भट्टराई मैदानमा छिन् । मतदाताले जिताउनेमा विश्वस्त रहेको दाबी गर्ने मानुषीका एजेन्डा नेपालीले नेपालमै सम्मानजनक काम गर्न पाउने वातावरण सृजना गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्नेलगायत छन् ।

सोही क्षेत्रबाट स्वतन्त्र उठेका नेकपा एमालेका नेता रामवीर मानन्धरले देशको संस्कार र संस्कृतिलाई व्यवस्थापन गर्न आफू मैदानमा आएको बताएका छन् । २०७४ को निर्वाचनमा मानन्धर सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । पार्टीले उम्मेदवार नबनाएको र उनको क्षेत्रमा नयाँ अनुहारका रूपमा मानुषी आएकाले मानन्धरलाई पनि साख जोगाउन मुश्किल छ ।

नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठ २०७४ को निर्वाचनमा एमाले उम्मेदवारका रूपमा काठमाडौं–८ बाट निर्वाचित भएका थिए । त्यतिबेला उनी वाम गठबन्धनको साझा उम्मेदवार थिए । नेपाली कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशीलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भए पनि उनलाई अहिले पुरानो साख र विरासत जोगाउन मुश्किल छ । 

यस क्षेत्रमा अभियन्ता सुमन सायमीले पनि उम्मेदवारी दिएका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरमा पराजित सायमीले १३ हजार ७७० भोट ल्याएका थिए । उनको उम्मेदवारी श्रेष्ठलाई भारी पर्ने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)