सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल फेसबुक इंकको मातृ कम्पनी मेटाले यही हप्तादेखि व्यापक कर्मचारी कटौती गर्दैछ । वाल स्ट्रिट जर्नलले यस मामिलाबारे जानकार स्रोतलाई उद्धृत गर्दै आइतवार छापिएको समाचारलाई पत्याउने हो भने कम्पनीले छिटोमा बुधवारसम्ममा कर्मचारी कटौतीको घोषणा गर्नेछ । यस खबरबारे समाचार संस्था रोयटर्सले सोध्दा कम्पनीले कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।
फेसबुकको मातृ कम्पनीले अक्टोबरमै सार्वजनिक बिदाहरूले भरिएको भएपनि त्रैमासिक आम्दानी कमजोर रहने र आगामी वर्ष लागतमा उच्च वृद्धि हुने प्रक्षेपण गरेपछि कम्पनीको बजार पूँजीकरण ६७ अर्ब डलर गुमेको थियो । यो वर्षको अहिलेसम्मको अवधिमै कम्पनीले ५ खर्ब डलरले बढी गुमाइसकेको थियो ।
विश्वव्यापी आर्थिक वृद्धिदर सुस्त रहेको अनि चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकबाट चर्को प्रतिस्पर्धा, एप्पलले आफ्नो गोपनीयतासम्बन्धी नियममा गरेको हेरफेर, मेटाभर्समा भिमकाय खर्च र नियमन कसिलो हुने सधैंको चिन्ता आदिका कारण कम्पनीको आर्थिक परिदृश्य निराशाजनक रहँदै आएको छ ।
मेटाभर्समा कम्पनीको लगानीको प्रतिफल चाख्न कम्तीमा पनि एक दशक लाग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले भन्दै आएका छन् । आम्दानी पनि घट्दै गइरहेको अनि खर्च उच्च भएको समयमा सकेको ठाउँमा खर्च घटाउनु पर्ने बाध्यता अहिले कम्पनीलाई छ ।
यस्तोमा कम्पनीसँग कर्मचारी भर्ती बन्द गर्ने वा भएका कर्मचारीहरू निकाल्ने, परियोजनाहरू बन्द वा स्थगित गर्ने र टिममा व्यापक हेरफेर गर्नु पर्ने अवस्था छ । कम्पनीले आगामी वर्ष उच्च वृद्धिको सम्भावना भएका केही क्षेत्रमा लगानी केन्द्रीकृत गर्न गइरहेको छ ।
यस्तोमा केही समूहको आकार बढ्ने भएकोले अन्य केही अहिलेकै अवस्थामा रहने वा खुम्चिन सक्ने अक्टोबरमा त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा जुकरबर्गले भनेका थिए । आगामी वर्षको अन्त्यतिर कम्पनीको आकार अहिलेको जत्तिकै वा योभन्दा पनि सानो हुन सक्ने उनले भनेका थिए ।
कम्पनीले जुनमा भने इञ्जिनियरहरू भर्ना योजना कम्तीमा ३० प्रतिशत कम गर्ने बताएको थियो । कम्पनीले कर्मचारी वा पूँजीगत लगानी कटौती गरेरै भएपनि सुव्यवस्थित बनाउनु पर्ने कम्पनीको शेयरधनीले जुकरबर्गलाई लेखेको खुलापत्रमा भनेका थिए ।
दशकौंयताको उच्च स्तरमा उक्लिएको महँगी नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक फेडरल रिभर्ज, बेलायती केन्द्रीय बैंक बैंक अफ इंगल्यान्ड, यूरोपेली केन्द्रीय बैंक (ईसीबी) समेतका कयौं प्रमुख केन्द्रीय बैंकहरूले आक्रामकरूपमा ब्याजदर बढाइरहेका छन् ।
हालैका महीनामा ब्याजदर वृद्धि, बढ्दो महँगी र यूरोपमा ऊर्जा संकटका कारण विश्व अर्थतन्त्र सुस्ताइरहेको र मन्दीमै जाने जोखिम बढिरहँदा माइक्रोसप्ट, ट्विटर र स्न्याप इंक जस्ता ठूला बहुराष्ट्रिय प्रविधि कम्पनीहरूले धमाधम कर्मचारी कटौती वा नयाँ कर्मचारी भर्ती स्थगित गरिरहेका छन् ।
ट्विटरले शुक्रवार मात्रै आधा कर्मचारीलाई निकालेको थियो । तर, हतारमा बिना योजना गरिएको कर्मचारी कटौतीमा कम्पनीलाई चाहिने केही कर्मचारी पनि निकालिएपछि अहिले कम्पनीले केही दर्जन कर्मचारीहरूलाई काममा फर्किन अनुरोध गरिरहेको समाचारहरू आइरहेका छन् । एजेन्सी