ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थ हाँकेका नेता मतदाता रिझाउन घरदैलोमा, आर्थिक रूपान्तरणदेखि कर चुहावट राेक्नेसम्मका प्रतिबद्धता

२०७९ कात्तिक, २२  
समाचार निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । विकास र समृद्धिका नारा लिएर चुनावी मैदानमा उत्रिएका वर्तमान र पूर्वअर्थमन्त्रीहरूले आफ्नो अभियानलाई तीव्र पारेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बहालवाला अर्थमन्त्री जनार्दन शर्मासहित पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, विष्णुप्रसाद पौडेल, वर्षमान पुन र ज्ञानेन्द्रबहादुर कार्की फरकफरक क्षेत्रबाट प्रतिस्पर्धा गर्दै छन् ।

निर्वाचन क्षेत्रमा घरदैलो अभियानमार्फत मतदाता रिझाउन उनीहरूलाई भ्याइनभ्याई छ । अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमका मतदाताको घरघरमा पुगेर मत मागिरेहका छन् । चितवन–१ बाट चुनाव लडेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको दैनिकी पनि हरेक दिन मतदाताको घरदैलोमा पुग्नु नै बनेको छ । अर्थ मन्त्रालय हाँकिसकेका पौडेल, पुन र कार्की पनि आआफ्नो निर्वाचन क्षेत्रमा व्यस्त छन् । 

चुनावअघि नेताहरूले वाचा गर्ने तथा जितेपछि प्रतिबद्धता भुल्ने आरोप लागिरहेका बेला अर्थमन्त्री बनिसकेकाहरूले पनि मतदाता रिझाउन अनेक प्रतिबद्धता र आश्वासनको सहारा लिएका छन् । अर्थमन्त्री शर्माले चुनाव जिते लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद निर्माण गर्ने, आर्थिक रूपान्तरण र जनताको समृद्धिको कार्यभार पूरा गर्ने, उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थापनमा सुधार, महँगी नियन्त्रण र भ्रष्टाचारको छानविन, औद्योगिकीकरणलाई उच्च प्राथमिकता, कर चुहावट रोक्नेजस्ता प्रतिबद्धता मतदातासामु व्यक्त छन् । 

रूपन्देही–२ को चुनावी मैदानमा रहेका पूर्वअर्थमन्त्री विष्णु पौडेलले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाएर समृद्धितर्फको यात्रालाई अगाडि बनाउने, अधुरा आयोजना पूरा गर्दै नयाँ आयोजना शुरू गर्ने, शिक्षा–स्वास्थ्य–रोजगारीको क्षेत्रमा उल्लेखनीय काम गर्ने वाचा गरेका छन् । 

पूर्वअर्थमन्त्री पाण्डेले औद्योगिकीकरण गरी रोजगारी सृजना गर्ने, मास्टर परियोजना चितवनको शक्तिखोर–मझिमटार सुरुङ निर्माण अघि बढाउने, सौराहामा अन्तरराष्ट्रिय स्तरको सभाहल निर्माण सम्पन्न गराई सञ्चालनमा ल्याउनेजस्ता योजना अघि सारेका छन् । अर्का पूर्वअर्थमन्त्री वर्षमान पुन रोल्पामा प्रतिस्पर्धा गर्दै छन् । उनले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नेदेखि शिक्षा, खानेपानी, स्वास्थ्य क्षेत्रमा सुधार गर्ने, कृषिक्षेत्रको आधुनिकीकरण गर्दै रोजगारी सृजना गर्नेलगायत आश्वासन मतदातासामु बाँडेका छन् ।

हालका सञ्चारमन्त्री एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४ मा प्रतिस्पर्धा गरिरहेका छन् । उनले मतदातासामु स्वास्थ्य, शिक्षाक्षेत्रमा सुधार गरी गरीबी र बेरोजगारी हटाउने, समृद्ध क्षेत्रका रूपमा सुनसरी ४ लाई विकास गर्नेजस्ता प्रतिबद्धता बाँडेका छन् । 

पूर्वअर्थमन्त्रीहरूलाई चुनाव जित्न त्यति सहज भने छैन । कतै नयाँ अनुहारले टक्कर दिएका छन् त कतै विगतमा गरेका प्रतिबद्धता पूरा नगर्दा आफ्नो किल्ला जोगाउनै मुश्किल परिरहेको छ ।

त्यसैमध्येको एक चितवन–१ हो । त्यहाँ पाण्डेलाई टक्कर दिन राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएर विश्वनाथ पौडेल मैदानमा उत्रिएका छन् । उनले पाण्डेसँग भन्दा आफूसँग विकासको मोडल भएको भन्दै मतदाता रिझाउन खोजेका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)