वीरगञ्ज । पर्सा–३ (२) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी डा. मधु गुप्ता कुर्मीले बुधवार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेकी छन् । उनले वीरगञ्जमा पत्रकार सम्मेलन गरेर सो निर्वाचन क्षेत्रलक्षित प्रतिबद्धता सार्वजनिक गरेकी हुन् ।
नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको संयुक्त उम्मेदवार गुप्ताले आफ्नो प्रतिबद्धताको पहिलो बुँदामा अधिकार आन्दोलनका शहिद तथा घाइतेप्रति उच्च सम्मान र उनीहरूका परिवारका लागि शिक्षा, रोजगारी र जीवनयापनको योजना ल्याइने उल्लेख गरेकी छन् ।
सुशासन प्रत्याभूतिलाई शासनको मुख्य आधार बनाउने र त्यसका लागि आवश्यक नीति तथा नियम निर्माणमा सक्रिय रहने प्रतिबद्धतामा उल्लेख छ । सुशासनका लागि पारदर्शितामा आधारित योजनाको प्रवद्र्धन, विकास निर्माणका योजनामा स्थानीय सहभागिता र सार्वजनिक सेवालाई सहज र प्रभावकारी बनाइने उनको प्रतिबद्धता छ ।
‘पर्साका बासिन्दालाई सार्वजनिक सेवामा सहजताका लागि पर्साको पोखरियामा जिल्ला प्रशासन र मालपोत कार्यालयको सेवा केन्द्र खोलिने छ । शिक्षालाई समृद्धिको सूत्राधार मानिएको प्रतिबद्धतामा शिक्षामा सबैको समान पहुँच र अधिकारको प्रत्याभूति गर्ने योजना छ,’ उनले भनिन् ।
शिक्षाको अवसरमा छोरीको समान सहभागिताको लागि छात्रामैत्री शैक्षिक प्रणालीको व्यवस्था मिलाइने र कन्या विद्यालयको स्थापना गरिने प्रतिवद्धता डा. गुप्ताले गरेकी छन् ।
‘सामुदायिक विद्यालयको स्तरोन्नति, दरबन्दीअनुसार शिक्षक तथा कर्मचारी आपूर्ति गरिने र उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षाको नीतिगत प्रबन्ध मिलाइने छ । उच्च शिक्षा अध्ययनका लागि पूर्वाधार तयार हुनेछ,’ प्रतिबद्धतामा उल्लेख छ ।
व्यवस्थित सहरीकरणका लागि ग्रामीण क्षेत्रलाई शहरी पूर्वाधारयुक्त बनाउँदै वस्ती विकासको व्यवस्थित योजना कार्यान्वयनमा ल्याइने भएको छ । नमूना शहरको योजना कार्यान्वयन, सूचना र प्रविधिको प्रवद्र्धन, गुणस्तरीय विद्युत्, सञ्चार र प्रविधिको विस्तारलगायतका पक्षलाई पनि समेटिएको छ ।
सडक सञ्जालको विस्तार तथा स्तरोन्नति र यसका लागि पर्याप्त बजेटको व्यवस्था गरिने भनिएको छ । पर्साको बहुअर्वादेखि पोखरियासम्म चार लेन सडक निर्माणलाई प्राथमिकतामा राखिने भएको छ ।
सार्वजनिक यातायातलाई सहज र सुलभ बनाउने नीतिका लागि पहल र सडक पूर्वाधार विस्तारका लागि सरोकारका पक्षसित प्रभावकारी समन्वय र नीति नियमका लागि सशक्त पैरवी गरिने विषयलाई पनि प्रतिबद्धतामा समेटिएको छ ।
कृषिलाई आयको आधारको रूपमा अघि सारिएको छ । आधुनिक कृषिका लागि मलखाद, बीउ र सिँचाई, कृषिको व्यावसायीकरण, कृषकलाई परम्परागत खेतीको सट्टा बढी नाफामूलक खेतीमा प्रोत्साहन, ग्रामीण क्षेत्रलाई तरकारी र दूग्ध उत्पादनको केन्द्र बनाइने, अत्याधुनिक चिस्यान केन्द्र सञ्चालनजस्ता एजेण्डा पनि चुनावी प्रतिबद्धतामा समेटिएका छन् ।
प्रतिबद्धतामा स्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राखिएको छ । पोखरिया अस्पतालको स्तरोन्नति गरी उपक्षेत्रीय अस्पतालमा रूपान्तरण गरिने, उपस्वास्थ्य चौकीमा दरबन्दी अनुसार जनशक्ति र औषधी उपलब्धता, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा सहुलियतलाई स्वास्थ्यका आधारको रूपमा अघि सारिएको छ । सहज र सुलभ स्वास्थ्यको ग्यारेन्टी गर्न स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने नीतिको प्रबन्ध गरिने भएको छ ।
सरसफाइ र ढल निकासको गुरुयोजना तयार पारी कार्यान्वयनमा ल्याइने र विपन्न परिवारलाई शौचालय निर्माणमा सहयोगको योजना ल्याउने प्रतिबद्धता गुप्ताले गरेकी छन् ।
महिलालाई उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउन नीति नियम बनाउने र भएका ऐन कानूनको प्रभावकारी कार्यान्वयनका लागि सशक्त पहललाई पनि प्राथमिकतामा राखिएको छ । विभिन्न खेलकुद प्रतियोगिता र पूर्वाधार निर्माणलाई पनि प्रतिवद्धताले प्राथमिकतामा राखेको छ ।
युवा, रोजगारी र खेलकुदतर्फ युवा जनशक्तिलाई सीपमूलक तालीम र रोजगारीको अवसर, उद्योग र व्यापारको प्रवद्र्धनमार्फत रोजगारी र आयको सृजना, रोजगारीमूलक उद्योगलाई प्रवर्द्धन गरिने भनिएको छ ।
भोजपुरी भाषाको प्रवद्र्धन नीति, क्षेत्रका मठ, मन्दिर र मस्जिदलाई व्यवस्थित तुल्याउनेदेखि पोखरीहरूलाई व्यवस्थित गरी पर्यटकीय स्थल बनाइने योजना राखिएको छ ।