ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिनिधिसभा निर्वाचन २०७९ : प्रधानमन्त्री बनेर देश हाँकेका पाँच जना मैदानमा

२०७९ कात्तिक, २४  
समाचार निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पाँच पूर्वप्रधानमन्त्री प्रतिस्पर्धा गर्दै छन् । पटकपटक सांसद, मन्त्री, प्रधानमन्त्री बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका वरिष्ठ नेता झलनाथ खनाल चुनावी मैदानमा छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिस्पर्धामा हुनुहुन्छ । देउवा २०४८ सालपछिका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आउनुभएको छ । आसन्न निर्वाचन उहाँको सातौं प्रतिस्पर्धा हुनेछ ।

देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ को निर्वाचनमा जित निकालेर रेकर्ड कायम गर्नुभएको छ । प्रधानमन्त्री देउवा सबैभन्दा कम मतान्तरले विजयी भएको २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा हो । तत्कालीन समयमा उहाँले माओवादीका उम्मेदवार खगराज भट्टलाई १ हजार ३६८ मतान्तरले पराजित गर्नुभएको थियो । २०७४ मा ६ हजार ९२९ मतान्तरले हराउनुभएको थियो । अन्य निर्वाचनमा मतान्तर बढी छ ।

यसपालि देउवाका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारदेखि कांग्रेस विपीका कर्ण मल्लसम्म छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापाबाट प्रतिस्पर्धामा छन् । लगातार सातौंपटक संसदीय चुनावमा प्रतिस्पर्धा गरिरहेका ओलीले झापाकेन्द्रित चुनावी घरदैलोलाई तीव्र पारेका छन् ।

२०४८ सालयता लगातार चुनाव लड्दै आएका ओलीले आगामी चुनावमा भारी मतका साथ जित प्राप्त गर्ने दाबी गरिरहेका छन् । ओलीले २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा तत्कालीन झापा क्षेत्र नं. ६ बाट चुनाव लडेका थिए । उक्त तीनओटै निर्वाचनमा ओली निर्वाचित भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा ओली पराजित भए । त्यसबेला उक्त क्षेत्र झापा ७ थियो । उक्त निर्वाचनमा माओवादी केन्द्रका विश्वदीप लिङ्देन निर्वाचित भएका थिए । त्यसबेला लिङ्देनले १६ हजार ९९ र पराजित ओलीले १४ हजार ९ सय ५९ मत पाएका थिए ।

यसपटक पनि झापा ५ मा एमालेबाट ओली र गठबन्धनबाट कांग्रेसका खगेन्द्र अधिकारीबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । ओलीले वर्तमान राजनीतिक अन्योल अन्त्य गर्न आफू चुनावी मैदानमा रहेको बताउँदै जिताउन अपील गरिरहेका छन् । उनले जिल्लाको विकासका लागि आफूले जति कसैले नगरेको दाबी गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न पनि आफूले जित्नुपर्ने चुनावी सभामा बताउँदै आएका छन् । 

यस्तै, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल अहिले गोरखा २ मा प्रतिस्पर्धा गर्दै छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पटकपटक चुनाव जितेको क्षेत्रमा पुगेका दाहालले प्रतिगमनविरुद्ध लड्न आफूहरू सफल भएको भन्दै अब संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि आफूलाई जिताउन मतदातासमक्ष आग्रह गरेका छन् । उनले समाजवादउन्मुख समृद्धि अबको आवश्यकता भएको भन्दै गोरखाको विकासका लागि जनताले जिताउनुपर्ने बताउँदै आएका छन् । यसअघिको प्रतिनिधिसभा निर्वाचनमा दाहाल चितवनको क्षेत्र नं ३ बाट ४८ हजार २७६ मतका साथ निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका नेता विक्रम पाण्डे करीब ९ हजार मतअन्तरले पराजित भएका थिए । 

अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेकपा (एमाले) विभाजनपछि प्रदेश र प्रतिनिधिसभा चुनावमा नेकपा (एकीकृत समाजवादी)को कमान्डर बनेर होमिएका छन् ।रौतहटमा प्रतिस्पर्धा गरिरहेका नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरे पनि परिस्थितिले टाढिन नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने बताउँदै आएका छन् । 

नेपालसँग हारजित दुवैको अनुभव छ । पहिलो संविधानसभा निर्वाचनमा रोल्पाका माओवादी नेता झक्कुप्रसाद सुवेदीले काठमाडौं क्षेत्र नम्बर २ मा एमालेका तत्कालीन पार्टी प्रमुख नेपाललाई पराजित गरेका थिए । 

लामो समय रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार हुन पाउने भएपछि २०७४ मा काठमाडौं–२ रोजेका थिए । 

स्थानीय तह निर्वाचन २०७९ को परिणामले पनि रौतहट–१ मा एकीकृत समाजवादी बलियो देखिएकाले उनी त्यतै लागेका हुन् । राजनीतिक स्थायित्व, विकास र समृृद्धिका लागि आफू चुनावी मैदानमा आएको उनले घरदैलोका क्रममा बताइरहेका छन् ।

अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम क्षेत्र नं १ को चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग हुँदै छ । २०४८ यताका ६ संसदीय निर्वाचनमा टिकिरहेका खनालका लागि यो चुनाव फरक तर चुनौतीपूर्ण हुनेछ । २०७४ सम्मका हरेक संसदीय निर्वाचनमा एमालेबाट प्रतिस्पर्धा गरेका उनले पाँच जित र एक हार बेहोरेको इतिहास छ ।

यसपटक भने उनी एकीकृत समाजवादीका तर्फबाट कलम चिह्न लिएर चुनावी मैदानमा छन् । उनले पनि राजनीतिक स्थायित्व र विकासका लागि आफूले जित्नुपर्ने बताउँदै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)