ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लामो समय शेयर कारोबार रोकिने समस्या हट्यो, अब एकीकृत काराेबारकाे बढीमा १५ दिन रोक्का

२०७९ कात्तिक, २५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य भएको छ । नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गतेदेखि संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेसँगै दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर कारोबार लामो समय रोक्का हुने समस्याको अन्त्य भएको हो । 

हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि ३४ कम्पनीको शेयर कारोबार रोक्का छ । निर्देशिका लागू भएसँगै यी कम्पनीहरूको आधारभूत शेयरधनीबाहेकको शेयर कारोबार फुकुवा हुनेछ । बोर्डले निर्देशिका प्रारम्भ हुनुअघि मर्जर तथा प्राप्ति प्रयोजनका लागि रोक्का रहेका कम्पनीको आधारभूत शेयरधनीबाहेक अन्य शेयरको कारोबार फुकुवा हुनुपर्ने व्यवस्था गरेको हो । 

नयाँ व्यवस्थाबमोजिम आधारभूत शेयरधनीबाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्न विवरणसहित धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) र केन्द्रीय निक्षेप सेवाप्रदायक संस्था (सीडीएससी) समक्ष निवेदन पेश गर्नुपर्नेछ । सम्बद्ध कम्पनीको निवेदनको आधारमा नेप्से र सीडीएससीले आधारभूत शेयरधनीबाहेकको शेयर कारोबार तत्काल खोल्ने व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको सम्पत्ति लामो समय बन्धक नबनाउने उद्देश्यसहित लामो समयको प्रयासपछि निर्देशिका लागू गर्न सफल भएको बताए । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रका कम्पनीको शेयर कारोबार रोक्काका सम्बन्धमा बोर्डलाई नै अधिकार सुम्पिएपछि धितोपत्र बजारमा अन्य क्षेत्रका कम्पनी पनि सूचीकृत रहेकाले सबै क्षेत्रका कम्पनीको नियामकसँग छलफल गरी निर्देशिका लागू गरिएको उनले जानकारी दिए ।

नयाँ व्यवस्थाअनुसार अब मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गरेपछि बढीमा १५ दिनमात्र शेयर कारोबार रोक्का हुने हमालले जानकारी दिए । एकीकृत कारोबार भएको मितिदेखि गाभ्ने संस्था वा प्राप्त गर्ने संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरणजस्ता कामका लागि बढीमा १५ कार्यदिन शेयर कारोबार रोक्का राख्ने व्यवस्था गरेको हमालको भनाइ छ ।

अब सम्झौता गरेको ६ महीनाभित्र मर्जर तथा प्राप्ति प्रक्रिया सम्पन्न गरिसक्नुपर्ने पनि उनले जानकारी दिए । तोकिएको अवधिमा मर्जर तथा प्राप्ति कार्य सम्पन्न नगरे संगठित संस्थाको सञ्चालक समिति जवाफदेही हुनुपर्नेछ । मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गर्ने ६ महीनाको अवधि निर्देशिका कार्यान्वयन हुनुपूर्व प्रक्रियामा रहेका कम्पनीको हकमा भने लागू नहुने हमालले स्पष्ट पारे । 

हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि सबैभन्दा धेरै बीमाक्षेत्रका कम्पनीको शेयर कारोबार रोक्का छ । १६ बीमा कम्पनी, ८ वाणिज्य बैंक र १० लघुवित्त कम्पनीको शेयर कारोबार मर्जर प्रयोजनका लागि रोक्का रहेको हो ।

समाज लघुवित्त, घोडीघोडा लघुवित्त र नाडेप लघुवित्तको शेयर कारोबार २०७७ सालदेखि नै रोक्का छ । हालसम्म मर्जर तथा प्राप्तिको प्रक्रिया पूरा गरिसक्नुपर्ने अवधि सम्बन्धमा स्पष्ट व्यवस्था नहुँदा कम्पनीहरूले लामो समय लगाउँदै आएका छन् । नयाँ व्यवस्थाले यी कम्पनीलाई पनि समयमै प्रक्रिया पूरा गर्न दबाब परेको छ ।

नेप्सेले हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि रोक्का रहेका कम्पनीहरूको शेयर कारोबार सम्बद्ध कम्पनीको निवेदन प्राप्त भएपछि खुला गर्ने जानकारी दिएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले निर्देशिकामा भएको व्यवस्थाबमोजिम सम्बद्ध कम्पनीको निवेदन प्राप्त भएपछि कारोबार खुला गर्ने बताए । ती कम्पनीको शेयर कारोबार अहिले खुला भएपछि निर्देशिकामा भएको व्यवस्थाबमोजिम एकीकृत कारोबारपछि भने पुनः रोक्का हुनेछ । सम्बद्ध कम्पनीले एकीकृत व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरेपछि त्यसको मिति निर्धारण गरी नेपाल धितोपत्र बोर्ड, नेप्से र सीडीएससीलाई जानकारी दिनुपर्नेछ । साथै एकीकृत कारोबारको मितिदेखि बढीमा १५ कार्यदिनसम्म शेयर कारोबार रोक्का राख्नसमेत सम्बद्ध कम्पनीले नेप्सेलाई निवेदन दिनुपर्ने व्यवस्था बोर्डले गरेको छ ।

यसअघि मर्जर तथा प्राप्ति सम्झौता गरेसँगै रोकिएको शेयर कारोबार एकीकृत कारोबारपछि शेयर स्वामित्व मिलान गरेर कायम हुन आएको शेयर सूचीकरण गरेपछि मात्र खुला हुने गरेको थियो । पहिलाको यो व्यवस्थाका कारण कात्तिक ७ गते नै एकीकृत कारोबार शुरू गरिसकेका सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको शेयर किनबेच अझै खुलेको छैन । कम्पनीहरूले नियामक निकायको स्वीकृतिपछि नेप्सेमा सूचीकरण गर्ने भएकाले हालसम्म यी कम्पनी सूचीकरणमा नआएको नेप्सेले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)