ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गोरखासँग प्रचण्डको ४६ वर्ष पुरानो भावनात्मक सम्बन्ध,यी हुन् प्रचण्डले गोरखा रोज्नुका ३ कारण

२०७९ कात्तिक, ३०  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा निर्वाचन लडेसँगै चुनाबी सरगर्मी ह्वात्तै बढेको छ । 

केन्द्रीय राजनीतिमा दवदबा रहेका प्रचण्ड गठबन्धनकातर्फबाट गोरखा क्षेत्रनं.२ बाट साझा उम्मेदवार बनेसँगै गोरखामा चुनाबी माहोल तातिएको हो ।

केन्द्रीय राजनीतिको शीर्ष तहमा रहेका अध्यक्ष प्रचण्ड पहिले चितवनबाट निर्वाचन लड्ने बताएपनि उम्मेदवारी मनोनयनको अन्तिमचरणमा माओवादीको प्रभाब क्षेत्रकारुपमा चिनिएको गोरखाबाट चुनाब लड्ने निर्णयसँगै चुनाबी माहोल तातिएको हो । 

प्रतिनिधिसभाको दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको गोरखामा प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट कांग्रेसका राजेन्द्र बजगाईंलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी क्षेत्रनं.२ मा पूर्व प्रधानमन्त्री समेत भएका माओवादी केन्द्रका अध्यक्ष दाहाल गठबन्धनका साझा उम्मेदवार बनेका छन । त्यस्तै एमालेले गोरखा क्षेत्रनं १ मा रामशरण बस्नेत र दुईमा अब्दुस मियाँलाइ उम्मेदवार बनाएको छ ।

राष्ट्रिय राजनीतिका सशक्त खेलाडी एवं भावी प्रधानमन्त्रीका दाबेदार ‘हेभीवेट’ उम्मेदवार प्रचण्ड गोरखामा चुनाब लड्न आएपछि स्थानिय मतदाता उत्साहित देखिएका छन । प्रचण्डको गोरखा आगमनले मित्रराष्ट्र चीनसँग सीमा फैलिएको गोरखाको भौतिक विकासले तीव्रता पाउने अपेक्षाले स्थानियमा उत्साह बढाएको हो । 

जनयुद्धकालमा गोरखामै बसेर थुप्रै योजना बनाएका प्रचण्डको गोखरासँग भावनात्मक सम्बन्ध समेत छ ।

झण्डै साढे चार दशक अघि प्रचण्डले गोरखामा अध्यायापन गरेका थिए । उनले जागिरको दौरानमा २०३३ देखि २०३६ सम्म गोरखा आरुघाटको भिमोदय माविमा अध्यापन गरेका थिए ।

त्यसबेला देखि नै प्रचण्ड र गोरखाको सम्बन्ध जोडिएको हो । पछि प्रचण्डले माओवादी सशस्त्र क्रान्ति थाल्ने संकल्प पनि गोरखामा सम्पन्न बैठकबाटै गरेका थिए ।

२०५१ साल फागुनमा गोरखाको धुवाकोटमा प्रचण्डको अध्यक्षतामा बसेको तत्कालीन माओवादीको तेस्रो विस्तारित बैठकले जनयुद्धको थालनी गर्ने निर्णय गरेको थियो ।

गोरखामा सम्पन्न बैठकको निर्णय अनुसार माओवादीले २०५२ साल फागुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको प्रहरी चौकी, सिन्धुलीमाढी प्रहरी चौकी र गोरखामा रहेको कृषि विकास बैंकमा एकै पटक भौतिक आक्रमण गरेर जनयुद्धको थालनी गरेको थियो ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी, लेवाडेमा जन्मेर बुबासंगै चितवन झरेका प्रचण्ड पछिल्लो पटक सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा गोरखा पुगेको आरोप लागेको छ ।

केन्द्रमा सत्तारुढ दलबीच गठबन्धन बने पनि प्रचण्ड चुनाब लड्दै आएको चितवन–२ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला र जगन्नाथ पौडेलले स्वतन्त्रबाट उमेदवारी दर्ता गरेसँगै उनी चुनाब जित्न सुरक्षित एरिया गोरखा आएको आरोप लागि रहेको छ ।

तर, उनी जनयुद्धको उद्गमस्थत गोरखासँग आफ्नोे भावनात्मक सम्बन्ध भएकाले चुनाब लड्न गोरखा रोजेको बताउँछन ।

चुनाबी चर्चाको शिखरमा रहेको गोरखा २ मा प्रचण्डसहित ११ जना चुनाबी मैदानमा छन् ।

उनका प्रमुख प्रतिस्पर्धीका रुपमा केही समय पहिले एमाले प्रवेश गरेका २९ वर्षीय अब्दुस सलाम मियाँ उमेदवार रहेका छन । त्यसैगरी नेपाली कांग्रेस बीपीका सय वर्षीय टीकादत्त पोखरेलसम्म चुनाबी मैदानमा उत्रिएका छन । युवादेखि वृद्धसम्मका उम्मेदवार प्रचण्डको क्षेत्रमा भएकाले चुनाबी माहौललाई थप रोचक बनाएको छ ।

माओवादीले बिगतका संसदिय निर्वाचनमा समेत निरन्तर भारी मतान्तरले चुनाब जित्दै आएका र गत स्थानिय तहको निर्वाचनमा पनि उसले धेरै मतात्नरले जित हासिल गरेकाले प्रचण्डविरुद्ध उठेकाहरूको उम्मेदवारीले उनलाई खासै फरक नपर्ने आकलन गरिएको छ ।

बिगतमा समेत यस क्षेत्रमा माओदावीले लगातार ठूलो मतान्तरले निर्वाचन जित्दै आएकाले पनि यस क्षेत्रमा प्रचण्डले चुनाब जित्न सहज देखिन्छ । तर, उनी अहिले चुनाब जित्ने भन्दा पनि मतान्तरमा ‘रेकर्ड ब्रेक’ गर्ने योजनामा छन ।

उनले घरदैलो र चुनाबी अभियानका क्रममा पनि गोरखा माओवादीको उर्भरभूमि रहेकाले चुनाब जित्न भन्दा पनि रेकर्ड ब्रेक गर्न चाहेको बताउँदै मत मागि रहेका छन ।

माओवादीको गढ मानिने गोरखामा प्रचण्डलाई पाँच दलीय गठबन्धनको पनि साथ छ । त्यसैले यो क्षेत्रमा प्रचण्डलाई चुनाबमा सहज हुने देखिन्छ । 

पहिले कांग्रेसको, अहिले माओवादीको प्रभाव क्षेत्र

गोरखाको यो क्षेत्र माओवादी शान्तिप्रक्रियामा आउनु अघि कांग्रेको पकड क्षेत्रको रुपमा चिनिन्थ्यो । त्यस क्षेत्रबाट २०४८ सालमा कांग्रेसका मैयादेवी श्रेष्ठले चुनाब जितेकी थिइन । त्यसैगरी २०५१ र २०५६ को चुनाबमा कमला पन्तले लगातार निर्वाचन जितेकी थिइन् । 

माओवादी शान्ति प्रक्रियामा आएपछि भने यो क्षेत्रबाट डा.बाबुराम भट्टराईले दुई पटक र हितराज पाण्डेले एक पटक चुनाब जितेका छन । माओवादीका तर्फबाट यस क्षेत्रमा २०६४ मा बाबुराम भट्टराई निर्वाचित भएका थिए । ०७० भट्टराई क्षेत्रनं १ बाट उमेदवार बनेपछि माओवादीकै हितराज पाण्डेले चुनाब जितेका थिए । ०७४ को निर्वाचनमा फेरी भट्टराई त्यही क्षेत्रबाट कांग्रेसको समर्थनमा नेकपा समाजवादी पार्टीबाट चुनाब लडेर बिजयी भएका थिए । उनले बामगठबन्धनका तर्फबाट उमेदवार बनेका माओवादीका नारायण काजी श्रेष्ठलाइ पराजित गरेका थिए ।

भावी प्रधानमन्त्रीको रुपमा हेरिएका प्रचण्डको गोरखा आगमनले उत्साहित गोरखाली जनतालाई माओवादी, कांग्रेस र बिगतमा निरन्तर चुनाब जित्दै आएका बाबुराम भट्टराईको साथले थप उर्जा थपेको देखिन्छ ।

‘हेबीवेट’सँग भिड्दै वृद्ध र युवा
त्यसैगरी ‘हेबीवेट’ उमेदवार प्रचण्डकाबिरुद्ध एमालले २९ बर्षिय युवा अब्दुस मियाँलाइ उमेदवार बनाएको छ । उनी एमाले र संसदिय राजनीतिमा नयाँ अनुहार हुन । उनी पाँच बर्षदेखि तत्कालिन विवेकशित साझा पार्टीमा आबद्ध थिए ।

एमालेका उम्मेदवार मियाँ गत असोज ६ गते एमाले प्रवेश गरेका थिए । उनी विवेकशील साझा पार्टी छोडेर एमालेमा प्रवेश गरेका युवा हुन् । मियाँले काठमाडौँ–६ बाट स्वतन्त्र उम्मेदवारी दिने योजना बनाएका थिए । तर, अन्तिममा आएर उनी एमाले प्रवेश गरेपछि गोरखाबाट टिकट पाएका हुन् । मियाँ लामो राजनीति पृष्ठभूमि नभएका र सक्रिय संसदिय राजनीतिमा समेत अभ्यास नभएका कोरा उमेदवार हुन् ।

निर्वाचनमा चुनाब जित्नका लागि अपनाइने तिकडमको समेत ज्ञान नभएका उनलाइ एमालेले प्रचण्डबिरुद्ध उमेदवार बनाएर चुनाबी मैदानमा उतारेको छ । तर, उनले राजनीतिमा विभिन्न योजना र शक्तिको तिकडम गर्न माहिर प्रचण्डको कसरी सामना गर्छन, त्यो भने हेर्न बाँकी नै छ ।

पछिल्लो समय राजनीतिमा नै विस्तृणा जागेर जनतामा उस्साह हराएको बेला प्रचण्डसँग चुनाबी प्रतिस्पर्धाका लागि एमालेले राजनीतिमा परिपक्क भइनसकेको युवालाई उम्मेदवार उठाएको भन्ने चर्चा परिचर्चा समेत हुँदै आएको छ ।

राजनीतिमा पटक पटक एउटै व्यक्ति दोहोरिँदासमेत जनताका सामान्य समस्याहरूको समाधानमा चासो नदेखाउने टेष्टेड नेतालाई आमनागरिकले भोट नदिने मियाँ बताउँछन । 

यस्तै कांग्रेस बीपीबाट उठेका पोखरेल लामो समय कांग्रेसमा सक्रिय भई काम गरेका व्यक्ति हुन् । तर, गोखराको उक्त क्षेत्रमा बीपी कांग्रेसको राम्रो संगठन नभएका कारण पनि उनले चुनाब जित्न सक्ने सम्भावना कम छ ।

पोखरेल नेपाली कांग्रेसमा रहेर लामो समय सक्रिय सदस्य भई भूमिका निर्भाह गरेका थिए । केही वर्ष पहिले उनी गोरखामा बीपि कांग्रेस गठन भएसँगै त्यता लागेका थिए । उनले कांग्रेसमा रहँदा माथिल्लो तहमा रहेर काम गर्ने अवसर पाएका थिएनन । 

यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटी, नेपाल मजदुर किसान पार्टीका प्रल्हाद लामिछाने, राप्रपा नेपालका कुलबहादुर बस्नेत, नेपाली कांग्रेस बीपीबाट टिकादत्त पोखरेल, राप्रपाबाट सुशील पन्त, नेकपा मालेबाट नारायणबाबु आचार्य पनि उम्मेदवार छन् ।

हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा, मंगोलनेशनल अर्गनाईजेशनका सोमबहादुर गुरुङले उम्मेदवारी दिएका छन् । त्यस्तै स्वतन्त्रबाट बिनोद कुमार गुरुङ, गणेश देवकोटाले पनि उम्मेदवारी दिएका छन् । 

 
गोरखा २ मा विगतको अंकगणित 
२०७४ को निर्वाचनमा गोरखा २ बाट कांग्रेससंगको तालमेलमा तत्कालिन नयाँ शक्ति पार्टीका अध्यक्ष डा.भट्टराई बिजयी भएका थिए । उनले ३१ हजार आठ सय ७ मत पाएका थिए । उनका प्रतिस्पर्धी माओवादीका नारणकाजीले श्रेष्ठले २४ हजार नौ सय ३३ मत पाएका थिए ।

गोरखा नगरपालिकाका ७ वटा वडा, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका पर्ने यस क्षेत्रमा १ लाख पाँच हजार दुई सय ४० मतदाता रहेका छन् ।  

२०७४ को निर्वाचनमा ७० हजार आठ सय २६ मतदाता रहेकामा पछिल्लो पटक यस क्षेत्रमा झण्डै ४५ हजार मतदाता थपिएका छन । 

यो क्षेत्रमा गत स्थानिय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारले पाएको मतको तुलनमा एमालेका उम्मेदवारले पाएको मतान्तर धेरै देखिन्छ । स्थानिय निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारले गोरखाका २ अन्तरगत पर्ने पालिकामा करिब ५२ हजार मत पाएका थिए । तर, प्रमुख प्रतिस्पर्धी एमालेका उम्मेदवार करिब ७ हजार ९ सय मत पाएका थिए । गठबन्धनका भागमा एमालेको भन्दा साढे पैतालिस हजार मत देखिन्छ । 

यस क्षेत्रमा स्थानिय तह निर्वाचनमा माओवादी, कांग्रेस, एमाले, समाजवादी सहितका दलहरुले पाएको मत परिणाम हेर्दा माओवादी केन्द्र पहिलो दल हो । यस क्षेत्रका वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा माओवादीले २२ हजार २५० मत पाएको थियो ।

त्यसैगरी कांग्रेसले २१ हजार १३६ मत पाएको थियो । जसपाको मत ७ हजार ५०४ रहेको थियो । प्रमुख प्रतिस्पधी एमालेले ७ हजार ९ मत ल्याएको थियो । अहिले माओवादी, नेपाली काँग्रेस, बाबुराम भट्टराई नेतृत्वको नेसपा गठबन्धनमा छन् ।

गोरखा प्रतिनिधिसभा १
गोरखाको प्रतिनिधिसभा क्षेत्रनं १ मा गठबन्धनका तर्फबाट कांग्रेसका राजेन्द्र बजगाई र एमालेका रामशरण बस्नेतबीच प्रतिस्पर्धा हुदैछ । २०७४ को निर्वाचनमा गोरखा क्षेत्रनं १ को ‘ख’ को प्रदेशसभाको चुनाबमा प्रतिस्पर्धा गरेका बजगाई र बस्नेतबीच पुनः यसपटक पनि प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा हुन लागेको छ ।

यस क्षेत्रमा २०७४ को निर्वाचनमा एमालेका बस्नेतले माओवादीसंग तालमेल गरेर प्रदेशसभा निर्वाचन जितेका थिए । प्रतिस्पर्धी बजगाईलाइ उनले झण्डै तिन हजार मतान्तरले पराजित गरेका थिए । यस अघि गोरखा ‘ख’ बाट बिजयी भएपछि बस्नेत गण्डकी प्रदेसका भौतिक पूर्वाधार मन्त्री बनेका थिए । 

बजगाईं कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचन लडेका थिए । तर,उनी पराजय भोग्न बाध्य भए । यो क्षेत्रमा बजगाईं र बस्नेतसहित ८ उम्मेदवार छन् । मुख्य प्रतिस्पर्धा भने गठबन्धनका बजगाईं र एमालेका बस्नेतबीच हुने देखिन्छ ।

गोरखामा एमालेको तुलनामा कांग्रेस र माओवादीको संगठन बलियो छ । २०७४ को निर्वाचनमा एमालेले माओवादीसंग गठबन्धन गरेका कारण एमालेका बस्नेतले १६ हजार ६५६ मत पाएर बिजयी भएका थिए । उनका प्रतिस्पधी बजगाईंले १३ हजार १ मत पाएका थिए । तर, यसपटक संगठनात्मक रुपमा बलियो माओवादी,कांग्रेस, समाजवादी लगायतका दलको समर्थन भएका कारण बजगाईं चुनाब जित्नेमा आशावादी देखिन्छन । उनी विगत २७ वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध रहेका छन । ब्यवसायसंगै राजनीतिमा सक्रिय बजगाई ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का पूर्व महासचिव समेत हुन् । 

काठमाडौं बालुवाटारस्थित निर्माणाधिन ‘वर्णबास म्युजियम होटल’ सहित बजगाईको पर्यटन व्यवसायमा थुप्रै लगानी रहेको छ । टानको महासचिव हुँदा बजगाईले सगरमाथा आधार शिविरमा मन्त्रिपरिषद्को ऐतिहासिक बैठक सफल पार्नसमेत महत्वपूर्ण भूमिका खेलेका थिए ।

पर्यटन ब्यवसायमा लामोसमयदेखि सक्रिय उनले गोखराका उत्तरी हिमाली क्षेत्र लगायतका ठाउँबाट आकस्मिक हवाई उद्धारमा वर्षौंदेखि सहयोग पुर्‍याउँदै आएका छन । उनले बिकट बस्तीमा दुर्घटनामा परेका, सुत्केरी, बिरामी लगायतका हवाई उद्धारमा सहयोग समेत गर्दै आएका छन । उनी राजनीति, पर्यटनसहित सामाजिक क्षेत्रमा समेत सक्रिय रहदै आएका छन ।

बिगतमा बाम गठबन्धनसंग झिनोमतले प्रतिस्पर्धी बस्नेतसंग पराजय भएपनि अहिले यस क्षेत्रमा राम्रो प्रभाब भएका कांग्रेस,माओवादी र समाजवादी लगायतको गठबन्धन भएकाले यस पटकको चुनाब आफुले सहजै जित्ने दावी बजगाई गर्दछन । 

त्यसैगरी एमालले उमेदवार बनाएका बस्नेत यस अघिको निर्वाचनमा गोरखा–१ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि बस्नेत गण्डकी सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका थिए । केही समय पहिले उनै बस्तेतले गोरखामा सडक नै नभएको ठाउँमा पुल बनाएको भनेर चर्को आलोचना भएको थियो । उनी गण्डकीको भौतिक पूर्वाधार मन्त्री हुदा जिल्लामा विकास निर्माणका महत्वपूर्ण योजना पार्न समेत सफल भएका छन । 

बस्नेतको स्थानिय तहको जिम्मेवारी पूरा गर्दै संसदिय राजनीतिसम्म पुगेका व्यक्ति हुन् । उनी २०४९ र २०५४ मा तत्कालीन नारेश्वर गाविसको अध्यक्ष भएका थिए । त्यसैगरी उनी २०५५ मा पार्टीको जिल्ला सभापति बनेका थिए । त्यसैगरी बस्नेत २०५६ को आम निर्वाचनमा गोरखा १ बाट कांग्रेस नेता चिरञ्जीवी वाग्लेसँग चुनाब लडेका थिए । तर,उनी वाग्लेसँग पराजित भए । २०७० मा गारखा–१ बाट संविधानसभाको चुनाब लडेका बस्नेत तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । २०७४मा प्रदेशसभामा झरेर चुनाब लडेको बस्नेतले कांग्रेसका राजेन्द्र बजगाईलाइ पराजित गर्न सफल भएका थिए । अहिले पुनः उनै बस्नेत र बजगाई प्रतिनिधिसभाका गोरखा–१ बाट चुनाब लडिरहेका छन ।

गोरखा–१ को प्रतिनिधिसभाका लागि बजगाईं र बस्नेतसहित १० जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उदय प्रसाद भट्ट, मंगोल नेसलन अर्गनाइजेसनबाट देवबहादुर थापा, जनसमाजवादी पार्टीका उत्तरकुमार खड्का, नेपाल सुशासन पार्टीबाट मीनकुमार श्रेष्ठ, जनता समाजवादी पार्टीबाट रूपेश राना, नेपाल मजदुर किसान पार्टीबाट लीलाकुमारी बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुवर्ण रोकाया र स्वतन्त्रबाट विष्णु पुडासैनीले उमेदवारी दिएका छन् ।

यस्तो छ गोरखा–१ को अंकगणित
गत स्थानिय तह निर्वाचनमा वडाका उम्मेदवारले पाएको मतको आधारमा क्षेत्र नम्बर १ मा कांग्रेस पहिलो दल हो । यस क्षेत्रको मतका आधारमा कांग्रेस र माओवादीको मतसंख्या हाराहारीमा छ । दुइदलको तुलनामा एमालेको मत झण्डै ४५ प्रतिशत कम देखिन्छ । 

२०७४ को निर्वाचनमा एमालेले माओवादीसंग गठबन्धन गरेका कारण एमालेका बस्नेतले १६ हजार ६५६ मत पाएर बिजयी भएका थिए । उनका प्रतिस्पधी बजगाईंले १३ हजार १ मत पाएका थिए ।  बस्नेतले र बजगाइबीचको मतान्तर ३ हजार पाँच सय थियो । तर,यस पटक भने त्यस क्षेत्रमा संगठानात्मक हिसाले बलिया देखिएका कांग्रेस, माओवादी र नेपाल समाजवादी लगायतका दलबीच गठबन्धन भएकाले पनि उनीहरुको मत धेरै देखिन्छ । यस क्षेत्र गोरखा नगरपालिकाका सात वटा वडा, चुमनुव्री, धार्चे, आरुघाट, भीमसेन थापा, सहिद लखन र आरुघाट गाउँपालिका पर्दछन । 

गत स्थानिय तहको निर्वाचनमा गोरखा सहितका पालिकामा कांग्रेसको २७ हजार ८४, माओवादीको २५ हजार ७ सय ४२, तत्कालीन जनता समाजवादी पार्टीको २ हजार सात सय ५४ मत आएको थियो । अहिले गठबन्धनमा रहेको यी दलले स्थानिय तहमा पाएको मत जोड्दा साढे ५५ हजार देखिन्छ । तर, प्रतिस्पर्धी एमालेले यस क्षेत्रका पालिकाहरुमा स्थानियतहमा पाएको मत जम्मा १४ हजार ४ सय ५५ रहेको छ ।स्थानिय निर्वाचनमा गठबन्धनका दलले पाएको मत र प्रतिस्पर्धी पार्टी एमालेले पाएको मतको तुलना गर्दा ठूलो मतान्तर देखिन्छ ।

एमालेका बस्नेतले परिवर्तित अवस्थामा विगतलाई आधार बनाएर चुनाबी अंकगणित निकाल्न नमिल्ने बताउँछन । उनले आफू निर्वाचित भएपछि बिगतमा गोरखाको भौतिक विकासमा महत्वपूर्ण योगदान गरेका कारण जनताले निर्वाचनमा बिजयी गराउनेमा निश्चिन्त रहेका दाबी गर्छन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)