काठमाडौं । नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । ११ वर्षको अवधिमा मात्रै विश्व जनसंख्या १ अर्बले बढेको छ ।
संयुक्त राष्ट्र संघीय जनसंख्या कोषले मंगलवार पृथ्वीको जनसंख्या ८ अर्ब पुगेको बताएको छ । पृथ्विमा दिनँहु ३ लाख ८० हजार भन्दा धेरै शिशु जन्मिरहेका छन् । जनसंख्या बढिरहँदा पृथ्विले थेग्न सक्ने भन्दा धेरै जनसंख्या भएको हो कि भन्ने प्रश्न उत्पन्न भएको छ । अझ केहीले त यो प्रश्न नै गलत हो पनि भनेका छन् । तर, पृथ्विले कति जनसंख्या थेग्न सक्ला भन्ने प्रश्न गुर्न पर्ने बेला भएको केही विज्ञहरू बताउँछन् ।
जनसंख्या वृद्धिको विषयमा विज्ञहरूबीच मतभेद छ । केही मानिसहरू बढ्दो आबादीका कारण चिन्तित छन् । बढ्दो जनसंख्यालाई केही इतिहासकारले पृथ्विमा प्लेगको संज्ञा दिएका छन् । कोही यसलाई अभूतपूर्व बताइरहेका छन् । हामीलाई अरु मानिस आवश्यक पर्ने विचारधारा पनि पलाइरहेका छन् । पछिल्लो समय हामी पर्यावरणसँग सम्बन्धित जे जति समस्यासँग जुधिरहेका छौं त्यो सब तीव्र जनसंख्या वृद्धिका कारण उत्पन्न भएको हो । जलवायु परिवर्तन होस् वा जैविक विविधतामा क्षति जन संकट होस् वा भू संघर्ष सबै बढ्दो आवादीकै नतिजा हो ।
सन् १९९४ मा विश्व जनसंख्या ५ अर्ब ५० करोड मात्रै थियो । पृथ्विको मानव आवादीको आदर्श आकार १ अर्ब ५० करोड देखि २ अर्ब मात्रै हुनु पर्ने त्यतिबेला स्ट्यानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले बताएका थिए ।
विश्वको जनसंख्या थेग्नै नसक्ने गरी धेरै भएको हो ? विश्वमा मानव प्रभूत्वको भविष्य कस्तो होला ? पृथ्विको आदर्श मानव जनसंख्यासम्बन्धी बहस सधैं झैं खन्डित र भावानामा आधारित छ । यो चिन्ता अहिले देखिको होइन । प्राचिन काल देखिको हो ।
प्राचिन युनानका दार्शनिक प्लेटोले एउटा आदर्श शहरमा ५ हजार ४० भन्दा धेरै नागरिक हुनु नहुने भन्दै कठोर जनसंख्या नियन्त्रणको वकालत गरेका थिए । प्लेटोले त्यति बेला मानव जनसंख्या भन्दा पनि यसले खपत गर्ने संसाधनलाई समस्या भन्दै जनसंख्या र खपतमा अंकुश लगाउनु पर्नेमा जोड दिएका थिए । उनको सो चिन्ता अहिले पनि उत्तिकै सान्दर्भिक छ । थोमस माल्थसले सन् १९७८ मा आफ्नो एउटा शोध ‘जनसंख्याको सिद्धान्त’मा मान्छेको मुख्य दुई प्रवृत्ति भोजन र यौनको उल्लेख गरेका थिए ।
जनसंख्या बढेपछि माग बढ्ने भन्दै जनसंख्यालाई अनियन्त्रित छाडेमा यो ज्यामितिय अनुपातमा बढ्ने अनि जीवन यापनको साधन चाँहि अंक गणितीय अनुपातमा बढ्ने उनका भनाई थियो । उनको यो सिद्धान्तले भय र असन्तुष्टि दुबै उत्पन्न गर्यो । जनसंख्या अनियन्त्रित हुने अवस्था रोक्नु पर्छ भन्ने अनि यो प्रयास बेतुक र अनैतिक हो भन्ने दुई थरी समूह देखियो । पछिल्लो समूहको धारणा जनसंख्या नियन्त्रण गर्नु भन्दा खाद्यान्न आपूर्ति सकेसम्म बढाउनु पर्छ भन्ने थियो । माल्थसको निबन्ध प्रकाशित हुँदा पृथ्विको जनसंख्या ८० करोड मात्रै थियो ।
७४ हजार वर्ष अघिको रौं नभएका हाम्रा बाँदर पूर्खा अहिले जनसंख्या विस्फोटको अवस्थामा आएको छ । अहिले सगरमाथा भएको ठाउँबाट मानव निर्मित रसायन भेटिएको थियो । अहिले समुद्रको सबैभन्दा गहिरो स्थान भनिएको प्रशान्त महासागरको मारियाना ट्रेञ्चको पिँधको सतहमुनि प्लाष्टिक फेला परेको थियो । मानिसले नछोएको पृथ्विको कुनै कुना काप्चा बाँकी छैन । हरेक ताल तलाउ, जंगल अनि गल्छेडोलाई मानिसले छोइसकेका छन् ।
७४ हजार वर्ष अघि टोबा ज्वालामुखी विष्फोट भएर झन्डै १० वर्षसम्म ज्वालामुखीको लाभा पुगेको स्थान हिउँले सेताम्मे भएर ढाकिदाँ मानव जाति झन्डै लोप भएको थियो रे । त्यति बेला पृथ्विको जनसंख्या १० हजारमा झरेको थियो । नोभेम्बर १५ मा विश्वको जनसंख्या त्यतिबेलाको भन्दा ८ लाख गुणा बढी हो । अहिले मानव जनसंख्या यति भिमकाय भएको छ कि विल्कुल नचिनेको व्यक्तिसँग मिल्दो अनुहारका कयौं व्यक्ति भेटिने भएको छ ।
पृथ्विमा उच्च जनसंख्याका कारण उत्पन्न हुन सक्ने कयौं समस्या प्रकाशमा ल्याउने श्रेय सन् १९६८ मा लेखिएको जनसंख्या बमलाई पनि जान्छ । पृथ्विमा जनसंख्या कति हुनु पर्छ भन्ने बहस विशुद्ध रुपमा प्राज्ञिक होइन । चाहिने भन्दा बढी जनसंख्याको अवधारणाले अन्य समस्या र जोखिम पनि उत्पन्न गराएका छन् । उत्पीडन, जातीय सफाई र नरसंहारलाई सही ठह्र्याउन पनि यही सिद्धान्तको प्रयोग भएको छ ।
विश्व जनसंख्याले कहिले अधिकतम् सीमा छुन्छ भन्नेबारे अलग अलग अनुमान भएका छन् । सन् २०७० देखि सन् २०८० को बीचमा अधिकतम् जनसंख्या ९ दशमलव ४ अर्ब देखि १० दशमलव ४ अर्ब पुग्ने अनुमान छ । १० दशमलव ४ अर्ब पुगेपछि जनसंख्या २ दशकसम्म स्थिर रहने अनि त्यसपछि जनसंख्या घट्न थाल्ने आशा संयुक्त राष्ट्र संघको छ ।
रित्तो पृथ्वि नामक एउटा पुस्तकमा लेखकहरुले अहिले हामी अभ्यस्त भएको भन्दा विल्कुल फरक खालको भविष्य देखाएका छन् । यसमा विश्व घट्दो जनसंख्याले उत्पन्न हुने नयाँ चुनौती र अवसरहरू देखाइएको छ । यी सबै विवाद र अनिश्चियहरुलाई विचार गर्ने हो भने के सोच्ने भन्ने खुट्याउनै मुश्किल हुन्छ । यद्यपि, पृथ्विमा मानिसको संख्याले वातावरणीय, आर्थिक र हाम्रो सामूहिक समृद्धि लगायत केही प्रमुख पक्षहरुलाई भने प्रभावित बनाउनेछ ।
पर्यावरणीय असर
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार पृथ्वीको जमिनको सतहको ३८ प्रतिशत हिस्सा मानव वा पशुपन्छीका लागि खानेकुरा र इन्धन जस्ता अन्य वस्तुको उत्पादनका लागि प्रयोग गरिन्छ । यो भनेको झन्डै ५ अर्ब हेक्टर हो । कुनै समय हाम्रा पूर्वजहरु पृथ्विमा विशाल जीवहरु बीच रहन्थे । तर पृथ्विमा मानिसको प्रभुत्व बढ्दै जाँदा कयौं वातावरणीय परिवर्तन भएका छन् । जति जनसंख्या बढ्दै गइरहेको छ वातावरणीय समस्या पनि उत्ति नै बढ्दैछन् । जति जनसंख्या बढ्यो उति नै समस्या समाधान गर्न कठिन भएको छ, हुनेछ । पर्यावरणका लागि चाहिने भन्दा धेरै जनसंख्या कसरी राम्रो हुन सक्छ ? भनेर ‘एट बिलियन एन्ड द काउन्टिङ’ नामक पुस्तकमा लेखिका जेनिफर स्क्यूबाले प्रश्न गरेकी थिइन् ।
आर्थिक अवसर
जनसंख्या अनियन्त्रित रुपमा बढिरहेको अहिले विश्वमा औंलामा गन्न सकिने देश मात्रै छन् । दक्षिण कोरिया लगायत देशहरुमा वृद्ध जनसंख्या बढेको अनि जन्मदर घटेका देशमा सरकारहरुलाई जनसंख्या कसरी बढाउने भन्ने चिन्ता छ ।
जनसंख्या जति बढी भयो उति नै बढी वस्तु र सामान उत्पादन गर्न सकिने अनि खपत पनि बढ्ने भएकोले जनसंख्या वृद्धि आर्थिक वृद्धिको मिल्ने साथी हो भन्ने अवधारणा पनि अर्थशास्त्रमा पाइन्छ । तर सुस्त जनसंख्या वृद्धिले सधैं आर्थिक सुस्ती नै ल्याउँछ भन्ने चाँहि हुन्न । यसको राम्रो उदाहरण जापान पनि हो । जनसंख्या घटेको देशहरुले आप्रवासीहरू ल्याएर भएपनि उत्पादन बढाउन सक्छन् । बसाई सराई वा आप्रवासनप्रति संकुचित देशहरुले पनि आफ्नो नीति फेर्ने क्रम बढेको छ । अर्थतन्त्र पनि चलोस्, जनसंख्या पनि धेरै नहोस् भन्ने सोच पनि पाइन्छ । आर्थिक वृद्धिलाई नै प्रगति मान्ने मानसिकता रहँदा सम्म विश्व चाहिनेभन्दा बढी जनसंख्याको बहस जारी रहनेछ ।
सुखद भविष्य
कुनै देशको जनसंख्या सबैभन्दा महत्वपूर्ण तत्व होइन । जनसंख्याको वृद्धि दर वा घट्दो दर चाँहि सो देशको भावी सम्भावनाको लागि महत्वपूर्ण हुन्छ । अफ्रिकामा स्थानअनुसार जनसंख्या वृद्धिदर फरक फरक छ । कतै जनसंख्या वृद्धि सुस्ताएको छ भने कतै उच्च छ । वार्षिक २ दशमलव ५ प्रतिशत जनसंख्या वृद्धिदर भएको देशमा हरेक २० वर्षमा जनसंख्या दोब्बर हुने अवस्था छ । बुरुन्डी र रुवान्डा यसैको उदाहरण हो ।
तपाईं हरेक १० वर्षमा जनसंख्या दोब्बर हुने शहरको कल्पना गर्न सक्नु हुन्छ ? हरेक १० वर्षमा बढ्ने जनसंख्यालाई चाहिने खाद्यान्न, सेवा कायम गर्न सकिन्छ त ? आर्थिक वृद्धिदरको कुरा आउँदा खुसीको पनि कुरा आउँछ ।
पछिल्लो समय आर्थिक विकासको कुरा गर्दा जनसंख्याको साथै खुसीको स्तरबारे पनि कुरा उठ्ने गरेको छ । बढ्दो जनसंख्याका लागि आवश्यक टेवा र पूर्वाधार बनाउन लामो समय लाग्छ । जनसंख्या जुन स्तरमा बढिरहेको छ सोही स्तरमा सो देशको सरकारले आवश्यक टेवा र पूर्वाधार बनाउन सक्छ ?
पृथ्विमा मानव आवादी कुन स्तरमा बढ्छ भन्नेबारे कयौं प्रक्षेपण आएका छन् । एउटा अनुमानमा यो निरन्तर बढ्ने सम्भावना छ । अर्को एउटा अनुमानमा भने पृथ्विमा कुनै महामारी वा विश्व युद्ध नै भयो भने हरेक देशले एक सन्तान नीति अपनाए पनि सन् २१०० सम्ममा जनसंख्या बढेर १० अर्ब पुग्ने बताइएको थियो ।
यो शताब्दीको बीचमा पाँच वर्षभित्र २ अर्ब मानिस मरे भने पनि सन् २१०० सम्ममा जनसंख्या बढेर ८ अर्ब ५० करोड पुग्नेछ । जे सुकै होस्, जस्तो सुकै अवस्था उत्पन्न होस्, कम्तिमा पनि अर्को शताब्दीसम्म पृथ्विमा धेरै जनसंख्या हुनेछ । आगामी वर्षहरूमा पृथ्विमा मानिसको प्रभुत्व झनै बढेर जानेछ । अनि जति नै धेरै भएपनि मानिसहरू एक अर्कासँग मिलेर बस्नेछन् । अनि वातावरण जोगाउनु चाँहि मानव जातिको सबैभन्दा ठूलो चुनौती हुनेछ । एजेन्सीहरुको सहयोगमा