ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकीमा मुख्यमन्त्रीका दाबेदार सबैलाई अन्तरघातको डर, यस्तो छ चुनावी अंकगणित

२०७९ कात्तिक, ३०  
समाचार निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । निर्वाचनको मिति नजिकिएसँगै कास्कीमा गठबन्धन दल र नेकपा एमालेले चुनाव केन्द्रित गतिविधि तीव्र पारेका छन् । यसपटक गठबन्धन दल र एमाले दुवैका तर्फबाट मुख्यमन्त्रीका दाबेदार कास्कीकै नेताहरू चर्चामा रहेकाले जनतामा चुनावी माहोल विशेष छ ।

गठबन्धनका तर्फबाट कांग्रेसका नेताद्वय शुक्रराज शर्मा र बिन्दुकुमार थापा मुख्यमन्त्रीका प्रमुख दाबेदारका रूपमा देखिएका छन् । विगतमा संघमा चुनाव लड्दै आएका एमालेका नेता खगराज अधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओलीको सल्लाहमा मुख्यमन्त्री बन्ने गरी प्रदेशसभामा निर्वाचन लडेसँगै गठबन्धन वा एमाले जुनसुकै पार्टीले बहुमत ल्याए पनि कास्कीले मुख्यमन्त्री पाउने निश्चित जस्तै देखिएको छ । 

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको आन्तरिक द्वन्द्वका कारण एकले अर्काको नेतृत्व स्वीकर गर्न नसकेको अवस्थामा पार्टी अध्यक्ष ओलीमार्फत पृथ्वीसुब्बालाई यसपटक संघीय निर्वाचनमा उठाउन सफल भएपछि अधिकारी एमालेका गण्डकीका भावी मुख्यमन्त्रीका एकल दाबेदारका रूपमा देखिएका छन् ।

वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सक्रिय राजनीतिबाट बिदा लिएका छन् भने मुख्यमन्त्रीका आकांक्षी गण्डकी प्रदेशका भौतिक योजना तथा यातायातमन्त्री कुमार खड्कालाई टिकट नदिएर रोकेसँगै आगामी मुख्यमन्त्री बन्न कांग्रेसका शुक्रराज र बिन्दु कुमारबीच प्रतिस्पर्धा हुने निश्चित छ । उनीहरू दुईमध्ये जसले पार्टी अध्यक्ष शेरबहादुर देउवालाई रिझाउन सक्छ, उही मुख्यमन्त्री बन्ने सम्भावना छ । तर, पार्टीमा शुक्रराज शेखर कोइराला निकटका भएकाले देउवा निकटका बिन्दु थापाले चुनाव जितेको अवस्थामा मुख्यमन्त्री बन्ने सम्भावना प्रबल रहेको कांग्रेस निकट स्रोतको दाबी छ ।

आसन्न प्रदेशसभा निर्वाचनपछि गण्डकीमा नयाँ अनुहार मुख्यमन्त्री बन्ने पक्का भएकाले प्रदेशमा भावी मुख्यमन्त्रीको चर्चा हुन थालेको छ । विगतमा एक्लाएक्लै चुनाव लड्दा गण्डकीका अधिकांश निर्वाचन क्षेत्रमा एमालेले झिनो मतान्तरले धेरै ठाउँ जितेको थियो । यसपटक दलहरूबीच गठबन्धन भएकाले सजिलै एमालेलाई हराउने गठबन्धनको दाबी छ ।

यसपटकको मुख्यमन्त्रीको लागि गठबन्धनको ठूलो दल नेपाली कांग्रेसबाट केही आकांक्षीहरू देखिएका छन्, जसमध्ये प्रमुख दाबेदारमा शुक्रराज र थापाको नै बढी सम्भावना देखिएको हो । 
२०४६ सालपछिका निर्वाचनमा हाल गण्डकी प्रदेश कायम भएका अधिकांश जिल्लामा कांग्रेसले निर्वाचन जितेको थियो । तर, पछिल्लो समय अधिकांश क्षेत्रमा निर्वाचन एमालेले जितेकाले आगामी निर्वाचनमा आफ्नो पार्टीको सरकार बन्ने नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी दाबी गर्छन् ।

गत निर्वाचनमा एमाललेले गण्डकीका ११ जिल्ला अन्तर्गत प्रतिनिधिसभाका १८ र प्रदेश सभाका ३६ स्थानमध्ये अधिकांश क्षेत्रमा एमालेले विजय हासिल गरेको थियो । गण्डकी प्रदेश एमालेमा पनि अझ ‘केपी ओली पकड क्षेत्र’का रूपमा परिचित छ । पार्टी विभाजनका बेला प्रदेशमा तत्कालीन एमालेका २८ सांसदमध्ये बागलुङका इन्द्रलाल सापकोटा बाहेकका सबै ओली पक्षका थिए ।

पार्टी विभाजन अगाडि माधव नेपाल पक्षमा रहेका सापकोटा पनि पछि ओली पक्षमै लागेका थिए । अहिले एमालेले त्यही वर्चस्व कायम गर्दै गण्डकीका अधिकांश स्थानमा विजय हासिल गर्ने दाबी गरिरहेको छ ।

विशेषतः कास्कीबाट विगत लामो समयदेखि राजनीतिक र प्रशासनिक क्षेत्रमा कमजोर उपस्थिति रहेकोमा यसपटक भने मुख्यमन्त्री पाउने राजनीतिककर्मी आशावादी देखिन्छन् । कास्कीका ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरू गरी ४६ जनाले उम्मेदवारी दर्ता गरेर प्रचारप्रसारमा जुटेका छन् ।

कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका मनबहादुर गुरुङ र सत्ता गठबन्धनबाट कांग्रेसका किशोरदत्त बरालबीच मुख्य प्रतिस्पर्धा हुनेछ । गुरुङ कास्की एमालेका जिल्ला अध्यक्ष हुन् । गतवर्ष भएको अधिवेशनमा पृथ्बीसुब्बा निकट गुरुङले नेता खगराज निकटका दामोदर पौडेल वैरागीलाई हराएर निर्वाचित भएका थिए । गण्डकीमा एमालेबाट मुख्यमन्त्रीका प्रमुख दावेदार अधिकारीको क्षेत्र पनि कास्की १ को क भएकाले पनि पृथ्वीसुब्बा निकट गुरुङलाई उन्तरघात हुने डर पृथ्बीसुब्वा निकटका नेता कार्यकर्तामा रहेको देखिन्छ । 

पृथ्वीसुब्बाले केही दिनअघि लमजुङमा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनपछि गण्डकीको मुख्यमन्त्री लमजुङका जमिन्द्रमान घलेलाई बनाउने अभिव्यक्ति दिएपछि प्रदेशमा दुई नेताबीचको गुटगत राजनीति हाबी हुने देखिएको छ । विगतका निर्वाचनमा नेता अधिकारीले जित्दै आएका यस क्षेत्रमा उठेका मनबहादुरलाई अन्तरघात भएको अवस्थामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका किशोरदत्त बरालको जितको सम्भावना प्रबल छ । गत निर्वाचनमा खगराजले कांग्रेसका उम्मेदवार भन्दा झण्डै ६ हजारभन्दा बढी मतले निर्वाचन जितेका थिए । विगतमा माओवादी केन्द्रको साथ पाएर ६ हजार मतले खगराजले जितेकोमा अहिले माओवादीको साथ किशोरदत्तलाई रहेकाले उनको सम्भावना अधिक छ । गठबन्धनबाट उम्मेदवार बनेका बराल पछिल्लो समय कांग्रेसका युवापुस्तामा लोकप्रिय रहेका छन् ।

लामो समय प्रध्यापन पेशामा आबद्ध बराल पनि कास्की कांग्रेसको जिल्ला सभापति हुन् । उनी पहिलो पटक प्रतिनिधिसभामा निर्वाचनमा उम्मेदवार बनेका हुन् । नेता बराल कास्की कांग्रेसका स्वच्छ छवि भएका इमानदार नेताका रूपमा चिनिन्छन् । तर, उनी निर्वाचन लड्दै गरेको क्षेत्रमा कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, पूर्वसभामुख तारानाथ रानाभाट लगायतका नेताहरूको क्षेत्र भएको र उनीहरू स्वयं निर्वाचन लड्न चाहँदा पार्टीले टिकट नदिएको झोँकमा अन्तरघात गरेको अवस्थामा बराललाई चुनाव जित्न कठिन देखिन्छ ।

त्यसैगरी क्षेत्र नं १ को प्रदेशसभा क बाट एमालले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई उम्मेदवार बनाएको छ । विगतका निर्वाचनहरूका प्रतिनिधिसभाको निर्वाचनमा विजयी बन्दै आएका अधिकारी आगामी निर्वाचनमा प्रदेशसभामा उम्मेदवार बनेका छन् । यसअघि गृहमन्त्री समेत बनेका अधिकारी यसपटक गण्डकीको मुख्यमन्त्री बन्नकै लागि प्रदेशसभामा झरेका हुन् । उनले गत निर्वाचनमा यही क्षेत्रको प्रतिनिधिसभामा निर्वाचित भएका थिए । 

त्यस्तै गठबन्धनले माओवादीका दीपक कोइरालालाई उम्मेदवार बनाएको छ । कोइराला गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको सभापति हुन् । उनले गत निर्वाचनमा त्यही क्षेत्रबाट निर्वाचित भएका थिए । विगतमा एमालेसँगको सहकार्यमा निर्वाचन जितेका कोइराला यस पटकको निर्वाचनमा भने उही एमालेका अधिकारीसँग प्रतिस्पर्धा गर्दैै छन् । त्यस्तै प्रदेशसभा ख बाट गठबन्धनले कांग्रेसका दीपक गुरुङलाई उम्मेदवार बनाएको छ । उनी गत स्थानीयको निर्वाचनमा पोखरा महानगरपालिका वडा नं १२ वडा सदस्यमा पराजय भएका थिए । त्यसैगरी एमालेले प्रदेशसभाका लागि वेदबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ । उनी २०७४ को निर्वाचनमा मादी गाउँपालिकाका अध्यक्ष बनेका थिए । अहिले उनी प्रदेशसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवार दीपकसँग प्रतिस्पर्धामा छन् । 

२ स्वतन्त्रसहित १४ जना उम्मेदवार रहेको यस क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेसनका यज्ञबहादुर गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका सीता श्रीसमगर, एकीकृत शक्ति नेपालका सविना वेगम, आमूल परिवर्तन मसिहा पार्टी नेपालका शिवप्रसाद अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राई तथा स्वतन्त्र उम्मेदवार सौगात जिसी र दिलबहादुर राना पनि चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारमध्ये यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा गठबन्धनका किशोरदत्त र एमालेका मनबहादुरबीच नै हुनेछ । 

त्यस्तै कास्की निर्वाचन क्षेत्र नम्बर २ मा तत्कालीन नेकपा एमालेका पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुँदै छ । विगतमा एमालेका चर्चित नेता रवीन्द्र अधिकारीले निर्वाचन जित्दै आएको यस क्षेमा एमालेबाट विद्या भट्टराई र एमालेबाटै बिभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

यो क्षेत्रमा रवीन्द्र अधिकारीले विगतमा चार पटकसम्म लगातार निर्वाचन जित्दै आएका थिए । बाँकी उपनिर्वाचनमा पनि एमालेका भट्टराईले चुनाब जितेकी थिइन् । तर, यस पटकको निर्वाचनमा भने उनको पूर्व सहकर्मी एवं एमालेबाटै विभाजन भएको समाजवादीका श्रीनाथ बरालसँग चुनावी प्रतिस्पर्धा हुँदै छ । २०७६ मंसिरमा भएको प्रतिनिधिसभा उपनिर्वाचनका बेला भट्टराईको चुनावी कमाण्डर बनेका रवीन्द्रका बालसखा धनराज आचार्य समेत अहिले समाजवादी पार्टीतर्फ लागेका छन् । आचार्यले गत वैशाखमा भएका स्थानिय निकायको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा जमाजवादीबाट निर्वाचित भएका थिए । रवीन्द्र अधिकारीसँगै स्कूल, कलेज पढ्दै राजनीति, व्यवसाय र समाज सेवामा एकसाथ लागेका आचार्य समाजवादी पार्टीमा भएको र सोही पार्टीबाट श्रीनाथ प्रतिनिधिसभामा गठबन्धनबाट उम्मेदवार बनेकाले भट्टराईलाई चुनाव जित्न पहिले जस्तो सहज छैन ।

गठबन्धनका उम्मेदार बराल पनि एमालेमा लामो समयसम्म सक्रिय राजनीतिमा रहेका असल र इमानदार नेता भएकाले पनि उनको राजनीति प्रभाव राम्रो छ ।

त्यस क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री महादेव गुरुङले स्वतन्त्रबाट उम्मेदवारी दिएले बराललाई जाने केही मत उनले काट्ने अनुमान गरिएको छ । कास्की–२ मा बागी उम्मेदवारी दिएका गुरुङले आफ्नो उम्मेदवारी बार्गेनिङका लागि नभई, सिद्धान्त र निष्ठाको पक्षमा भएको बताएका छन् । 

गठबन्धनको भागबण्डामा कास्की २ नेकपा एकीकृत समाजवादीको भागमा परेकाले पनि देउवाले उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । गुरुङले उम्मेदवारी फिर्ता नलिएपछि श्रीनाथलाई चुनौती थपिएको छ । कास्की क्षेत्र नं २ को प्रदेशसभा क बाट गठबन्धनका तर्फबाट माओवादीका विश्वप्रकाश लामिछाने उम्मेदवार बनेका छन् । उनी पोखरा नगर विकास समितिका पूर्वअध्यक्ष समेत हुन् । लामिछानेको प्रतिस्पर्धीका रूपमा एमालले भीमबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रबाट निर्वाचनमा लामिछाने र कार्कीबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै कास्की २ अन्तर्गतको प्रदेशसभा ख बाट कांग्रेसले बिन्दुकुमार थापालाई उम्मेदवार बनाएको छ । थापा गण्डकी प्रदेशका न्याय तथा कानुनमन्त्री समेत हुन् । थापा गण्डकीमा भावी मुख्यमन्त्रीका समेत दाबेदार हुन् । एमालेले थापासँग प्रतिस्पर्धाका लागि मिना गुरुङलाई उम्मेदवार बनाएको छ । यसअघिको कार्यकालमा गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी थिइन् । 

कास्की २ बाट ५ स्वतन्त्र सहित १६ जना अन्यले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभामा भट्टराई र बराल बाहेक यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका बुद्धिकुमारी गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्त, नेपाल मजदुर किसान पार्टीका पशुपति प्रजापति, जनमत पार्टीका महेन्द्र शर्मा, हाम्रो नेपाली पार्टीका शिरीष गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनका ज्ञानराज गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टी ईश्वरबहादुर राना, आमूल परिवर्तन मसिहा पार्टीका गिताबहादुर रोका, राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल लगायत उम्मेदवार रहेका छन् । त्यस्तै स्वतन्त्रतर्फ तारानाथ सुवेदी, जमुना शर्मा, गीतानाथ र ऋगेन्द्र गिरीले पनि उम्मेदवारी दिएका छन् । 

त्यसैगरी कास्की क्षेत्रनं ३ मा पनि नेकपा एमाले र माओवादीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा एमालेका दामोदर पौडेल वैरागी र माओवादीका रामजी प्रसाद बरालबीच प्रतिस्पर्धा हुने भएको छ । माओवादीका बराललाई कांग्रेससहितका गठबन्धन दलको समर्थन रहेका छ ।

एमालेबाट उम्मेदवार बनेका वैरागी यसअघि पार्टीको जिल्ला सचिव भएर पार्टी संगठबनको भूमिका निर्वाह गरेका थिए । 

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट बामगठबन्धनका उम्मेदवार जगत विश्वकर्माले निर्वाचन जितेका थिए । तर, अहिले कास्की लगायत गण्डकी प्रदेशमै पृथ्वीसुब्बा र खगराजको गूटगत राजनीति हाबी भएकाले उनीहरू निकट नेता कार्यकर्ताको घात अन्तरघातमै निर्वाचनको नतिजा निर्भर गर्नेछ । विगतको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार कृष्ण बहादुर थापालाई हराउन पृथ्वीसुब्बा नेतृत्व खुलेर लागेको थियो । थापालाई निर्वाचनमा हराउन पृथ्वीसुब्बा निकटका नेता कार्यकर्ताले बनाएको योजनाको अडियो समेत सार्वजनिक भएको थियो ।

त्यसैगरी गठबन्धनबाट यस क्षेत्रको उम्मेदवार बनेका माओवादी केन्द्रका रामजीप्रसाद बराल पनि कमजोर उम्मेदवारका रूपमा देखिएका छन् । कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका उनी सरकारमा गएसँगै प्रदेशका सबैभन्दा विवादित बनेका मन्त्री हुन् । उनले विगतमा गरेको जनविरोधी कार्यले अहिले स्वयं उनलाई नै असर गर्ने सम्भावना बढेको छ । 

त्यसैगरी क्षेत्र नं ३ क बाट माओवादीका दुर्गादत्त भण्डारी उम्मेदवार बनेका छन् । नेकपा एमालेले गणेशमान गुरुङलाई उम्मेदवार बनाएको छ । गुरुङ केही समय पहिले जनता समाजवादी त्यागेर एमाले प्रवेश गरेका थिए । त्यस्तै ३ को ख बाट कांग्रेसका प्रकास बराल उम्मेदवार बनेका छन् । उनी लामो समयसम्म खेलकुद क्षेत्रको जागीर छाडेपछि राजनीतिमा सक्रिय भएका हुन् । त्यस्तै बरालसँगको प्रतिस्पर्धामा एमालले राजीव पहारीलाई उम्मेदवार बनाएको छ । पहारीले २०७४ को निर्वाचनमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए ।

यीबाहेक यो क्षेत्रमा जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका लागि हितकाजी गुरुङ, राप्रपाका जगतप्रसाद सुवेदी, नेमकिपाले बलराम बन्जार, हाम्रो नेपाली पार्टीका विवेक कुमार पौड्याल, मंगोल नेशनल अर्गनाइजेसनका गंगाकुमारी खपाङ्गी तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेललाई उम्मेदवार बनाएको छ । स्वतन्त्रतर्फ ७ जनाले उम्मेदवारी दिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)