ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फन्ड अभावको चपेटामा मार्जिन कारोबार, स्वीकृति लिने २२ कम्पनी, सेवा दिने १ मात्रै

२०७९ मंसिर, ४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीले प्रदान गर्ने मार्जिन कारोबार सुविधा फन्ड अभावमा प्रभावकारी बन्न नसकेको पाइएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट २२ ब्रोकर कम्पनीले मार्जिन कारोबार सुविधा प्रदान गर्ने स्वीकृति लिए पनि हाल एक ब्रोकर कम्पनीले मात्र यो सेवा दिन थालेको छ । 

मार्जिन कारोबार सुविधा दिने एक्लो कम्पनी नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) हो । नासाले गत कात्तिक ३ गतेदेखि मार्जिन कारोबार सुविधा दिइरहेको जानकारी गराएको छ । नासाले १ महीनामा ९ जनालाई ९० लाख रुपैयाँ मार्जिन कारोबार सुविधा प्रदान गरेको जानकारी दिएको छ । 

नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौड्यालले फन्डको अभाव मार्जिन कारोबार सुविधाको मुख्य समस्या रहेको बताए । बैंक तथा वित्तीय संस्थामा निरन्तर देखिएको लगानीयोग्य पूँजी अभावका कारण मार्जिन कारोबार सुविधा प्रभावकारी बन्न नसकेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाबाट ब्रोकरले आफ्नो पोर्टफोलियो धितो राखेरमात्र कर्जा पाउने भएकाले पनि समस्या भएको पौड्याल बताउँछन् । मार्जिन कारोबार सुविधा लिएका ग्राहकको पोर्टफोलियो समेत राखेर ब्रोकरले कर्जा पाउने सुविधा भए फन्ड जुटाउन सहज हुने पौड्यालको भनाइ छ । अहिले करीब दुई दर्जन ब्रोकर कम्पनीले मार्जिन कारोबार सुविधाका लागि नियामक निकायबाट अनुमति पाए पनि फन्डकै अभावमा यो सेवा शुरू गर्न नसकेको उनले गुनासो गरे ।

नासाले पहिलोपटक मार्जिन कारोबार सुविधा दिन शुरू गरेको हो । नासाले दुई प्रकारको योजनामार्फत मार्जिन कारोबार सुविधा प्रदान गर्दै आएको हो । पहिलो योजनाअन्तर्गत १० लाख रुपैयाँसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद राखी कारोबार गर्न पाउने सुविधा नासाले ल्याएको हो । यस योजनाका लागि नासाले ३० दिन समय उपलब्ध गराउने बताएको छ । यो योजनाका लागि सेवा शुल्क र ब्याजसहित जम्मा ९ हजार ९ सय ९९ रुपैयाँ लाग्ने नासाको भनाइ छ । 

त्यस्तै दोस्रो योजनामा पनि लगानीकर्ताले नासाबाट १० लाख रुपैयाँ नै चलाउन पाउनेछन् । दोस्रो योजनाको अवधि ५८ दिनको हुने र यसका लागि सेवा शुल्क र ब्याजसहित जम्मा २१ हजार ५८ रुपैयाँ लाग्ने नासाले स्पष्ट पारेको छ । मार्जिन कारोबार सुविधा उपयोग गर्न चाहने ग्राहकले नेप्सेबाट जारी मार्जिन कारोबार गर्नयोग्य कम्पनीको सूचीभित्र रही कारोबार गर्नुपर्ने नासाले जानकारी दिएको छ । नेप्सेले हाल सूचीकृत कम्पनीमध्ये ८७ कम्पनी मार्जिन कारोबारका लागि योग्य रहेको सूची कात्तिक २२ गते सार्वजनिक गरेको थियो । नेप्सेले सार्वजनिक गरेको कम्पनीको धितोपत्र मात्र मार्जिन कारोबारका लागि योग्य हुन्छ । २ लाखभन्दा बढी लगानीकर्ता सहभागी नासा सेक्युरिटिजमा पछिल्लो समय ३० हजारभन्दा बढीले सक्रिय रूपमा कारोबार गरिरहेका छन् । 

प्राविधिक कठिनाइ पनि उत्तिकै 

मार्जिन कारोबार सुविधा प्रदान गर्न फन्ड मुख्य समस्याका रूपमा रहिरहँदा यसमा प्राविधिक समस्यासमेत रहेको ब्रोकरहरूको भनाइ छ । कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्राइभेट लिमिटेड (ब्रोकर नम्बर ३५) का प्रबन्ध निर्देशक भरत रानाभाटले नयाँ प्रडक्टका रूपमा रहेको मार्जिन कारोबार सुविधाका लागि हालको सिस्टममा समस्या रहेको बताए । नेप्सेको सिस्टमले एउटै ग्राहकको नाममा दुईओटा अकाउन्ट सपोर्ट नगर्ने र मार्जिन कारोबारका लागि छुट्टै अकाउन्ट बनाउनुपर्ने भएकाले त्यसको व्यवस्थापनमा समस्या हुने रानाभाटको भनाइ छ । लाखौं ग्राहक हुने ब्रोकरले हजारौं ग्राहकलाई मार्जिन सेवा दिँदा सिस्टममा सपोर्ट नभए व्यवस्थापन गर्न समस्या हुने उनको भनाइ छ । ब्रोकरले भित्र्याउन लागेको नयाँ सिस्टमले दुईओटा अकाउन्ट सपोर्र्ट गर्ने जानकारी दिँदै रानाभाटले अंग्रेजी नयाँ वर्षसँगै नयाँ सिस्टमका साथ मार्जिन कारोबार शुरू गर्ने योजना रहेको बताए । ब्रोकरहरूले आफूसँग भएको पूँजीबाटै थोरै भए पनि मार्जिन कारोबार सुविधा प्रदान गर्न सके बजारले थप गति लिने रानाभाटको विश्वास छ ।

नेप्सेले २०७५ सालमै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि जारी गरेको थियो । ऊ बेला दुई दर्जन कम्पनीले मार्जिन कारोबार सुविधा प्रदान गर्न स्वीकृति पाए पनि कार्यविधिका केही बुँदाले व्यावहारिक कठिनाइ भएको भन्दै लागू हुन सकेको थिएन । नेप्सेले ब्रोकरहरूको मागबमोजिम आवश्यक बुँदा संशोधन गरी गत वैशाख १४ गतेदेखि कार्यविधि लागू गरेको हो । 

बोर्डले संशोधन गरेको कार्यविधिअनुसार लगानीकर्ताले ब्रोकरमार्फत ७० प्रतिशत कर्जा पाउनेछन् । यसअघि ५० प्रतिशतसम्म मात्र पाउने व्यवस्था थियो । संशोधित व्यवस्थाअनुसार लगानीकर्ताले शेयर धितो राख्दा ३० प्रतिशत रकम वा उक्त मूल्य बराबरको शेयर धितो राखे पुग्ने भएको हो । लगानीकर्ताले मार्जिन कर्जाका लागि धितो राखेको शेयरको मूल्यांकन गर्दा १ सय २० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसैको आधारमा कर्जा दिन सकिने व्यवस्था छ । यसअघि १८० दिनको औसत मूल्यको आधारमा धितो राखेको शेयरको मूल्यांकन गर्नुपर्ने व्यवस्था थियो । लगानीकर्ताले प्रत्येक दिन कम्तीमा मार्जिन रकम २० प्रतिशत बराबर कायम गर्नुपर्नेछ । शेयर धितोको मूल्य २० प्रतिशतभन्दा कम हुन गएमा ब्रोकरले रकम थप्न मार्जिन कल गर्न सक्नेछन् ।

हाल नेपालमा धितोपत्र कारोबारका लागि ५० ब्रोकरले सेवा प्रदान गरिरहेका छन् । नयाँ ब्रोकरको संख्या थप हुने क्रममा रहेको र पुराना ब्रोकर कम्पनीहरूले पनि पूँजी वृद्धि गर्नुपर्ने भएकाले आगामी दिनमा मार्जिन कारोबार सुविधाको दायरा फराकिलो हुने अनुमान गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)