ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लोकतन्त्रको उत्सव आज, प्रतिनिधिसभा र प्रदेशसभाका ८२५ जनप्रतिनिधि चयन गरिँदै

२०७९ मंसिर, ४  
समाचार निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
काठमाडौंकाे डिल्लीबजारस्थित कन्या माविमा रहेकाे मतदान केन्द्रमा मतदान गर्दै एक सर्वसाधारण । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
author avatar विजय दमासे

काठमाडौं । आइतवार (आज) प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ । यही निर्वाचनमार्फत नेपाली जनताले आफ्नो र देशको भाग्य तथा भविष्यको खाका कोर्ने जनप्रतिनिधि चयन गर्नेछन् । 

सार्वभौम जनताले निर्वाचनबाट चुनेर पठाउने प्रतिनिधिले देशको मूल कानून संविधान संशोधनदेखि मुलुकको समृद्धि र प्रगतिका लागि आवश्यक नीति नियम एवं योजना बनाउने र त्यसको कार्यान्वयन गर्ने कार्यपालिका गठनसम्मको हैसियत राख्ने हुँदा लोकतन्त्रमा निर्वाचनलाई सबैभन्दा महत्त्वपूर्ण परिघटना मानिन्छ । सार्वभौम जनताले निर्णय गर्ने अवसर भएकै कारण निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा अथ्र्याइन्छ । 

जनताको प्रत्यक्ष सहभागितामा जनप्रतिनिधि चयन हुने भएकाले लोकतन्त्रलाई उत्कृष्ट शासन व्यवस्था भनिएको हो । लोकतान्त्रिक मूल्यमान्यताअनुसार शासन व्यवस्था सञ्चालन हुन नसकेका मुलुकमा जनताका अधिकार ओझेलमा पर्छन् । त्यसो त लोकतान्त्रिक शासन व्यवस्था हुँदाहुँदै पनि आमजनता खुशी र सन्तुष्ट हुन नसकेको मुलुकमा नेपाल पर्छ । लोकतान्त्रिक मूल्यमान्यता र पद्धतिको व्यावहारिक अभ्यास हुन नसक्दा यस्तो भएको हो । सीमित व्यक्तिले दशकौंसम्म सत्ताको लाभ लिइरहने, राज्यले जनचासोको विषयलाई बेवास्ता गर्ने गरेको गुनासो व्यापक छ । आमजनतालाई त्यस किसिमको गुनासो गर्ने अवसर पनि लोकतन्त्रले नै दिएको हो । 

राजनीतिक व्यवस्था बदलिए पनि राजनीतिक दल र नेताहरूको काम गर्ने शैलीमा सुधार आउन नसकेको व्यापक गुनासोबीच आगामी ५ वर्षका लागि जनप्रतिनिधि छान्ने निर्वाचन हुन लागेको छ । जनताले कस्ता प्रतिनिधि छान्छन्, २–४ दिनमै थाहा हुनेछ ।

मतपत्रमा ‘नो भोट’को प्रावधान राख्न सर्वोच्च अदालतले आदेश दिए पनि यसपालिको निर्वाचनमा जनताको त्यो आकांक्षा भने पूरा नहुने भएको छ । त्यस्तै चुनेर पठाएका प्रतिनिधिको काम गराइ जनतालाई चित्त नबुझे फिर्ता बोलाउन पाउने अधिकारको माग भइरहेको छ ।

संविधानले प्रत्याभूत गरेको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासनप्रणाली, जनतामा निहीत सार्वभौम सत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को मतदानमा देश होमिएको हो । 

८२५ जनप्रतिनिधि चयन हुँदै

देश संघीयतामा गइसकेपछिको दोस्रो निर्वाचनले प्रतिनिधिसभा र प्रदेशसभाका लागि ८२५ प्रतिनिधि छान्नेछ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० जनप्रतिनिधि चुनिनेछन् । त्यस्तै प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनप्रतिनिधि समानुपातिक निर्वाचन प्रणालीबाट चुनिनेछन् । 

निर्वाचन सम्पन्न गर्न झन्डै साढे २ लाख कर्मचारी र ३ लाखभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । निर्वाचनका लागि तीन घेराबाट सुरक्षा दिने व्यवस्था मिलाइएको छ । 

भोट दिन जाँदा कसरी जाने ?

आइतवार बिहान ७ देखि साँझ ५ बजेसम्मलाई भोट खसाल्ने समय तोकिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य लैजान आग्रह गरेका छन् । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता परिचयपत्र नहुनेले आयोगले तोकेबमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा, सवारीचालक अनुमतिपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचयपत्र बोकेर जान सक्ने बताए ।

उनले मतदाताले मतदानका लागि जाँदा मोबाइल, क्यामेरा, सलाइ, लाइटरलगायत कुनै पनि निषेधित वस्तु बोक्न नहुने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निषेधित वस्तु मतदान केन्द्रमा लिएर गए जफत गर्ने चेतावनी दिए । उनले मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र मतदान अधिकृतले मतदाताका हरेक गतिविधिको निगरानी गरिरहेको हुनाले आयोगको आँखा छलेर अनावश्यक गतिविधि नगर्न पनि सचेत गराएका छन् ।

अरूको नाममा मत नहाल्न, दोहोर्‍याएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरूलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए/नभएको यकीन गर्न पनि आयोगले सुझाएको छ । 

मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपांगता भएका व्यक्तिलाई आवश्यक सहयोग गर्न र सबैभन्दा पहिला मतदान गर्ने व्यवस्था मिलाउन आयोगले अनुरोध गरेको छ । 

‘कथं कदाचित् मोबाइल साथमै लिएर जानुभएको भए मतदान केन्द्र नजिकैको कुनै विश्वासिलो व्यक्ति वा राख्ने ठाउँमा राखेर जानुहोस्, त्यो पनि भएन भने मतदान केन्द्रमा प्रवेश गर्ने बिन्दुमा कुनै तोकिएको ठाउँ हुनेछ, त्यो ठाउँमा राख्नुहोस्,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भनेका छन्, ‘म झुक्किएँ भनेर मतदान केन्द्रमा मोबाइल लिएर जानुभयो र मोबाइलबाट मतपत्रको फोटो खिच्न चाहनुभयो भने त्यहाँ खटिएका सुरक्षाकर्मीले तपाईंको निगरानी गरिरहनुभएको हुनेछ । तपाईंको सामान जफत गर्छन् ।’

उनले आफ्नो बाहेक अरूको नाममा मत नहाल्न पनि सुझाव दिएका छन् । ‘आफ्नोबाहेक अरूको नाममा मत नहाल्नुहोस् । दोहोर्‍याएर मत हाल्ने प्रयास पनि नगर्नुहोस् । आफ्नो मत अरूलाई हाल्न पनि नलगाउनुहोस्,’ थपलियाले भने, ‘मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए/नभएको यकीन गर्नुहोस्, मतदान गर्दा पनि बदर नहुने गरी सही ढंगबाट गर्नुहोस् । मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्रीलाई आवश्यक सहयोग गर्नुहोस् ।’

थपलियाले मतदान केन्द्रमा अनावश्यक होहल्ला नगर्न, भीडभाड नगर्न, कुनै पनि तर्कवितर्क नगर्न पनि सचेत गराए । उनले भने, ‘चारओटा मतपत्रमा स्वस्तिक छाप लगाएर चारओटा छुट्टै मतपेटिकामा मतदान गरिसकेपछि मतदान सकिन्छ । मतदान केन्द्रबाट बाहिर निस्किएपछि आफ्नो वासस्थानतर्फ लाग्नुहोस् ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन अपील गर्नुभएको छ । एक सन्देश जारी गरी राष्ट्रपति भण्डारीले मतदान नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले सबैलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गर्नुभयो । उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक तथा सम्बद्ध सबैमा आह्वान गर्नुभयो । ‘निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमश: जनउत्तरदायी हुँदै जान्छन्,’ सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘यसबाट शासनप्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)