ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुनावपछि शेयर बजारमा कस्तो प्रभाव पर्ला, के भन्छन् लगानीकर्ता ?

२०७९ मंसिर, ६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । चुनावपछि शेयर बजारमा कस्तो प्रभाव पर्ला भन्ने लगानीकर्तामा यतिखेर कौतुहलता रहेको छ । कतिपय लगानीकर्ताले अब शेयर बजारमा सुनौला दिन शुरू हुने अनुमान गर्न थालेका छन्  । आइतवार केही ठाउँमा मात्रै मतदान स्थगित भएका छन् भने अधिकांश ठाउँमा चुनाव सम्पन्न भइसकेको छ । 

चुनावपछि नयाँ सरकार बन्छ र लगानीको वातावरणमा पनि नयाँ आयाम थपिने लगानीकर्ताले अपेक्षा गरेका छन् । पूँजीबजार विकास र विस्तारको पक्षमा आवाज उठाउने लगानीकर्ताहरू समेत यसपालिको चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पूँजीबजारको विकासका लागि लड्ने लगानीकर्ता चुनावमा विजयी भए शेयर बजारको विकासमा थप टेवा पुग्ने उनीहरूको आशा छ ।
५४ लाखभन्दा बढी लगानीकर्ता समेटिएको नेपालको धितोपत्र बजार विगत एक वर्षभन्दा बढी अवधिदेखि घटबढ भइरहेको छ । ३ हजार २०० विन्दु पार गरी ऐतिहासिक विन्दु कायम गरेको नेप्से परिसूचक पछिल्लो समय २ हजार विन्दु मुनि रहेको छ । चुनावपछि देशमा  सृजना हुने माहोलले धितोपत्र बजारमा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया लगानीकर्ताका नेताहरुले दिएका छन् ।

राधा पोखरेल 
अध्यक्ष 
नेपाल पूँजीबजार लगानीकर्ता संघ 

चुनावी वर्षहरूमा शेयर बजार सधैं बढेको नै पाइन्छ । चुनावको समयमा बैंकिङ्ग प्रणालीमा तरलता सहज हुन्छ । यसले गर्दा शेयर बजारमा सकारात्मक प्रभाव पर्दछ ।  यसपालि हाम्रा साथीहरू पनि चुनावमा उठ्नु भएको छ । उहाँहरूले जितेर संसद्मा पुगेपछि आगामी दिनमा पूँजीबजारका समस्या समाधान हुन्छन्  भन्नेमा विश्वस्त छु । पूँजीबजार विकास र विस्तारका लागि नियम कानून बनेपनि कार्यान्वयन हुन जरुरी छ । चुनावपछि नयाँ सरकार बन्नेछ भने अर्थमन्त्री पनि नयाँ हुनेछन् । नयाँ बन्ने सरकारले शेयर बजारको विकास र विस्तारका लागि राम्रो गर्नेछ भन्नेमा विश्वस्त छु । 

 

 

 

 

 

 

 

 

 

छोटेलाल रौनियार 
पूर्वअध्यक्ष
नेपाल इन्भेष्टर्स फोरम 

चुनावी अगाडि नै शेयर बजारका लागि राम्रो सूचना आइरहेको थियो । रेमिट्यान्स बढेको छ, अझै बढ्ने क्रम जारी छ, यो पनि अर्थतन्त्र र पूँजीबजारका लागि सकारात्मक पाटो हो ।  पछिल्लो समय तरलता सहज हुँदै गएको छ भने ब्याजदर घट्ने क्रममा रहेको छ । १५ महीनामा ३ हजार २०० बाट बजार १ हजार ९०० मा आएको छ । अधिकांश कम्पनीहरूको शेयर मूल्य निकै तल आएको छ ।  शेयर बजारमा जोखिम त हुन्छ नै, यति बेला लगानी गर्ने हो भने २० प्रतिशत जोखिम छ तर ८० प्रतिशत प्रतिफल नै प्राप्त हुने देख्छु । यो समय भनेको खरीद गर्ने समय हो ।  कम्पनीहरूले लाभांश घोषणा गर्न थालेका छन् । पूँजीबजार विकास विस्तारका लागि नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सेचन्ज, बुक विल्डिङको कार्य पाइपलाइनमा रहेका छन् । यसले गर्दा अब पूँजीबजार आगामी दिनमा धेरै राम्रो हुने अपेक्षा छ । 

 

 

 

 

 

 

 

अम्बिकाप्रसाद पौडेल 
सभापति 
उद्योग वाणिज्य महासंघको पूँजीबजार फोरम

ब्रोकरहरूको संख्या थपिँदै छ, नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रियामा छन्, बुक विल्डिङको कार्य अघि बढी रहेको छ । धितोपत्र बजार न्यून विन्दुबाट विस्तारै माथि लाग्दैछ ।  रेमिट्यान्स वृद्धिको ग्राफ बढ्दो छ । लामो समयपछि भुक्तानी सन्तुलन सकारात्मक छ । वैदेशिक मुद्रा सञ्चिति सुधार भइरहेको छ । लामो समयपछि सीडी रेसियो सुविधाजनक स्थानमा आएको छ, बैंकिङ्ग क्षेत्रको  निक्षेपले नयाँ उचाई कायम गरेको छ ।  कोरोना महामारी मत्थर भएसँगै पर्यटकको आगमन बढेको छ । कच्चा तेलको मूल्य चालू आर्थिक वर्षदेखि नै घटिरहेको छ । स्थानीय निर्वाचन सम्पन्न भएर प्रदेश र संघको निर्वाचन परिणामसमेत आउने चरणमा रहेकाले आगामी दिनमा पूँजीगत खर्च राम्रोसँग हुनेछ । 

यी सबै सकारात्मक कुराहरूले बिगतमा चिसिएको आर्थिक गतिविधि विस्तारै तात्दै गरेको देखिन्छ । आशा गरौं आगामी दिनमा आर्थिक सूचकांकमा अझै सुधार भई अर्थतन्त्र थप चलायमान भई राजस्व लक्ष्य अनुरुप प्राप्ति हुने छ भने क्रमश : ऋणको ब्याजदर पनि घट्ने छ । यस कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । 

यद्यपि, पूँजीबजार लगानीकर्ताको मनोविज्ञानमा चल्ने गर्छ । लगानीकर्ता सकारात्मक हुन थालेपछि बजारको गति पनि सोही अनुसार अगाडि बढ्नेछ  ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)