ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कांग्रेसले जितेका २८ सिट : १८ सिट खोसिँदा एमालेलाई धक्का

२०७९ मंसिर, ८  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट सांसदमा निर्वाचित भएका थिए, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल । ५ वर्षपछि सोही क्षेत्रबाट एमालेबाट चुनाव लडेका उनले जित दोहोर्याउन सकेनन् । उनी यो क्षेत्रबाट नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित भए । 

यस्तै नियति भोगे, ललितपुर–१ का एमाले उम्मेदवार नवराज सिलवालले पनि । उनी पनि कांग्रेस उम्मेदवार उदयशम्शेर जबरासँग पराजित भए । जबरा तिनै व्यक्ति हुन्, जसलाई सिलवालले ५ वर्षअघिको प्रतिनिधिसभा निर्वाचनमा हराएका थिए । 

यी दुई निर्वाचन क्षेत्रमा मात्रै होइन, बिहीवार अपराह्न ३ बजेसम्म कांग्रेसले जितेका २८ सिटमा एमालेले १८ सिट गुमाएको छ । यसमा एमालेलाई सबैभन्दा ठूलो धक्का लागेको छ । एमालेले काठमाडौं–५ र ललितपुर–१ सँगै मुस्ताङ–१, म्याग्दी–१, सिन्धुली–१, दार्चुला–१, कञ्चनपुर–२, बाँके–३, कञ्चनपुर–३, ओखलढुंगा–१, मनाङ–१, भक्तपुर–२, ललितपुर–१, दैलेख–२, सुर्खेत–२, काठमाडौं–३, तनहुँ–२, अछाम–२ र तनहुँ–१ सिट गुमाएको छ । 

कुन क्षेत्रमा कसले जिते ?

यो चुनावमा कांग्रेसले एमालेबाट खोसेको पहिलो क्षेत्र हो– मुस्ताङ–१ । यो चुनावमा कांग्रेसले यही क्षेत्रबाट प्रतिनिधिसभामा जितको खाता खोलेको हो । प्रतिनिधिसभामा कांग्रेसलाई जितको खाता खुलाउने उम्मेदवार हुन्, योगेश गौचन थकाली । अघिल्लो चुनावमा यो क्षेत्रबाट एमालेका प्रेमप्रसाद तुलाचन सांसद् बनेका थिए । 

कांग्रेसले एमालेबाट खोसेको अर्काे क्षेत्र हो, म्याग्दी–१ । अघिल्लो चुनावमा एमालेका भूपेन्द्र थापाले जितेको यो क्षेत्रमा अहिले कांग्रेसका खमबहादुर गर्बुजा निर्वाचित भएका छन् । 

एमालेले गुमाएका क्षेत्रमध्ये सिन्धुली–१ बाट कांग्रेसका श्यामप्रसाद घिमिरे, दार्चुला–१ बाट दिलेन्द्रप्रसाद बडू, कञ्चनपुर–२ बाट एनपी साउद, कञ्चनपुर–३ बाट रमेश लेखक, बाँके–३ बाट किशोरसिंह राठौर, ओखलढुंगा–१ बाट रामहरि खतिवडाले चुनाव जितेका छन् । अघिल्लो चुनावमा सिन्धुली–१ बाट एमालेका गणेशकुमार पहाडी, दार्चुला–१ बाट गणेशसिंह ठकुन्ना, कञ्चनपुर–२ बाट नरबहादुर धामी, कञ्चनपुर–३ बाट दीपकप्रकाश भट्ट, बाँके–३ बाट नन्दलाल रोका क्षेत्री र ओखलढुंगा–१ बाट यज्ञराज सुनुवार सांसद निर्वाचित भएका थिए । 

एमालेले गुमाएका सिटमध्ये मनाङ–१ बाट टेकबहादुर गुरुङ, भक्तपुर–२ दुर्लभ थापा, ललितपुर–१ बाट उदयशम्शेर जबरा, दैलेख–२ बाट दिक्पाल कुमार शाही, सुर्खेत–२ बाट हृदयराम थानी, काठमाडौं–३ बाट सन्तोष चालिसे, तनहुँ–२ बाट शंकर भण्डारी, अछाम–२ बाट पुष्पबहादुर शाह र तनहुँ–१ बाट रामचन्द्र पौडेल विजयी भएका छन् । 

अघिल्लो चुनावमा मनाङ–१ बाट पोल्देन छोपाङ गुरुङ, भक्तपुर–२ महेश बस्नेत, ललितपुर–१ बाट नवराज सिलवाल, दैलेख–२ बाट राजबहादुर बुढा क्षेत्री, सुर्खेत–२ बाट नवराज रावत, काठमाडौं–३ बाट कृष्णबहादुर राई, तनहुँ–२ बाट केदार सिग्देल, अछाम–२ बाट यज्ञबहादुर बोगटी र तनहुँ–१ बाट कृष्णकुमार श्रेष्ठले चुनाव जितेका थिए । 

कांग्रेसले एमालेले जितेका १८ सिट मात्रै खोसेको छैन, अघिल्लो चुनावमा नेकपा माओवादी केन्द्रले जितेका क्षेत्रमा पनि जित हासिल गरेको छ । यद्यपि, यो चुनावमा कांग्रेस, माओवादी केन्द्रलगायतका दलले गठबन्धन बनाएर चुनाव लडेका छन् । अघिल्लो चुनावमा भने एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएर चुनाव लडेका थिए । 

अघिल्लो चुनावमा माओवादी केन्द्रले जितेका ३ क्षेत्रमा कांग्रेसले जित हासिल गरेको छ, जसमा कैलाली–४, गोरखा–१ र झापा–१ छन् । यो चुनावमा कैलाली–४ बाट वीरबहादुर बलायर, गोरखा–१ बाट राजेन्द्र बजगाईं र झापा–१ बाट विश्वप्रकाश शर्माले जित हासिल गरेका छन् । २०७४ सालमा कैलाली–४ बाट लेखराज भट्ट, गोरखा–१ बाट हरिराज अधिकारी र झापा–१ बाट सुरेन्द्रकुमार कार्की सांसद निर्वाचित भएका थिए । 

अघिल्लो चुनावमा कैलाली–४ बाट चुनाव लडेका माओवादी केन्द्रका लेखराज भट्ट अहिले एमाले सचिव छन् । 

कांग्रेसले तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबाट पनि १–१ सिट खोसेको छ । कांग्रेसले तत्कालीन संघीय समाजवादी फोरमबाट पर्सा–२ र तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का पर्सा–४ को सिट खोसेको हो । पर्सा–२ बाट कांग्रेसका अजयकुमार चौरसिया र पर्सा–४ बाट रमेश रिजालले जित हासिल गरेका छन् । रिजाल तिनै उम्मेदवार हुन्, जो अघिल्लो चुनावमा तत्कालीन राजपाबाट उम्मेदवार थिए । अघिल्लो चुनावमा पर्सा–२ बाट भने तत्कालीन संघीय समाजवादीका विमलप्रसाद श्रीवास्तवले जित हासिल गरेका थिए । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी एकीकरण भई जनता समाजवादी पार्टी, नेपाल बनेको थियो । तर, अहिले उक्त पार्टी दुई चिरामा विभक्त छ । एक, जनता समाजवादी पार्टी, नेपाल र अर्काे, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल । 

५ सिटमा दोहोरिए कांग्रेस उम्मेदवार 

कांग्रेसले जितेका २८ सिटमध्ये ५ सिटमा कांग्रेस उम्मेदवार नै पुन: निर्वाचित भएका छन् । यो चुनावमा डडेलधुरा–१, काठमाडौं–१, काठमाडौं–४, काठमाडौं–१० र रसुवा–१ बाट कांग्रेस उम्मेदवारहरू दोहोरिएका हुन् । 

डडेलधुरा–१ बाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुन: निर्वाचित हुनुभएकाे छ । यस्तै, काठमाडौं–१ बाट प्रकाशमान सिंह, काठमाडौं–४ बाट गगन थापा, काठमाडौं–१० बाट राजेन्द्र कुमार केसी र रसुवा–१ बाट मोहन आचार्य पुनः निर्वाचित भएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)