ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ दलले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने ! 

२०७९ मंसिर, ९  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत देशभर मतगणना भइरहेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार बिहीवार राति ९ः३० सम्म समानुपातिक निर्वाचनतर्फ करिब २९ लाख मतगणना भइसकेको छ । यो करिब कूल मतको एक चौथाइ हो । 

कूल मतको एक चौथाइ मतगणना भइसक्दा कुन दलले राष्ट्रिय पार्टीको मान्यता पाउलान् भन्ने चासो देखिएको छ । यसबारे चर्चा गर्नुअघि राष्ट्रिय पार्टीको मान्यताबारे ऐनमा भएको व्यवस्थाबारे बुझौं । 

राजनीतिक दलसम्बन्धी ऐनमा प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । ‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्नेछ,’ ऐनमा भनिएको छ । 

अब दलहरूले पाएको कूल मतको चर्चा गरौं । आयोगका अनुसार बिहीवार राति ९ः३० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ गणना भएकाे कूल सदर मतको संख्या २८ लाख ९५ हजार ५१५ छ, जसमध्ये नेकपा एमालेले ७ लाख ६२ हजार ३३२ मत पाएको छ । यो कूल सदर मत संख्याको २६.३२ प्रतिशत हो । 

समानुपातिक मतका आधारमा दोस्रो स्थानमा छ, नेपाली कांग्रेस । उसले ७ लाख ३३ हजार ६४६ मत पाएको छ । यो कूल सदर मतको २५.३३ प्रतिशत हो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख ६१ हजार ९३३ (१२.४९ प्रतिशत), नेकपा माओवादी केन्द्रले ३ लाख ३६ हजार ५२३ (११.६२ प्रतिशत), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ लाख ९३ हजार ६६ (६.६६ प्रतिशत) र जनता समाजवादी पार्टीले १ लाख २ हजार ६०९ (३.५४ प्रतिशत) मत पाएका छन् । 

समानुपातिक निर्वाचनतर्फ अन्य दलले ३ प्रतिशतभन्दा कम मत पाएका छन् । जनमत पार्टीले २.१२, नागरिक उन्मुक्ति पार्टीले २, नेपाल मजदूर किसान पार्टीले १.८३, नेकपा एकीकृत समाजवादीले १.७५ र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १.६० प्रतिशत मत पाएका छन् । समानुपातिकतर्फ मत पाएका कूल ४७ दलमध्ये ३६ दलले १ प्रतिशत मत पनि पाएका छैनन् । निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कूल ४८ ओटा दलले भाग लिएका छन् । 

यही आधारमा दलहरूको मत बाँडिने हो भने एमाले, कांग्रेस, स्वतन्त्र पार्टी, माओवादी केन्द्र, राप्रपा, जसपा नेपाल मात्रै राष्ट्रिय दलको मान्यता पाउनेछन् । किनकि यी दलहरूको मात्रै समानुपातिक मत ३ प्रतिशतभन्दा बढी हुनेछ । र, यी दलले राष्ट्रिय पार्टीको मान्यताका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चाहिने सिट जितिसकेका छन् । 

निर्वाचन आयोगका अनुसार हालसम्म एमालेले प्रतिनिधिसभाकाे २२ सिट जितिसकेको छ । यस्तै, कांग्रेसले ३६, माओवादी केन्द्रले ९, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ४ र जसपा नेपालले २ सिट जितेका छन् । 

अन्य दलले राष्ट्रिय दलकाे मान्यताका लागि भने अहिले पाएकाे मत प्रतिशत बढाउनुपर्ने हुन्छ । 

अघिल्लो चुनावमा ५ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका थिए । अघिल्लो चुनावमा एमाले, कांग्रेस, माओवादी केन्द्रसहित तत्कालीन राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले राष्ट्रिय दलको मान्यता पाएका थिए । तीमध्ये राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच एकता भई जनता समाजवादी पार्टी, नेपाल गठन गरियो । तर, उक्त पार्टी अहिले दुई चिरामा विभाजन भइसकेको छ । जसमध्ये एक जनता समाजवादी पार्टी, नेपाल छ भने अर्काे लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल रहेको छ । 

राष्ट्रिय दलका लागि कति मत चाहिन्छ ? 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ । यस आधारमा देशभरका देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता १ करोड ९ लाख ७० हजारले मतदान गरेको आयोगको अनुमान छ । यसका आधारमा समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि ३ लाख २० हजारभन्दा बढी मत ल्याउनुपर्ने देखिन्छ । 

के सुविधा पाउँछन् राष्ट्रिय दलले ? 

राष्ट्रिय दलको मान्यता पाएका पार्टीले संसद्मा एउटा संसदीय दलको कार्यालयसहित सांसदको संख्या अनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन् । त्यस्तै राष्ट्रिय दलले हरेक निर्वाचनमा आफ्नो चुनाव चिन्ह कायम राख्ने सुविधा पाउँछन्  । तर, राष्ट्रिय दलको मान्यता असफल भएका पार्टीहरूले हरेक निर्वाचनमा त्यही चुनाव चिह्न पाउँछन् । यद्यपि निर्वाचन आयोगले उनीहरूले रोजेको चुनाव चिन्ह प्रदान गर्दै आएको छ।

यससँगै राष्ट्रिय मान्यता प्राप्त दलले पाएको मत अनुसार मतपत्रमा चुनाव चिन्ह पनि सबैभन्दा अगाडिबाट क्रमशः राखिने गरिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)