ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रोभिजनमा धेरै रकम छुट्याउँदा अधिकांश लघुवित्तको नाफामा गिरावट, १४ कम्पनी नोक्सानीमा  

२०७९ मंसिर, १२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । हालसम्ममा ६० ओटा लघुवित्त वित्तीय संस्थाहरूले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

कम्पनीहरूले सार्वजनिक गरेको विवरणअनुसार यी लघुवित्त कम्पनीहरूले चालू आवको पहिलो त्रैमासमा कुल रू. १ अर्ब ५९ करोडभन्दा बढी नाफा कमाएका छन् । लघुवित्त वित्तीय संस्थाहरूको यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ४३ प्रतिशतले घटेको छ । 

गत आवमा कम्पनीहरूले कुल रू. २ अर्ब ७९ करोडभन्दा बढी नाफा कमाएका थिए । चालू आवमा कम्पनीहरूले प्रोभिजनबापत धेरै रकम छुट्याउँदा नाफा घटेको हो । त्यसैगरी खराब कर्जा बढेको र खुद ब्याज आम्दानी घटेकाले पनि नाफा प्रभावित भएको देखिन्छ ।

‘ब्याजदर बढेकाले लघुवित्तको नाफा घटेको हो,’ लघुवित्तविज्ञ उदयराज खतिवडाले भने, ‘लघुवित्त कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाहरूबाट महँगो ब्याजदरमा कर्जा सापटी लिएर आफ्ना शेयर सदस्यहरूलाई कर्जा लगानी गर्छन्, त्यसैले ब्याज खर्चमा वृद्धि भई कष्ट अफ फण्ड बढेकाले नाफामा असर परेको हो ।’ 

६० लघुवित्त कम्पनीहरूमध्ये सबैभन्दा बढी नाफा छिमेक लघुवित्त वित्तीय संस्थाले रू. ३२ करोड ९१ लाख नाफा कमाएको छ । यस कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा ५३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. २१ करोड ४१ लाख नाफा कमाएको थियो ।

त्यसैगरी दोस्रोमा साना किसान लघुवित्तले चालू आवमा रू. २३ करोड २७ लाख नाफा कमाएको छ । त्यसैगरी अभियान लघुवित्तले रू. ३ लाख १५ हजार मात्र नाफा कमाएको छ । यस कम्पनीको नाफा सबैभन्दा कम रहेको देखिन्छ । वित्तीय विवरण प्रकाशित गरेका कम्पनीहरूमध्ये १४ कम्पनी नोक्सानीमा रहेका छन् ।

किसान  लघुवित्त, सबैको लघुवित्त, विन नेपाल लघुवित्त, एनएमबि लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, स्वाभिमान लघुवित्त, गुराँस लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, लक्ष्मी लघुवित्त, युनिक नेपाल लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त,स्वस्तिक लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्था नोक्सानीमा छन् । 

नोक्सानीमा रहेका १३ कम्पनीमध्ये सबैभन्दा बढी किसान लघुवित्त वित्तीय संस्थाले रू. ४ करोड ३७ लाख नोक्सानी ब्यहोरेको छ । ६० ओटा कम्पनीमध्ये हाल नेप्सेमा ५१ लघुवित्त कम्पनीहरूको शेयर कारोबार हुँदै आएको छ भने बाँकी  कम्पनीको शेयर मर्जर तथा प्राप्तिका लागि रोक्का छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)