काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिन नेप्से परिसूचक निरन्तर घटेको हो ।
मंगलवारदेखि घटेको नेप्से बिहीवार पनि १४ दशमलव ४८ अंक अर्थात् शून्य दशमलव ७६ प्रतिशत तल झरेको हो । नेप्से परिसूचकसँगै यो दिन सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ५८ प्रतिशत घटेर ३६८ दशमलव शून्य ४ मा झरेको छ ।
बिहीवार रू. १ अर्ब १९ करोड २६ लाख १६ हजार बराबरको ४८ लाख ४ हजार २७९ कित्ता धितोपत्र खरीदविक्री भएको छ । २५४ कम्पनीको २२ हजार ३७४ पटकको व्यापारमा उक्त रकम बराबरको धितोपत्र खरीदविक्री भएको हो ।
कुल कारोबार रकममा यस दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक शेयरले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको रू. २२ करोड ८९ लाख ४२ हजार बराबरको १९ लाख २२ हजार २७० कित्ता संस्थापक शेयर कारोबार भएको हो । बिहीवार नै लाभांश सार्वजनिक गरेको शिवम् सिमेन्ट्सको यस दिन सर्वाधिक दोस्रोमा शेयर कारोबार भएको छ ।
शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको सञ्चित मुनाफबाट कर समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गत वर्ष २९ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीको यस वर्ष लाभांशमा कमि आएसँगै लगानीकर्ता विक्री गर्न होमिएका हुन् ।
लगानीकर्ता निरास भई विक्री चाप बढ्दा कम्पनीको शेयरमूल्य ४ दशमलव ७६ प्रतिशत घटेर अन्तिम मूल्य रू. ५२० कायम भएको छ । शिवम् सिमेन्ट्सको शेयरमूल्य बिहीवार प्रतिकित्ता रू. २६ ले घटेको हो । घटेको बजारमा यस दिन दुई कम्पनीको शेयर मूल्य उच्च दरमा बढेको छ । रूरू जलविद्युतको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत र इष्टर्न हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत बढेको हो । रूरू हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता रू. ७४ दशमलव २० ले बढेर अन्तिम मूल्य रू. ८१७ दशमलव १० र इष्टर्न हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. २३ दशमलव ७० ले बढेर अन्तिम मूल्य रू. २६१ द्यशमलव ३० पुगेको छ ।
बिहीवार एकै दिन कुल बजारपूँजीकरण करीब २१ अर्बले घटेको छ । बुधवार रू. २७ खर्ब ४२ अर्ब ४ करोड रहेको कुल बजार पूँजीकरण बिहीवार रू. २७ खर्ब २१ ऋर्ब ११ करोड २२ लाख कायम भएको हो । बुधवारको तुलनामा बिहीवार कुल बजारपूँजीकरण रू. २० अर्ब ९ करोडभन्दा बढीले घटेको छ ।