काठमाडौं । मुसा मारेर वर्षमै करोडौं रुपैयाँ कमाउने अवसर पाउनु भयो भने तपाई त्यस्तो काम गर्नु हुन्छ ?
अमेरिकाको न्यूयोर्क राज्यले मुसा आतंक कम गर्न मुसा मार्न सक्ने व्यक्ति खोजीरहेको छ ।
शहरको मेयर र उपमेयरको कार्यालयले यो महीनाको शुरुमा मुसा मार्ने पदका लागि एउटा विज्ञापन निकालेको छ ।
पदको नाम मूसा न्यूनीकरण निर्देशक हो । अनुभवका आधारमा यो काममा वार्षिक तलब १ लाख २० हजार देखि १ लाख ७० हजार डलर सम्म पाउन सकिने छ ।
१ लाख ७० हजार डलर भनेको नेपालको झन्डै सवा २ रुपैयाँ हुन्छ । काम भने साताको २४ सैं घन्टाको भएको बताइएको छ । विज्ञापनमा आवेदन दिने व्यक्ति चाँहि न्यूयोर्कमै बस्ने हुनु पर्नेछ ।
शहरी योजना, परियोजना व्यवस्थापन वा सार्वजनिक परियोजना जुन क्षेत्रमा भएपनि ५ देखि ८ वर्ष काम गरेको अनुभव आवेदकमा हुनु पर्नेछ । यी केही अनुभव नभए मुसा मारेको अनुभव हुनेले पनि आवेदन दिन पाउनेछन् ।
यो विज्ञापन अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।
नगरले यो कामको लागि अति नै उत्प्रेरित अनि केही हदसम्म रक्तपिपासु व्यक्ति खोजिरहेको छ । यो कामका लागि आवेदन दिनेले स्नातक तह उत्तिर्ण गरेको हुनु पर्ने बताइएको छ । स्नातक सरहको पढाई भएपनि पुग्नेछ ।
‘असम्भव काम गर्न सक्ने क्षमता तपाईसँग छ ?’ विज्ञापनमा भनिएको छ । मुसालाई घृणा गर्ने अनि सबैभन्दा महत्वपूर्ण मुसा मार्ने दृढ संकल्प र हत्यारा प्रवृत्ति भएको व्यक्ति खोजिएको छ ।
निर्देशकले मूसाको जनसंख्या न्यूनीकरण गर्न विविध सरकारी एजेन्सीसँगको सहकार्यमा काम गर्नेछन् । सफल उमेदवार नगरको मुसा विरुद्धको लडाईमा सार्वजनिक अनुहार हुनेछन् ।
न्यूयोर्कमा मुसाको संख्या कति छ भन्ने स्पष्ट छैन । अहिले मानिसको जनसंख्या भन्दा मुसाको जनसंख्या धेरै भएको बताइएको छ ।
केहीले भने मुसाको जनसंख्या ८० लाख भन्दा धेरै रहेको बताइरहेका छन् । सन् २०१४ तिर त्यहाँ करीब २० लाख मुसा भएको अनुमान गरिएको थियो ।
अहिले म्सा नगरको सबैभन्दा ठूलो जनस्वास्थ्य चुनौती बनेको छ । नगरले अहिले सामना गरिरहेको मुसा आतंक जसरी भएपनि अन्त्य गर्ने सुरमा मेयर एरिक एडम्स छन् । गत वर्षको सोही अवधिको तुलनामा यो वर्षको पहिलो ८ महीनामा न्यूयोकर्मा मुसासम्बन्धी ऊजुरीहरु ७० प्रतिशतले बढेको छ ।
बजेट अभावबीच नगरले ४ हजार ७०० रिक्त पदपूर्तिको विज्ञापन कटौती गरेको एक हप्तामै मुसा मार्ने व्यक्ति खोजेको हो ।
बजेट जुटाउन नगरको सरसफाई विभागले ‘यो शहर मुसाले चलाउने होइन, हामीले हो,’ भन्ने नारा प्रिन्ट गरेको टि–शर्ट प्रतिगोटा ४८ डलरमा बेचिरहेको छ । एजेन्सी