ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मङ्सिरमा १५ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन, कात्तिकको तुलनामा करीब साढे ५ करोड बढी

२०७९ पौष, ५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । धितोपत्रको दोस्रो बजारका लगानीकर्ताले मङ्सिरमा सरकारलाई १५ करोड २४ लाख रुपैयाँभन्दा बढी कर बुझाएका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार दोस्रो बजारका लगानीकर्ताले नाफा कमाएबापत सरकारलाई उक्त कर बुझाएका हुन् । सरकारले दोस्रो बजारका लगानीकर्ताबाट पूँजीगत लाभकर शीर्षकमा कर संकलन गर्छ ।

धितोपत्रको दोस्रो बजार घटिरहे पनि कात्तिकको तुलनामा मङ्सिरमा पूँजीगत लाभकर बढेको छ । कात्तिकमा सरकारले पूँजीगत लाभकरबापत ९ करोड ८१ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेको थियो । कात्तिकको भन्दा मङ्सिरमा सरकारले ५ करोड ४३ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । 

धितोपत्रको दोस्रो बजार मापक नेप्से परिसूचक कात्तिक मसान्तमा १ हजार ९११ दशमलव २६ विन्दुमा रहेकोमा मङ्सिर मसान्त हुँदा १ हजार ८८२ दशमलव ६० विन्दुमा झरेको छ । यो १ महीनामा दोस्रो बजारको समग्र कारोबार मापक परिसूचक (नेप्से) २८ दशमलव ६६ अंकले घटेको छ । यसबीचमा लगानीकर्र्ताको सम्पत्तिको मूल्य २८ अर्ब १२ करोड रुपैयाँभन्दा धेरैले घटेको छ । कात्तिक मसान्तसम्म २७ खर्ब ४९ अर्ब २३ करोड ५८ लाख रहेको दोस्रो बजारको कुल बजार पूँजीकरण मङ्सिर मसान्तमा २७ खर्ब २१ अर्ब ११ करोड २२ लाख रुपैयाँमा झरेको हो । लगानीकर्ताको सम्पत्तिको मूल्य घटे पनि सरकारको कर संकलन भने बढेको देखिएको छ ।

धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले घटेको बजारमा सबै लगानीकर्ताले घाटामै धितोपत्र विक्री गर्छन् भन्ने नभएको बताए । कात्तिकको तुलनामा मङ्सिरमा धितोपत्र बजारका लगानीकर्ताले सरकारलाई नाफा कमाएबापत तिरेको कर रकम वृद्धि भएको अवस्थालाई नाफामा शेयर विक्री गर्ने लगानीकर्ता बढी रहेको रूपमा बुभ्mन सकिने पराजुलीको भनाइ छ ।

मङ्सिरमा घटेको बजारमा कारोबार गर्ने लगानीकर्तामध्ये धेरैले नाफामै शेयर विक्री गरेकाले पनि पूँजीगत लाभकर बढेको पराजुलीको भनाइ छ । ठूला भोलममा भएको कारोबार नाफामा भएको हुनसक्ने पराजुलीले अनुमान गरे । उनले उदाहरण दिँदै मङ्सिरमा शिवम् सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको र उक्त कारोबार गर्ने लगानीकर्ता धेरैजसो घाटामा नभएको हुन सक्ने बताए ।

सीडीएससीले दिएको तथ्यांक अनुसार मङ्सिरमा अल्पकालीनभन्दा दीर्घकालीन लगानीकर्ताले बढी पूँजीगत लाभकर तिरेका छन् । अल्पकालीन लगानीकर्ताबाट ६ करोड ३० लाख रुपैयाँभन्दा बढी कर संकलन भएकोमा दीर्घकालीनबाट ८ करोड ९४ लाखभन्दा बढी संकलन भएको छ । यो तथ्यांक हेर्दा लामो समय आफ्नो लगानी सुरक्षित गरी नाफा कमाएका लगानीकर्ता कारोबारमा सहभागी भएको अनुमान लगाउन सकिन्छ । कात्तिकमा पनि अल्पकालीन लगानीकर्ताको तुलनामा दीर्घकालीनले बढी कर तिरेका थिए । कात्तिकमा अल्पकालीन लगानीकर्ताबाट ४ करोड ७१ लाखभन्दा बढी र दीर्घकालीनबाट ५ करोड १० लाख रुपैयाँभन्दा बढी कर संकलन भएको थियो । धितोपत्र बजारका लगानीकर्ताले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्दै आएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)