ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१२ ओटा वाणिज्य बैंकले घटाए लाभांश, एभरेष्ट र नेपाल एसबिआईले भने दोब्बरले बढाए

२०७९ पुस, ८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । गत वर्ष शेयरधनीहरूलाई ३८ प्रतिशत लाभांश बाँडेको नबिल बैंकले यस वर्ष भने ३० प्रतिशत मात्रै लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले यही पुस २९ गते साधारणसभा बोलाएको छ । 

गत वर्षको तुलनामा लाभांशदर घटाउने अर्काे बैंक हो– एनएमबि बैंक । गत वर्ष १५.८ प्रतिशत लाभांश बाँडेको उसले यस वर्ष भने ८.२५ प्रतिशत मात्रै लाभांश दिन लागेको हो । उसले लाभांशलगायत प्रस्ताव पारितका लागि पुस २५ गते साधारणसभा गर्ने निर्णय गरेको छ । 

नबिल र एनएमबि मात्रै होइनन्, यस वर्ष लाभांश घोषणा गरेका २० ओटा वाणिज्य बैंकहरूमध्ये १२ ओटाको लाभांशदर घटेको छ । लाभांशदर घटाउने बैंकहरूमा सिद्धार्थ, सानिमा, हिमालयन, प्रभु, सेञ्चुरी कमर्सियल, नेपाल इन्भेष्टमेण्ट, प्राइम कमर्सियल, मेगा, सिटिजन्स र नेपाल बैंक छन् । तीमध्ये सबैभन्दा बढी लाभांशदर घटाउने बैंक प्राइम कमर्सियल हो । उसको लाभांशदर गत वर्षको तुलनामा झण्डै आधाले घटेको छ । गत वर्ष १६.६३ प्रतिशत लाभांश बाँडेको प्राइम कमर्सियलले यस वर्ष ८.९५ प्रतिशत लाभांश वितरण गर्दैछ । 

सबैभन्दा कम लाभांशदर घटाउनेमा भने सेञ्चुरी कमर्शियल बैंक छ । गत वर्ष ६.०५ प्रतिशत लाभांश वितरण गरेको सेञ्चुरीले यस वर्ष ५ प्रतिशत लाभांश बाँड्दैछ । कम्पनीले आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश दिने गरेका छन् । पूँजी वृद्धि गरे अनुसार बैंकहरूले नाफा वृद्धि गर्न नसक्दा लाभांश दर घटेकोे जानकार बताउँछन् । 

कम्पनीले अघिल्लो आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश दिने गरेका छन् । 

७ ओटाको लाभांशदर बढ्यो, एभरेष्ट र नेपाल एसबिआईको दोब्बर  

यस वर्ष ७ ओटा बैंकको लाभांशदर बढेको छ, जसमा एभरेष्ट, बैंक अफ काठमाण्डू, नेपाल क्रेटिड एण्ड कमर्श, ग्लोबल आईएमई, नेपाल एसबिआई, कुमारी र स्ट्याण्डर्ड चार्टर्ड छन् । तीमध्ये एभरेष्ट बैंकको लाभांशदर दोब्बरले बढेको हो । गत वर्ष १०.३२ प्रतिशत लाभांश बाँडेको एभरेष्ट बैंकले यस वर्ष शेयरधनीहरूलाई २०.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव साधारणसभाले पारितसमेत गरिसकेको छ । 

यस्तै, नेपाल एसबिआई बैंकको लाभांशदर पनि करिब दोब्बरले बढेको छ । गत वर्ष ५.३१ प्रतिशत लाभांश वितरण गरेको नेपाल एसबिआईले यस वर्ष शेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश बाँड्न लागेको हो । 

बोनस शेयरभन्दा नगद लाभांश प्राथमिकतामा 

लाभांश घोषणा गरेका बैंकहरूमध्ये अघिकांशले बोनस शेयरभन्दा नगद लाभांशलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेका बैंकहरूमध्ये कुमारी, स्ट्याण्डर्ड चार्टर्ड, एनएमबि र सिटिजन्स बैंक इन्टरनेशनलले शेयरधनीहरूलाई नगद लाभांश मात्रै दिएका छन् ।

अन्य १६ बैंकले घोषणा गरेको कूल लाभांश मध्ये ८ ओटाको नगद लाभांश बढी छ । बाँकीको बोनस शेयर बढी छ । 

१० बैंकको पारित, बाँकीको यही मसान्तमा 

लाभांश घोषणा गरेका बैंकहरूमा १० ओटाले साधारणसभाबाट लाभांश पारित गरेका छन् । एभरेष्ट, बैंक अफ काठमाण्डू, स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, कुमारी, सानिमा, सिटिजन्स, एनसीसी, नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक नेपालले वार्षिक साधारण सभाबाट लाभांश पारित गरेका हुन् । बाँकीले भने यही मसान्तसभित्र साधारण सभा सम्पन्न गर्ने गरी मिति तय गरेका छन् । 

४ ओटाले लाभांश वितरण नगर्ने, कृषि विकासको अझै घोषणा भएन 

नेप्सेमा सूचीकृत २५ वाणिज्य बैंकमध्ये ४ ओटाले भने लाभांश वितरण नगर्ने निर्णय गरेका छन्, जसमा सन्राइज, माछापुच्छ्रे, लक्ष्मी र एनएआईसी एशिया बैंक छन् । नेपाल राष्ट्र बैंकले तोके अनुसारको पूँजी कोष कायम राख्न नसक्दा यी बैंक लाभांश वितरणबाट वञ्चित भएका हुन् । 

कृषि विकास बैंकले भने हालसम्म लाभांश वितरण गर्ने घोषणा गरेको छैन । 

कसकाे लाभांश कति ?

स्रोत : कम्पनीको सूचनाबाट । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)