ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्व अर्थतन्त्र मन्दीमा जाने प्रक्षेपणमा अधिकांश अर्थशास्त्री सहमत, कति गहिरो जाला मन्दी ?

२०७९ पुस, १२  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौैं । आर्थिक मन्दी भन्ने बित्तिकै हामी सबैको कान ठाडो भइहाल्छ । मन्दीमा अर्थतन्त्र खुम्चन्छन्, लाखौंले भइरहेको जागिर गुमाउँछन् । सर्वसाधारण देखि उच्च पदस्थसम्मको दैनिकी सकसमा पुग्छ ।

हालैका महीनाहरुमा विश्व अर्थतन्त्र मन्दीमा जाने भविष्यवाणीहरु चर्किएका छन् । अर्थशास्त्रीहरुले मन्दीको प्रक्षेपण गरिरहेका छन् । कसैले मन्दी गहिरो हुने बताइरहेका छन् भने कसैले सतही भनिरहेका छन् । मन्दी लामो हुुन्छ कि छोटो भन्ने पनि बहसकै विषय बनेको छ । अर्थतन्त्र निश्चित समयसम्म मन्दीमा जान्छ भन्नेमा चाँहि अधिकांश अर्थशास्त्रीहरु सहमत देखिएका छन् । 

आकाशिएको महँगी नियन्त्रण गर्न विश्वभर केन्द्रीय बैंकहरुले धमाधम ब्याजदर बढाउँदै गर्दा कर्जाको लागत महँगो बनेकोले विश्वका कयौं अर्थतन्त्रहरु खुम्चिने बहुराष्ट्रिय परामर्शदाता संस्था आर्थिक तथा व्यवसायिक अनुसन्धानका लागि केन्द्र (सीईबीआर)ले हालै आफ्नो उक्त प्रतिवेदनमा भनेको छ । २०२२ मा विश्व अर्थतन्त्र पहिलो पटक १ हजार खर्ब डलर नाघेको थियो । तर विश्वभर महँगी विरुद्धको लडाई जारी रहँदा आगामी वर्ष भने अर्थतन्त्र सुस्ताउने वल्र्ड इकोनोमिक लिग टेबलमा सीईबीआरले बताएको छ । 

ब्याजदरमा भइरहेको वृद्धिका कारण आगामी वर्ष विश्व अर्थतन्त्र मन्दीमा भाँसिन सक्ने सम्भावना बढेको सीईबीआरका निर्देशक के ड्यानिएल न्यूफेल्डले बताएका छन् । ‘महँगी विरुद्धको लडाईमा जित भइसकेको छैन । लडाई जारी छ । अर्थतन्त्रलाई सुस्ताएर भएपनि केन्द्रीय बैंकहरुले महँगीमाथि आगामी वर्ष पनि निशाना साध्नेछन्’ उनले भनेका छन् ।

महँगीलाई ओराल्न बढाइने ब्याजदरका कारण आगामी कयौं वर्षसम्म आर्थिक वृद्धिदर कमजोर हुने उनको भनाइ छ । सीईबीआरको पछिल्लो प्रतिवेदन बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को प्रतिवेदनभन्दा निकै निराशाजनक छ । अक्टोबरमा आईएमएफले २०२३ मा विश्वका एक तिहाईभन्दा धेरै अर्थतन्त्रहरु खुम्चिने बताएको थियो । विश्वको जीडीपी २ प्रतिशतभन्दा कमले बढ्ने सम्भावना २५ प्रतिशत भएको आईएमएफको भनाइ थियो । 

विकासशील देशहरु पनि धनी अर्थतन्त्रकै  दाँजोमा विस्तार हुँदा सन् २०३७ सम्ममा विश्वको जीडीपी दोब्बर बन्ने सीईबीआरले भनेको छ । त्यति बेला विश्व अर्थतन्त्रमा यूरोपको अनुपात २० प्रतिशतमा खुम्चिँदा पूर्वी एशिया र प्रशान्त क्षेत्रको अनुपात एक तिहाईमा पुग्ने अनुमान गरिएको छ । छिटोमा चीनले सन् २०३६ मा अमेरिकालाई विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रुपमा उछिन्नेछ । 

यो यस अघि अनुमान गरिएको भन्दा ६ वर्ष पछाडि हो । चीनले कोभिड नियन्त्रण गर्न अपनाएको शून्य सहनशीलताको नीति र पश्चिमसँग बढ्दो व्यापार तनावका कारण विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने चीनको सपना पछाडि धकेलिएको हो ।

चीनले ताइवानमा नियन्त्रण जारी राख्यो र प्रतिकारात्मक व्यापार प्रतिबन्धको सामना गरिरह्यो भने यो लक्ष्य झनै पछाडि धकेलिन सक्ने सीईबीआरले भनेको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि सारा विश्व प्रभावित बनेको छ । चीन र पश्चिमी देशहरुबीच चलिरहेको आर्थिक युद्धको परिणाम यो भन्दा कयौं गुणा भयानक हुन सक्ने बताइएको छ । 

इतिहासलाई केलाउने हो भने मुद्रास्फीति उच्च हुँदा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले महँगीमाथि अंकुश लगाउन धमाधम ब्याजदर बढाउने अनि यसका कारण आर्थिक सुस्ती वा मन्दी आउने गरेको मूडिज एनालिटिक्समा प्रमुख अर्थशास्त्री मार्क जान्डीले उल्लेख गरेका छन् ।

सधै यस्तै हुने गरेको अनि आफूहरुले यस अघि पटक पटक यस्तो अवस्था भोगेको उनी बताउँछन् । महँगी बढ्दा ब्याजदर बढ्छ अनि कर्जा महँगो भएपछि व्यवसाय र उपभोक्ता दुबैतिर माग सुस्ताउँछ । फेडले यस अघिका दुई ओटा मन्दीबाट अर्थतन्त्रलाई उद्धार गरेको थियो । तर अहिले फेड अर्थतन्त्रलाई मन्दीमै धकेलेर भएपनि महँगीलाई सहज स्तरमा ल्याउन लागि परेको छ ।

आगामी वर्षको शुरुसम्ममा फेडले ब्याजदर बढाएर ५ दशमलव १ प्रतिशतसम्म पुर्याउने अपेक्षा गरिएको छ । ब्याजदर वृद्धिको प्रभाव अहिले नै विश्वभर देखिन थालिसकेको छ । फेडको देखासिकीमा विश्वभर दर्जनौं बैंकहरुले ब्याजदर बढाइरहेका छन् । महँगी नियन्त्रण नभएसम्म नीतिनिर्माताहरुले महँगी विरुद्धको अस्त्र ब्याजदर वृद्धिलाई छाड्दैनन् । यस्तोमा अर्थतन्त्रहरुले सहज अवतरण पाउँछन् भनेर तर्क गर्न सक्ने अवस्था छैन । एजेन्सीहरु 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)