काठमाडौं (अस) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कुनै समय रेल्वेको प्लेटफर्ममा चिया बेच्थे रे । उनी अहिले देशकै प्रधानमन्त्री छन् । कुनै समय साइकलमा घर घरमा सामान बेच्न हिड्ने गौतम अदानी अहिले भारत मात्रै होइन एशियाकै सबैभन्दा धनी व्यक्ति हुन् ।
विश्वको सबैभन्दा धनीहरूको सूचीमा उनी तेस्रो स्थानमा छन् । ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सका अनुसार अदानीको नेटवर्थ १ खर्ब १९ अर्ब डलर छ । गएको २४ घन्टामा उनको सम्पत्ति २ अर्ब २७ करोड डलरले बढेको छ । अर्थात अदानीले प्रतिमिनेट १५ लाख ७६ हजार डलर कमाइ रहेका छन् । यो भनेको नेपाली २० करोड रुपैयाँ हो । जुन नेपालका टप कम्पनीका सीईओले वर्षभरीमा बुझ्ने तलव भन्दा पनि धेरै हो ।
फ्रान्सेली विजनेश म्याग्नेट बर्नार्ड आर्नो र अमेरिकी विधुतीय सवारी साधन निर्माता कम्पनी एलन मस्क बाहेक अरु सबैको व्यक्तिगत सम्पत्तिमा अदानी अगाडि छन् ।
ब्लुम्बर्गको सूचीमा सूचिकृत अर्बपतिहरुमध्ये सबैभन्दा धेरे नेटवर्थ बढ्ने व्यक्ति हुन् अदानी । यो वर्ष शुरु भएयता उनको नेटवर्थ ४२ अर्ब २० करोड डलरले बढेको छ । वर्षको शुरुमा ७५ अर्ब डलर नेटवर्थ सहित अदानी ब्लुम्बर्गको विश्वको १३ औं धनी व्यक्ति थिए ।
गुजराती परिवारमा जन्मिएका अदानीका पिता कपडा व्यापारी थिए । पढाईमा खासै अब्बल थिएनन्, औसत विद्यार्थी थिए अदानी । उनको ध्यान पढाईमा भन्दा व्यापार व्यवसायतिर धेरै थियो । उनी १५/१६ वर्षको उमेरमा साइकल वा स्कूटरमा कपडा राखेर घर घर पसल पसल बेच्न जान्थे । उनी निकै मिहेनती थिए ।
कलेज पढ्दा पढ्दै बीचमै पढाई छाडेर सय रुपया गोजीमा बोकी मुम्बई गए । त्यहाँ उनले एउटा हिरा बजारको हिरा ब्रोकरमा काम शुरु गरे । काम गरेको २/३ वर्षमा उनले व्यापार व्यवसाय कसरी गर्ने भन्ने सिके । अनि आफ्नै हिरा ब्रोकरेज खोले । यो उनको पहिलो व्यवसाय थियो । २० वर्षको उमेरमै उनी लखपति भइसकेका थिए ।
लगभग सोही बेला तिर अदानीको दाईले एउटा प्लाष्टिक कम्पनी खोले । अनि उनलाई आफूलाई सघाउन बोलाए । सन् १९८५ तिर उनले अयाात निर्यातको काम शुरु गरे । १९८८ मा अदानी एक्सपोर्ट खोेले । त्यो सानो कम्पनी अहिले अदानीको व्यापारिक घराना बनेको छ ।
सन् १९७० र ८० को दशकमा भारतीय उद्योगपतिहरुलाई विदेशमा ठूला पूर्वाधार परियोजना चलाउनु असम्भव थियो । भारत बाहिर अष्ट्रेलिया, श्रीलंका, इजरायल र इन्डोनेशिया जस्ता देशहरुमा पूर्वाधार परियोजना चलाउने पहिलो भारतीय उद्योगपति हुन् अदानी । सन १९९१ म भारतीय अर्थतन्त्रको उदारीकरण भयो । त्यसबेलासम्म उनको व्यवसाय ऊर्जा र कृषि क्षेत्रमा मात्रै केन्द्रित थियो । अदानीले विस्तारै अन्य क्षेत्रमा हात हाले । कपडा, धातु व्यापार थाले । सन् १९९३ मा अदानी बन्दरगाह र र विशेष आर्थिक क्षेत्रमा प्रवेश गरे ।
मुद्रा बन्दरगाह चलाउन गुजरात सरकारबाट करार गरे । अदानीले मुद्रालाई भारतको निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो बन्दरगाह बनाए । मुद्रा बन्दरगाह अदानी समूहको लागि कोशे ढुंगा साबित भयो । उनले आफ्नै रेलट्रयाक चलाए । १९९६ मा अदानी पावर खोले । अनि विस्तारै ऊर्जा उत्पादन व्यवसायमा हात हाले ।
व्यवसायलाई तेल र ग्यास उत्खनन अनि लजिष्टिकमा पनि विविधिकृत गरे । अदानी समूह भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको ऊर्जा उत्पादक बन्यो । समूहले अष्ट्रेलियामा ३५ वर्षदेखि एबट प्वाइन्ट टर्मिनल चलाइरहेको छ । पूर्वाधार, कोइलाको कारोबार र आयात, ऊर्जा, विमानस्थल, बन्दरगाह, ट्रान्सपोर्ट लजिष्टिक अदानीले हात नहालेको कुनै क्षेत्र नै छैन ।
गएको आवमा अदानी समूहले सरकारलाई कर मात्रै ७ खर्ब रुपया तिरेको उसको वेबसाइटले देखाएको छ । अदानीले व्यापार व्यवसायमा धेरैले डाह गर्ने प्रगति गरेका छन् । पैसा कमाएका छन् । उनको प्रगति धेरैको लागि प्रेरणा पनि बनेको होला ।
तर सरकारसँगको सम्बन्धको दुरुपयोग गरेर व्यापार व्यवसायमा नाफा गरेको, कानूनमा रहेको कमी कमजोरीको फाइदा उठाएर सस्तो मूल्यमा जग्गा किनेको लगायत आरोप उनीमाथि लाग्दै आएको छ । कोरोना भाइरसको महामारीको समय विश्वभर करोडौं मानिसहरू गरिबीको रेखामुनी धकेलिए ।
कति अर्बपति करोडपतिमा झरे । तर अदानीको सम्पत्ति आँधी झैं बढ्यो । अदानीले ७० देशमा सय भन्दा धेरै स्थानमा आफ्नो व्यापार फैलाएका छन् । १९७० को दशकमा मामुली हिरा व्यापारी अहिले भारतका सबैभन्दा ठूला व्यापारीमध्ये एक बनेका छन् । अहिले अदानी समूहको कूल कर्जा १८ खर्ब ८० अर्ब रुपया भएको बताइन्छ ।
जोखिम उठाउने हिम्मत र व्यवासय गर्ने प्रबल इच्छाका कारण नै अहिले अदानी विश्वकै सर्वाधिक धनीमा शीर्ष ३ भित्र परेका हुन् । एजेन्सी