ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयरबजारमा लगानी गर्दै हुनुहुन्छ ? नवप्रवेशीले जान्नै पर्ने ५ कुरा, 'नत्र कहिल्यै कमाउन सकिन्न !'

२०७९ पुस, १७  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । पछिल्लो समय शेयर बजारमा पुनः लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार बिहीवारसम्म डिम्याट अकाउन्ट खोल्नेको संख्या ५४ लाख ८४ हजारभन्दा बढी छ । एउटै कम्पनीको आईपीओमा २७ लाखभन्दा बढी आवेदन पर्ने गरेको उदाहरणले नै पछिल्लो समय युवापुस्तालगायत आम जनमानसमा शेयर बजारमा बढेको क्रेजलाई पुष्टि गर्छ ।

यसो त धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या पनि बढ्दो क्रममा छ । पछिल्लो एक वर्षभन्दा बढी समय घट्दो ट्रेण्डमा रहेको बजार पुनः बढ्न थालेको छ । नेप्से परिसूचक इतिहासकै उच्च विन्दु ३२ सय पुगेको बजार १८ सय विन्दु तल झरेको थियो । पछिल्लो केही दिनयता नयाँ सरकार गठन र अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएसँगै नेप्से पुनः २ हजार विन्दुमाथि पुगेको छ ।

४ कारोबार दिनमै १५० अंकभन्दा धेरै बढेको बजारमा विभिन्न किसिमका चर्चा चल्न थालेका छन् । बजारले फेरि नयाँ रेकर्ड कायम गर्ने हल्लै हल्लाबीच केही नयाँ लगानीकर्ताहरू पनि बजार प्रवेश गरिरहेका छन् ।

बजारमा दिनहुँजसो नयाँ लगानीकर्ता भित्रिने क्रम बढ्दो छ भने शेयर बजारप्रति आम लगानीकर्ताको चासो पनि बढ्न थालेको छ । यस क्षेत्रमा धेरैजसो मानिसहरू त बुझेर नै लागेका हुन्छन् भने कतिपय अरूले भनेकै भरमा लाखौ रूपैयाँ लगानी गरिरहेका हुन्छन् । यस्तो अवस्थामा गरिएको लगानी केही समय राम्रो देखिए पनि कालान्तरमा जोखिमयुक्त देखिएका उदाहरण धेरै छन् ।

कतिपय नयाँ लगानीकर्ताहरूलाई बजारमा कसरी लगानी गर्ने, कसरी प्रोफिट बुक गर्ने, कसरी शेयर बजारबाट मनग्ये कमाउने, घाटा हुनबाट कसरी बच्नेलगायतबारे  थाहा नहुन पनि सक्छ । किनभने पछिल्लो समय हल्लाको भरमा बजारमा लगानी गर्नेहरू बढी छन् । यस्तै लगानीकर्ताका कारण नेपालको शेयर बजारमा राम्रा र नराम्रा दुवै खाले हल्लाले बढी प्रभाव पार्दै आएको देखिन्छ ।

यसरी हल्लाले बढी प्रभाव पार्ने बजारमा जोखिम पनि बढी हुन्छ । त्यसैले शेयर बजारमा लगानी गर्नुपूर्व धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ ।

शेयरबजारका विज्ञदेखि धेरै थोरै ज्ञान हुनेसम्मले दिने एउटै सुझाव हुन्छ-'शेयर बजारमा कहिल्यै पनि ऋण लिएर लगानी नगर्नू ।'

दीर्घकालीन हिसाबले हेर्दा नेपालमा सबैभन्दा उच्च प्रतिफल पाउने क्षेत्र शेयर बजार रहेको पूर्वबैंकर अनलराज भट्टराई बताउँछन् । उनका अनुसार आज लगानी गरेर भोलि नै ठूलो नाफा कमाउँछु भन्नेका लागि यो क्षेत्रमा पनि सम्भव छैन । दीर्घकालीन लगानीबाट मात्रै मुनाफा कमाउन सम्भव छ । आजको दिनमा शेयर बजारमा २–३ लाख रूपैयाँ लगानी गरेर ३० वर्षपछि प्रतिफल लिन्छु भनेर लगानी गर्नेले निश्चितरूपमा राम्रो प्रतिफल प्राप्त गर्ने भट्टराई बताउँछन् ।

नवप्रवेशी लगानीकर्ताले यी पाँच कुरामा ध्यान दिनु जरुरी 

१ .  हल्लाको पछाडि नलाग्ने 

लगानीकर्ताहरूले हल्लाको भरमा लगानी गर्नु हुँदैन । हल्लाको भरमा गरिएको लगानीमा जोखिम धेरै हुने गर्दछ । त्यसैले शेयर बजारमा लगानी गर्नुपूर्व लगानीकर्ताले त्यो क्षेत्रबारे अध्ययन गर्नु जरुरी हुन्छ । लगानी गर्न लागेको कम्पनीको आधारभूत र प्राविधिक पक्षलगायतको राम्रोसँग अध्ययन गर्नु जरुरी हुन्छ । यसरी अध्ययन गरेर गरिएको लगानीमा जोखिम कम हुन्छ ।

२. अध्ययनशील हुने 

लगानी गर्नुपूर्व जहिले पनि शेयर बजारको पछिल्लो अवस्था, आफूले लगानी गर्ने कम्पनीको अवस्थालगायत सम्पूर्ण अवस्थाबारे अध्ययन गर्नुपर्छ । बजार सधैं एकनाश हुँदैन । बढ्ने र घट्ने बजारको नियम नै हो । त्यसैले लगानी गर्नुपूर्व यी कुराहरूमा सधैं चनाखो बन्नुपर्छ । लगानी गर्ने कम्पनीको वित्तीय अवस्था, कम्पनीमा संलग्न व्यक्तिलगायत विगत र वर्तमान अवस्थाबारे राम्रोसँग अध्ययन गर्नु जरुरी हुन्छ । 

३.  जोखिम वहन गर्न सक्ने क्षमतालाई ध्यान दिने 

कतिपय व्यक्तिहरू शेयर बजारमा लगानी गर्नेबित्तिकै मालामाल भइन्छ भन्ने भ्रममा परेका हुन्छन् । त्यसैले उनीहरूले आफ्नो जोखिम वहन गर्ने सक्ने क्षमताको मूल्यांकन नै नगरी बजारमा लगानी गरिहाल्छन् । जसले गर्दा पछुताउनुपर्ने अवस्था आउन पनि सक्छ । बजार सधैं बढिरहन्छ भन्ने पनि छैन । कहिलेकाहीँ शेयर बजारमा ठूलै करेक्सन आउन पनि सक्छ । त्यसले गर्दा पनि आफ्नो जोखिम वहन गर्न सक्ने क्षमतालाई मूल्यांकन गरेर मात्र लगानी गर्नु  उपयुक्त मानिन्छ । 

४.  कम्पनीका वित्तीय विवरणहरू अध्ययन गर्ने 

लगानीकर्ताले जहिले पनि आफूले लगानी गर्न लागेको कम्पनीले प्रकाशन गर्ने हरेक त्रैमासिक वित्तीय विवरणको अध्ययन गर्नु जरुरी हुने गर्दछ । वित्तीय विवरणमा उल्लिखित कम्पनीका महत्त्वपूर्ण पक्ष नाफा, पीई रेशियो र मूल्य आम्दानीलगायत शब्दावलीहरूलाई बुझ्नु जरुरी छ । लगानीकर्ताले जहिले पनि पीई रेसियो कम भएको र प्रतिशेयर आम्दानी बढी भएको कम्पनीमा लगानी गर्नुपर्छ ।

त्यसैगरी कम्पनीको खुद नाफा, वितरणयोग्य आम्दानी, लाभांश वितरण गर्न सक्ने अवस्थाबारे पनि अध्ययन गर्नुपर्ने हुन्छ । कम्पनीको समग्र वित्तीय अवस्थाको अध्ययन गरेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ ।

५.  खरीदविक्री गर्ने समय पहिचान 

कतिपय लगानीकर्ताहरू बजार घट्नेबित्तिकै आत्तिएर बेचिहाल्ने प्रवृत्तिका हुन्छन् । यसो गर्दा धेरै घाटा पनि व्यहोर्नुपर्ने हुन्छ । बजार बढ्नकै लागि घटेको हुन्छ । घटिरहन्छ नै भन्ने हुँदैन । एउटा निश्चित विन्दुमा पुगेपछि बजारले पुनः गति लिन्छ । त्यसैले बजार घट्नेबित्तिकै बेचिहाल्नु हुँदैन । कतिपय लगानीकर्ताहरू अझै नाफा कमाउने लोभमा बजार मूल्य बढेको बेला पनि होल्ड गरेर राख्छन्, यसो गर्दा पनि जोखिम नै हुन्छ । किनभने बजार एउटा निश्चित विन्दुमा पुगेपछि पुनः करेक्सन आउँछ । सोही कारण आफूले किनेको शेयर नाफामा गएपछि प्रोफिट बुक गर्ने हो भने गरिहाल्नुपर्छ । होइन दीर्घकालीन लगानी गरेको हो भने त्यसै अनुसार रणनीति बनाएर बजारमा सक्रिय हुनुपर्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Birander sunari magar

[Jan 1, 2023 02:10pm]

7pas



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)