ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यो वर्ष बढ्ला त सुनको भाउ ? 

२०७९ पुस, २०  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रमा सुवेदी

काठमाडौं 

हालैका दिनमा नेपाली बजारमा सुनको भाउ उकालो लागिरहेको छ । वैशाखमा केही दिन प्रति तोला १ लाख रुपैयाँमाथि उक्लिएर लाख रुपैयाँ भन्दा तल आयो सुनको भाउ मंसिरको अन्त्यसम्म पनि ६ अंक पार गर्न सकेन । त्यसयता पुष ३ मा पहिलो पटक भाउ १ लाख नाघ्यो । पुषको १४ गतेदेखि उकालो लागेको सुन बजार पुष २० सम्मै हरियोमै छ । यो बीचमा सुनको भाउ २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ९०० बाट बढेर १ लाख २ हजार ९०० पुगेको छ ।
मंगलबार अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ ६ महीनाकै उच्च बिन्दुमा पुगेको थियो । डिसेम्बर २८ मा बढ्न शुरु भएको सुनको भाउ आज जनवरी ४ सम्मै उकालो लागिरहेको छ । मंगलबारको दिनको कारोबारमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जमा स्पट गोल्ड प्रतिऔंस १ हजार ८५० डलरसम्म उक्लियो । बुधबारको कारोबारमा सुनको भाउ १ दशमलव शून्य ४ प्रतिशत अर्थात् झन्डै १९ डलर  १९ सेन्टले बढेर १ हजार ८५५ मा पुगेको छ । 
गएको वर्षको नोभेम्बर देखि नै अन्तरराष्ट्रि सुन बजार उकालो लागिरहेको छ । शेयरमा बजारमा आएको तीव्र उथलपुथल, विश्व अर्थतन्त्र मन्दीमा जाने प्रक्षेपण र केन्द्रीय बैंकहरुबाट सुनको मागमा भएको वृद्धिका कारण हालैका महीनामा सुन बजारले टेवा पाइरहेको छ ।  
सुनसँग विपरित सहसम्बन्ध ठानिएको अमेरिकी डलर मजबूत बनेको अनि लगानी गर्दा नडुब्ने ठानिएका अन्य सम्पत्तिहरुमा लगानी गर्ने प्रतिस्पर्धाका कारण सन् २०२२ मा सुनको भाउ रातोमै थियो । तर केन्द्रीय बैंकहरुकोे सुन खरिद, गरगहना बनाउन सुनको बढ्दो माग र सुनको सीमित आपूर्तिका कारण यस वर्ष भने सुनको भाउ बढ्ने ठोकुवा विश्लेषकहरुले गरिरहेका छन् । विश्व बजारमा सुनको भाउ यो वर्ष प्रतिऔंस २ हजार ५ सय देखि ४ हजार डलरसम्म आउन सक्ने प्रक्षेपणहरु आइरहेका छन् । 
आर्थिक मन्दीको भय र शेयर बजार ओरालो लाग्ने खतराका साथसाथै कमजोर डलर अनि मुद्रास्फीति अपेक्षा गरिएको स्तरमा नओर्लिने सम्भावना आदिले गर्दा पनि यो वर्ष सुन बजारले टेवा पाउने स्याक्सो बैंकमा कमोडिटी रणनीतिज्ञ रहेका ओल हान्सेनले सीएनबीसीसँगको कुराकानीमा भनेका छन् । अमेरिकी केन्द्रीय बैंकले महँगी नियन्त्रण गर्न शुरु गरेको आक्रामक ब्याजदर वृद्धिको अभियान सुस्त हुने संकेतले पनि सुनको भाउले टेवा पाउने विश्लेषण गरिएको छ । 
गएको वर्ष विश्वभर महँगी बढ्दा हेजिङको रुपमा सुनमा लगानी बढ्ने र सुनको भाउ बढ्ने अनुमान गरिएको थियो । तर अपेक्षाकृत सुनको भाउ बढेन बरु उल्टै घट्यो । भूराजनीतिक अनिश्चयको बेलामा पनि लगानीकर्ताहरुले शेयर लगायतका जोखिमयुक्त सम्पत्ति भन्दा सुनमा नै भरोसा गर्छन् । युक्रेनमाथि गएको वर्ष फेब्रुअरीको अन्त्यतिर रुसले गरेको आक्रमणले पनि सुनको भाउलाई टेवा दिने अपेक्षा  गरिएको थियो ।
 तर त्यो अपेक्षा तुहिएको छ । मार्चको  पूर्वाद्र्धमा प्रतिऔंस २ हजार ५० डलरमा पुगेको सुनको भाउ त्यसयता निरन्तर ओरालो लागेर सेप्टेम्बरको उत्तराद्र्धमा १ हजार ६६० डलरभन्दा तल आयो । नोभेम्बर देखि भने बजारले उल्टो गति लिएको छ । सुनको भाउ ३ हजार डलरमा पुग्न ६६ प्रतिशतले बढ्नु पर्नेछ । ४ हजार डलर नै छुने हो भने त सय प्रतिशतभन्दा धेरै बढेर पनि पुग्दैन । सुनको भाउ यस अघि वार्षिक ६० प्रतिशत भन्दा धेरैले बढेको सन् १९७० को दशकमा मात्रे हो । त्यस यताको सबैभन्दा उच्च वार्षिक वृद्धिदर सन् २००७ को ३२ प्रतिशत हो कोरोना भाइरसको महामारी शुरु भएपछि सन् २०२० मा सुनको भाउ एक चौथाईले बढ्यो । 
२०२३ मा सुन अहिलेसम्म नदेखिएको स्तर पुग्ला त ? 
फेडले दशकौं उताकै उत्कर्षमा पुगेको महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाएपछि गएको वर्ष सुनको भाउ ठ्याम्मै बढेन भन्दा पनि हुन्छ । गएको तीन ओटा आर्थिक मन्दीमा सुनको भाउ २५ देखि ३२ प्रतिशतले बढेको थियो यस पालि पनि यही चक्र दोहोरिने अनुमान गर्दा सुनको भाउ बढेर २ हजार २०० देखि २ हजार ४०० सम्म पुग्ने देखिन्छ । यति सम्म बढ्ने प्रक्षेपण तर्कसंगत नै देखिन्छ । सन् २०२३ को उत्तराद्र्धमा आर्थिक मन्दी अयो भने सुनको भाउ त्यहाँ सम्म नपुग्न पनि सक्छ भन्छन् एकाथरी विश्लेषकहरु । 
आक्रामक ब्याजदर वृद्धि र आर्थिक सुस्ती अनि सम्भावित मन्दीको भयको मार यो वर्ष  पनि शेयर बजार पर्ने देखिन्छ । तर अधिकांश प्रमुख अर्थतन्त्रमा महँगी लक्षित  स्तरमा रहन्छ कि रहन्न भन्नेमा चाँहि अर्थशास्त्रीहरु विवादित छन् । यो वर्ष केन्द्रीय बैंकहरुले आक्रामक ब्याजदर वृद्धिलाई छोडेर डोभिश रहेमा यसले  सुनको भाउमा ठूलो असर गर्न सक्छ ।
 यस्तो अवस्थामा सुनको भाउ  कम्तिमा पनि यो वर्ष २० प्रतिशतमाथि पुगेर अन्त्य हुन्छ भन्छन् एक गोल्ड माइनिङ ईटीएफका व्यवस्थाकि एरिक स्ट्रान्ड । डिसेम्बरको अन्त्यसमा सीएनबीसीको एक कार्यक्रममा स्वीस एशिया क्यापिटलका प्रवन्ध निर्देशक तथा प्रमुख लगानी अधिकृत जुअर्ग केइनरले भने अहिलेको बजारको अवस्थाले सन् २००१ र सन् २००८ को स्थिति दोहोर्याएको बताएका थिए । त्यति खेर सुनको भाउ ह्वात्तै बढेको थियो । डेढ वर्षभन्दा अली बढि समयमा सुनको भाउ प्रतिऔंस ६०० डलरबाट बढेर १ हजार ८०० डलरसम्म पुगेको थियो । अहिले पनि यस्तै खालको अवस्था दोहोरिन सक्ने र सुनको भाउमा १० वा २० प्रतिशत मात्रै नभएर सय प्रतिशतभन्दा बढीको वृद्धि हुने उनले बताएका थिए । ब्याजदर वृद्धि र आर्थिक मन्दीको भयबीच शेयर बजारमा उथलपुथल आउँदा सुनको भाउ यो वर्ष बढेर प्रति औंस ४ हजार डलर सम्म पुग्ने उनले बताएका थिए ।यो भनेको अहिलेको दोब्बर भन्दा धेरै हो । एजेन्सीहरुको सहयोगमा 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)