काठमाडौं । भनिन्छ, कुनै पनि पेशा व्यवसायमा जति धेरै जोखिम लिन सक्यो त्यति नै धेरै प्रतिफल पाइन्छ । शेयर बजारमा पनि धेरै जोखिम लिनेले नै धेरै प्रतिफल पाएका उदाहरण छन् । तर, कतिपय अवस्थामा भने शेयर बजारमा कम जोखिम लिनेले पनि धेरै प्रतिफल पाइरहेका हुन्छन् ।
शेयर बजारमा लगानी गर्ने सबै लगानीकर्ताहरूले थोरै लगानी गरेर धेरै प्रतिफल कमाउने आशा गरेका हुन्छन् । तर, सोचे जस्तो सहजै धेरै प्रतिफल भने पाउन सक्दैनन् । त्यसको पछाडिको कारण बेग्ला बेग्ले हुन सक्छन् । कसैले सहि जोखिम मूल्याङ्कन गर्न सकेका हुँदैनन् भने कसैले सहि समयमा सहि निर्णय लिन सकेका हुँदैनन् ।
शेयर बजारमा लगानी गर्दा प्रतिफल मात्र नहेरी त्यसमा अन्तरनिहित जोखिमको पनि अनुमान गर्नुपर्ने हुन्छ । सबैभन्दा बढी प्रतिफल दिने लगानी नै बढी जोखिमपूर्ण हुन सक्छ । मानौ १०० रुपैयाँ लगानीमा वार्षिक १० प्रतिशत मात्र प्रतिफल पाउन ठूलो जोखिम लिनु पर्दैन । अहिले मुद्दती खातामा बैंक तथा वित्तिय संस्थाले दिने ब्याज यो भन्दा बढी छ । तर १०० रुपैयाँ लगानी गरेर वार्षिक २०/३० वा ४० प्रतिशत प्रतिफल खोज्ने हो भने त्यस्ता स्टकमा लगानी गर्नुपर्छ जसले यो क्षमतामा लाभांश दिन सक्छन् वा अहिले थोरै लाभांश दिएपनि भोलिका दिनमा धेरै लाभांश दिन सकून ।
कुनै पनि स्टकमा लगानी गर्नु अघि लगानीकर्ताले ध्यान दिनुपर्ने कुरा भनेको उक्त प्रतिफल पाउन बहन गर्नुपर्ने जोखिम कति हो ? उक्त जोखिम आफूले बहन गर्न सक्ने हो या होइन ? त्यति नै प्रतिफल त्योभन्दा कम जोखिम बहन गरेर पो पाउन सकिन्छ कि ? यस्ता धेरै कुरामा लगानीकर्ताले ध्यान दिएर गरिने लगानीको निर्णय पक्कै पनि कम जोखिमयुक्त हुन सक्छ ।
कुनै पनि कम्पनीको शेयर मूल्य माग र आपूर्तिले नै निर्धारण गर्छ । त्यसको पछाडि रहेको कम्पनीको सम्पत्तिका आधारमा मात्रै शेयर मूल्य निर्धारण हुँदैन । कम्पनीहरूको शेयर मूल्य निकै सानोतिनो सूचनाले पनि परिवर्तन हुनसक्छ ।
जस्तो कम्पनीको व्यवस्थापन, कम्पनी संलग्न व्यावसायिक क्षेत्रको अवस्था, देशको राजनीतिक अवस्था र नियामक निकायकोे नीति जस्ता कुराले लगानीमा जोखिम वा प्रतिफल दुवै कुरामा असर गर्न सक्छ ।
यस्तो अवस्थामा लगानीकर्ताले दीर्घकालीन लगानी गर्ने कि अल्पकालीन लगानी भन्ने यकिन गर्नुपर्ने हुन्छ । दीर्घकालीन लगानी गर्ने हो भने विगतमा लगातार राम्रो लाभांश दिँदै आएको आधारमा मात्र होइन भविष्यमा पनि राम्रो गरिरहन सक्ने विश्वसनिय सम्भावना भएको कम्पनीहरू नै रोज्नुपर्ने हुन्छ ।
गत वर्ष ३२०० विन्दुमा पुगेको नेपालको शेयर बजार परिसूचक गत महीनासम्म १८०० विन्दुसम्म झरेको थियो । नयाँ सरकार गठन भएसँगै शेयर बजार पुनः उकालो लागेर अहिले २२०० विन्दु माथि उक्लिएको छ ।
यो प्रसंग किन जोडिएको हो भने बजार ३२०० विन्दुमा हुँदा धेरै नवप्रवेशी लगानीकर्ताले प्रतिफल बुक गर्न नजानेर लगानीको प्रतिफल पाउन सकेनन् । अहिले १८०० विन्दुमा प्रवेश गर्ने लगानीकर्ताले प्रतिफल पाइसक्दा ३२०० मा बजार प्रवेश गर्ने लगानीकर्ताको हात खाली हुन सक्छ ।
शेयर बजारमा सबैले कमाउँछन् नै भन्ने छैन । एकले गुमाउँदा अर्कोले कमाइरहेको हुन्छ । यसमा कहिले नव प्रवेशीले पनि कमाइरहेका हुन्छन्, कहिलेकाँही बजारका भेट्रान खेलाडीले पनि गुमाइरहेका हुन्छन् ।
हरेकको अपेक्षा एकचोटि त प्रतिफल पाइन्छ भन्ने नै हुन्छ । सोही कारण पनि कति समयको लगानी हो र कति प्रतिफल प्राप्त गरेपछि बेच्ने भन्ने पहिले नै निर्क्योल गरी अघि बढ्नु उपयुक्त हुन सक्छ ।
शेयर बजारबाट पैसा कमाउन त्यति सजिलो छैन । एक व्यक्तिले कमाएको हुन्छ भने अर्कोले गुमाएको पनि हुन्छ । यस्तो अवस्थामा सफल लगानीकर्ता कसरी बन्ने त ?
शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले आफ्नो नियम आफै बनाउनुपर्छ । सबैभन्दा पहिले आफ्नो लगानीको जिम्मेवारी कसरी बहन गर्ने भन्ने यकिन गर्नुपर्दछ ।
शेयर बजारलाई राजनीतिदेखि नीतिगत कुराले प्रभाव पारेको हुन्छ । यसको सकारात्मक तथा नकारात्मक प्रभाव दुवै हुन्छ । यस्तो अवस्थामा आफूले गरेको लगानीमा नाफा अथवा घाटा जेपनि हुन सक्छ । त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिन सक्नु पर्छ ।
जस्तो कि मैले लगानी गरेको कम्पनीबाट वार्षिक कति प्रतिफल लिने, अल्पकालीन लगानी गर्ने कि दीर्घकालीन लगानी गर्ने ? यो विषयमा लगानीकर्ता स्पष्ट हुनुपर्छ । आफूले कस्तो खालको लगानी गर्ने भन्ने यकिन भएपछि बजार घटेमा वा बढेमा जोखिम, प्रतिफल र स्टपलसको रणनीति लिन सकिन्छ ।
जव प्रवेशीले कसैको लहैलहैमा लागेर र ऋण लिएर शेयरबजारमा लगानी गर्नु हुँदैन । बजारको बारेमा गहन अध्ययन गरेर आफूले बनाएको योजनालाई अनुशासित रूपमा लागू गरेमा घट्दा होस या बढ्दा, बजारबाट कमाउन सकिने बजारका विज्ञहरू बताउँछन् ।
जोखिम घटाउनका लागि लगानीकर्ताले शेयर खरीद गर्न लागेका कम्पनीको आधारभूत पक्षदेखि हरेक क्रियाकलाप राम्ररी अध्ययन गर्नुपर्छ । यी विषयमा ध्यान दिन सके शेयर बजारबाट अपेक्षित प्रतिफल प्राप्त गर्न सकिन्छ ।
शेयरको जोखिम गणना विधि
स्ट्याण्डर्ड डेभिएशन : लगानीकर्ताले कम्पनीको औसत मूल्यबाट वास्तविक मूल्यको दरमा आउन सक्ने उतार चढावको सम्भाव्यता पत्ता लगाउन स्ट्याण्डर्ड डेभिएशनको प्रयोग गर्न सक्छन् । स्ट्याण्डर्ड डेभिएशन कम भयो भने कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । स्ट्याण्डर्ड डेभिएशन बढी छ भने जोखिम उच्च हुन्छ तर प्रतिफल पनि उच्च हुन सक्छ । ठिक समयमा विक्री गर्न सकियो भने राम्रो प्रतिफल प्राप्त हुन्छ । विभिन्न कम्पनीहरुले प्रदान गर्ने स्ट्याण्डर्ड डेभिएशन नेप्सेको चार्टबाट प्राप्त गर्न सक्नछन् ।
मानौ उदाहरणको लागि बुधवार कम्पनी ‘क’ को स्ट्याण्डर्ड डेभिएशन ४ दशमलव ३० छ । त्यस्तै कम्पनी ‘ख’ को २८ दशमलव ३२ रहेको छ । अब लगानीकर्ताले कम जोखिम लिन चाहान्छन् भने स्ट्याण्डर्ड डेभिएशन ४ भएको 'क' कम्पनीको शेयरमा लगानी गर्न सक्छन् । तर, जोखिम र प्रतिफल दुवै बढी लिन चाहान्छन भने स्ट्याण्डर्ड डेभिएशन २८ भएको 'ख' कम्पनीको शेयरमा लगानी गर्न सक्छन् ।
कम स्ट्याण्डर्ड डेभिएशन भएको कम्पनीमा कम उतार चढाब रहेको हुन्छ भने बढी भएकोमा उतार चढाब पनि बढी भएको पाइन्छ।