ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्रीलंकाकै हालतमा पुगेको पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख ऋणका लागि हारगुहार गर्दै

२०७९ माघ, २  
समाचार अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । अहिले पाकिस्तानको अर्थतन्त्र पनि श्रीलंकाकै अवस्थामा छ । चर्को ब्याजदरमा लिएको वैदेशिक ऋण अनुत्पादक वा कम उत्पादनमूलक क्षेत्रमा खर्च गर्दा पाकिस्तान गम्भीर आर्थिक संकटमा फसेको छ ।

यस्तोमा त्यहाँका प्रधानमन्त्री शहबाज शरीफले साउदी अरब, संयुक्त अरब इमिरेट्सलगायत धेरै देशबाट ऋण र आर्थिक राहत पाउन सफल भएका छन् ।

तर, पाकिस्तानको विदेशी मुद्रा सञ्चिति निरन्तर ओरालो लागिरहेको छ । त्यहाँको केन्द्रीय बैंकले गएको हप्ता विदेशी मुद्रा सञ्चिति ४ अर्ब ३० करोड डलरमा झरेको बताएको थियो । यसले ३/४ हप्ताको मात्रै आयात धान्ने विश्लेषकहरु बताइरहेका छन् । 

गएको वर्ष भिषण बाढीका कारण त्यहाँ ठूलो विनाश निम्तियो, अर्थतन्त्र ध्वस्त भयो । बाढीका कारण १ हजार ७०० भन्दा बढी मानिसको मृत्यु भयो । प्रभावितको संख्या ३ करोड ३० लाख भएको बताइएको छ । यसले पाकिस्तानलाई पनि ३० अर्ब डलरको आर्थिक नोक्सान भएको अनुमान गरिएको छ ।

लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री इमरान खानले विश्वासको मत गुमाएसँगै उनले राजिनामा दिएपछि गम्भीर राजनीतिक संकट उत्पन्न भएको छ । राजनीति अस्थीर भएको समयमा तेहरिक–ए–तालिबान पाकिस्तानले आफ्नो टाउको उठाउँदै विभिन्न ठाउँमा आक्रमण गरिरहेको छ । एक हिसाबले यस समयमा पाकिस्तान गम्भीर आर्थिक, राजनीतिक र सुरक्षा संकटमा फसेको छ भन्दा पनि अत्युक्ति हुँदैन । 

पाकिस्तानको आर्थिक अवस्था यति खराब बन्यो कि आयातित ऊर्जाको प्रयोग कम गर्न र बिजुलीको खर्च घटाउन सरकारले बजार र मलहरू समयपूर्व बन्द गर्ने आदेश दिएको छ । सरकारी कार्यालय र विभागलाई पनि ३० प्रतिशतले विद्युत खपत घटाउन निर्देशन दिइएको छ । 

पाकिस्तानले आगामी दुई वर्षसम्म वार्षिक २० अर्ब डलर ऋण पनि तिर्नु छ । सन् २०१७ मा पाकिस्तानको वार्षिक ऋण ७ अर्ब डलर थियो । अहिले यो दायित्व बढेर प्रति वर्ष २० अर्ब डलर पुगेको छ । चर्को ब्याजदरमा लिएको वैदेशिक ऋण अनुत्पादक वा कम उत्पादनमूलक क्षेत्रमा खर्च गर्नुको परिणति हो यो । 

पाकिस्तान लगातार ऋणमा फसिरहेको छ । सन् २०१९ मा पाकिस्तानले बहुपक्षीय कर्जादार्ता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट ६ अर्ब डलरको वित्तीय उद्धार प्याकेज पाएको थियो । गत वर्ष अगस्टमा आईएमएफले पाकिस्तानलाई अर्को १ अर्ब डलर ऋण दियो ।

अहिले अवस्था सुधार्न प्रधानमन्त्री शहबाज शरीफ र नयाँ सेनाका प्रमुख असिम मुनिरले मित्र राष्ट्रहरूको भ्रमण गरी सहयोग र ऋण जुटाउने प्रयास गरिरहेका छन् । सरिफ बिहीवार संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमणमा गएका थिए । युएईले पाकिस्तानलाई एक अर्ब डलरको नयाँ ऋण दिने घोषणा गरेको छ । यसअघि दिइसकेको दुई अर्ब डलर ऋण पनि थपेको छ ।

केही दिन अघि साउदी अरबले पनि पाकिस्तानलाई नयाँ ऋण दिने घोषणा गरेको थियो । साउदी युवराज मोहम्मद बिन सलमानले पनि पाकिस्तानको अर्थतन्त्रमा लगानी गर्न मद्दत गर्ने उपाय खोज्न आदेश दिएका थिए । साउदी प्रेस एजेन्सीको रिपोर्ट अनुसार साउदी फण्ड फर डेभलपमेन्टले पाकिस्तानको केन्द्रीय बैंकमा रहेको आफ्नो निक्षेप ३ अर्ब डलरबाट बढाएर ५ अर्ब डलर पुर्‍याउन अनुसन्धान गर्नेछ ।

ब्लूमबर्गकै समाचार पत्याउने हो भने पनि साउदी अरबले पाकिस्तानमा आफ्नो लगानी १० अर्ब डलरले बढाउनेछ । यसै वर्षको डिसेम्बरमा साउदीले पाकिस्तानलाई चार प्रतिशत ब्याजदरमा तीन अर्ब डलर ऋण दिएको थियो । हालै जेनेभामा भएको सम्मेलनमा पनि विश्वका प्रमुख आर्थिक संस्था र विकसित देशहरूले बाढीको प्रभावबाट उब्रिन पाकिस्तानलाई मद्दत गर्न करिब १० अर्ब डलरको बाढी राहत कोष घोषणा गरेका छन् । 

पाकिस्तानको समस्या के हो ? 

श्रीलंकालगायत अन्य विकासशील देशहरूले भुक्तानी सन्तुलनको संकटको सामना गरिरहेका छन् । पाकिस्तानको समस्या पनि यही नै हो । यी देशहरूमा निर्यातको तुलनामा आयात ह्वात्तै बढ्दा भुक्तानी सन्तुलनमा संकट देखिएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि कच्चा तेलको मूल्य प्रति ब्यारेल १२३ डलर पुगेको थियो । श्रीलंका, पाकिस्तान, नेपाल जस्ता धेरैजसो विकासशील देशले तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयात गर्दै आएका छन् । यसको आयातमा खर्च गर्नु पर्ने रकम बढ्यो । कोइला महँगियो, खाना पकाउने तेल पनि महँगो भयो । तर निर्यात भइरहेका वस्तुबाट हुने आम्दानी भने बढेन ।

व्यापार घाटा चुलियो अनि भुक्तानी संकट उत्पन्न भयो । यो समस्या भोग्नेमा पाकिस्तान, श्रीलंका मात्रै छैनन् । घाना, अर्जेन्टिना, ग्रीस र जिम्बाबे लगायतका देश पनि छन् । भुक्तानी सन्तुलन संकट नै यी देशहरुले भोगिरहेको आर्थिक चुनौतीको मुख्य जड हो । 

‘पाकिस्तानले विशेषगरी भुक्तानी सन्तुलनको गम्भीर संकटको सामना गरिरहेको छ । पाकिस्तानको आयात र निर्यातमा ४० अर्ब डलरभन्दा बढीको खाडल थियो ।’ वरिष्ठ पाकिस्तानी आर्थिक विश्लेषक फारुक सलीम भन्छन् । पाकिस्तानीहरूले पनि महँगीको सामना गर्नु पर्यो । कयौं ठाउँमा महँगी २५ प्रतिशतभन्दा माथि उक्लिएको छ । पाकिस्तानसँग भएको डलर लगभग सुक्दै गइरहेको छ । करिब तीन वा चार हप्ता मात्र आयात गर्न थेग्ने डलर भएको उनी बताउँछन् । यो सन् २०१४ यताकै न्यून भएको फारुकको भनाइ छ । 

अहिले पाकिस्तान डलर संकटमा फसेको छ । त्यही भएर पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख पाकिस्तानसँग मैत्रीपूर्ण सम्बन्ध भएका देशको भ्रमण गर्दै ऋण वा सहायता जे जे पाइन्छ त्यही जुटाउने प्रयासमा छन् । 

पाकिस्तानलाई जेनेभाबाट एउटा खुसीको खबर आएको छ । विश्वका ठूला आर्थिक संस्था र देशहरूले बाढी प्रभावित पाकिस्तानका लागि दश अर्ब डलरभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । यो पैसा पाकिस्तानमा जलवायु परिवर्तनको असरलाई कम गर्न प्रयोग गरिने छ । यो रकम पाकिस्तानको अपेक्षाभन्दा धेरै हो । 

ऋणको समाधान के छ ? 
यसरी जो सँग पनि ऋण वा वाचाले अहिले पाकिस्तानले भोगिरहेको आर्थिक संकटमा राहत देला त ? अहिलेको महत्वपूर्ण प्रश्न यही हो । जेनेभाबाट आएका वाचाहरूले पाकिस्तानको वर्तमान आवश्यकताहरू प्रत्यक्ष रूपमा पूरा नगर्ने फारुकको भनाई छ । यी वाचाहरू जलवायु परिवर्तनलाई रोक्नका लागि हो । यो रकम वातावरणसँग सम्बन्धित परियोजनाहरूमा मात्र प्रयोग गर्न मिल्छ । यूएई र साउदीबाट मिलिरहेको ऋण पनि पाकिस्तानले अहिले भोगिरहेको आर्थिक संकटको उपचार होइन । संकटको असर कम गर्ने प्रयास मात्र हो भन्छन् फारुक । यद्यपि, यी नयाँ ऋणहरूले अहिलेको अवस्थामा पाकिस्तानलाई तत्काल राहत दिने चाँहि निश्चित छ ।

पाकिस्तानले एक न एक दिन त यी कर्जाहरू चुक्ता गर्नु परिहाल्छ । अहिले पाकिस्तानसामु विदेशी मुद्राको चरम संकट छ । यो समस्या समाधान गर्न तत्कालिन उपायहरू चाहिएको छ । यस्तोमा ऋण केही सहयोगी त साबित हुन्छ । यसले थोरै  समयमै केही पनि सुधार गर्न सकिन्न  ।

पाकिस्तान सामु सबैभन्दा ठूलो चुनौती आर्थिक सुधार कसरी गर्ने भन्ने रहेको छ । त्यसैले नयाँ ऋणले तत्काल राहत मिले पनि संकट समाधान नहुने विश्लेषकहरूको विश्वास छ । अर्थतन्त्रको सुधार ऋणले हुँदैन । यसको लागि निर्यात व्यापार बढ्न जरुरी छ । आयातमा नियन्त्रण गरेर मात्रै पनि सुधार हासिल गर्न सकिन्न ।  यसका लागि निर्यात नै प्रवर्द्धन गर्नुपर्छ ।

गत वर्ष श्रीलंकामा गम्भीर आर्थिक संकट आयो, त्यसपछि राजनीतिक अवस्था प्रभावित भएको थियो । जनता सडकमा उत्रिए र राष्ट्रपतिले देश छाड्नुपर्‍यो । तर पाकिस्तानको आर्थिक संकट श्रीलंकाको जस्तै भए पनि यसको राजनीतिक प्रभाव भने देखि सकेको छैन ।

अहिले पाकिस्तानमा सबैभन्दा ठूलो संकट भनेको भुक्तानी सन्तुलन नै हो । श्रीलंकामा पनि आर्थिक संकट यसैका कारण निम्तिएको थियो । पाकिस्तानको आर्थिक सङ्कटका लक्षणहरू श्रीलंकाको जस्तै छ । तर अहिलेसम्म पाकिस्तानमा राजनीतिक विरोध र प्रदर्शन भएका छैनन् । एजेन्सीको सहयोगमा 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)