ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाकिस्तानी प्रधानमन्त्री र विज्ञबाटै भारतको प्रशंसा ! भारतप्रति किन 'शफ्ट' हुँदैछ पाकिस्तान ?

२०७९ माघ, ६  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । केही हप्ता अघि भारतले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को स्थायी सदस्य बन्ने प्रस्ताव गरेपछि भारत र पाकिस्तानका विदेशमन्त्रीहरूबीच झगडा परेको थियो । सुरक्षा परिषद्को स्थायी सदस्य बन्ने भारतको प्रस्तावलाई पाकिस्तानले रोक्यो ।

तर, केही दिन अघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले शान्तिको हात बढाउँदै प्रधानमन्त्री मोदीलाई ‘गम्भीर र इमान्दार’ वार्ताका लागि निम्तो दिएपछि अहिले यो चर्चाको विषय बनेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)को न्यूज च्यानल अल–अरेबियालाई दिएको अन्तरवार्तामा शरिफले भारतको नेतृत्व र प्रधानमन्त्री नरेन्द्र मोदीलाई वार्ताको टेबुलमा बसेर कश्मीर जस्ता ज्वलन्त समस्याको समाधान गर्न र गम्भीर र इमान्दार भएर कुराकानी गर्न भनेका थिए । सो कुराकानीमा शरीफले भारतसँग तीनवटा युद्ध लडेपछि पाकिस्तानले पाठ सिकेको पनि बताए । 

आफूहरु हामी शान्ति र प्रगतिमा बाँच्ने कि एक आपसमा लडाइँमा समय र स्रोत खेर फाल्ने भनेर पनि उनले प्रश्न गरेका थिए । पाकिस्तानले भारतसँग तीनवटा युद्ध लडेका अनि यसले  जनतामा कष्ट, गरिबी र बेरोजगारी मात्र ल्याएको पनि उनले बताए । ‘हामीले पाठ सिकेका छौं र अब हामी शान्तिमा बाँच्न चाहन्छौं’ उनले भनेका थिए । आफ्नो अन्तरवार्तामा पाकिस्तानका प्रधानमन्त्रीले भारत र पाकिस्तानलाई एक ठाउँमा ल्याउन युएईको नेतृत्वले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने संकेत गरेका थिए । 

उनको यो सनसनीपूर्ण अभिव्यक्ति आगोझैं फैलियो । पाकिस्तानले केही घन्टामै यूटर्न लियो । शरीफको कार्यालयले जारी गरेको स्पष्टीकरणमा भारतले कश्मीरबाट धारा ३७० हटाएर पुराना प्रावधानहरू लागू गर्ने अनि आफ्नो गैरकानूनी निर्णर्य फिर्ता लिएपछि मात्र भारतसँग वार्ता हुने बतायो ।

पाकिस्तानले जहिले पनि भारतले आफ्नो नियन्त्रणमा रहेको कश्मीरमा २०१९ अगष्ट ५ मा उठाएको कदम फिर्ता लिएपछि मात्रै वार्ता गर्ने बताउँदै आएको छ । यो अन्तरवार्ता प्रसारण हुनेबित्तिकै पाकिस्तानमा हंगामा नै मच्चियो । राजनीतिक क्षतिलाई न्यूनीकरण गर्न पाकिस्तानको प्रधानमन्त्री कार्यालयले तुरुन्तै स्पष्टीकरण दियो ।

ट्विटमा  प्रधानमन्त्रीले लगातार भारत र पाकिस्तानले आफ्नो आपसी समस्या विशेष गरी कश्मीरलाई वार्ता र शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने बताएको उल्लेख गर्यो । भारतले कश्मीर उपत्यकाको विशेष दर्जा पुर्नस्थापित गरेपछि मात्रै वार्ता हुने शरिफले बारम्बार भनेको पनि पीएमओले सो ट्विटमा भनेको थियो 

वार्ताको प्रस्तावबाट किन पछि हट्यो पाकिस्तान ?
पाकिस्तानका भारतीय मामिलाका विज्ञ डा. अरशद अलीले नेताहरूको पहल महत्वपूर्ण भए पनि सबै सरोकारवालाको समर्थन नमिलेसम्म यो पहल प्रभावकारी हुन नसक्ने बताएका छन् ।

अल अरेबियालाई दिएको अन्तरवार्तामा प्रधानमन्त्रीले भारतसँग वार्ताको प्रस्ताव राख्दा विदेश मन्त्रालयलाई विश्वासमा लिएको हो कि होइन थाहा छैन । तथ्य यही हो कि सन् २०१९ देखि भारतसँग वार्ताका सम्बन्धमा पाकिस्तानको आधिकारिक अडान एउटै छ त्यो हो जस्तो  सुकै वार्ताका लागि पनि भारतले कश्मीरमा मोदी सरकारले उठाएका कदम फिर्ता लिनै पर्छ । 

शरीफको यो भनाइ एक मैत्रीपूर्ण इशाराबाहेक अरू केही होइन भन्छन् अरशद । दुई देशबीच कुनै पनि किसिमको गम्भीर वार्ताका लागि साँच्चै सहमति भयो भने त्यसको तयारी पहिले तल्लो तहमा हुनुपर्छ । त्यसको रूपरेखा नेताहरुको बैठक अगाडि नै तय गर्नुपर्नेछ । यस विषयमा कुनै पनि देशले एकतर्फी निर्णय गर्न नसक्ने अरशदको भनाइ छ ।

वार्ताको प्रस्तावका लागि शरिफको अन्तरवार्ता उपयुक्त मञ्च र समय दुबै नभएको विश्लेषण पनि गरिएको छ । बढ्दो घरेलु आर्थिक चुनौती र राजनीतिक संकटबाट जनताको ध्यानाकर्षण गराउन शहबाज शरिफले यो चाल चलेको अनुमान पनि गरिएको छ । प्रस्ताव राम्रो अभिप्रायको सुनिएपनि वार्ताको प्रस्तावका लागि छनोट गरिएका शब्दहरूमा गम्भीरतापूर्वक विचार नगर्दा प्रधानमन्त्री कार्यालयले ट्वीट गर्दै स्पष्टीकरण दिनुपर्यो । 

आज भारत र पाकिस्तान दुबैले एकअर्काप्रति कडा अडान लिएका बेला यस्तो आधा पाकेको प्रस्तावले राम्रो नतिजा ल्याउन नसक्ने विश्लेषक घिना मेहर भन्छन् । डा. हसन अस्करी रिजवी पनि मेहरको कुरामा सहमत छन् ।

अहिले भारतले पाकिस्तानसँग कुनै फलदायी वार्तामा चासो नदेखाएको उनको भनाइ छ । यतिबेला भारत कट्टर राष्ट्रवादी राष्ट्रको नयाँ छवि बनाउन खोजिरहेको छ । राष्ट्रवाद बढ्दै गएको बेला सत्तारुढ दलले शत्रुको रूपमा प्रस्तुत गर्दै आएको देशसँग वार्ता गर्नु अलोकप्रिय कदम हुन सक्छ । यस्तो कुनै पनि कदम प्रधानमन्त्री मोदी र भाजपाका लागि राजनीतिक रूपमा हानिकारक हुन सक्ने विश्लेषण रिजवीको छ । 

पाकिस्तान तहरीक–ए–इन्साफका वरिष्ठ नेता र पूर्व केन्द्रीय मन्त्री शिरीन मजारीले आफ्नो ट्वीटमा प्रधानमन्त्री शहबाज शरीफमाथि कडा हमलै गरे । आफूले नबुझेको विषयमा शरिफले आफ्नो मुख बन्द राख्नुपर्छ नत्र यसले पाकिस्तानलाई मात्रै हानि र्पुयाउने मजारीले भनेका छन् ।

शरिफको सरकार निकै कमजोर छ । नियत राम्रै भएपनि सरकारको हैसियत भारतलाई राम्रो भनी भनी वार्तामा बोलाउने जस्तो गम्भीर प्रस्ताव गर्न सक्ने अवस्थामा नभएको रिजवीको भनाइ छ । आफूले अन्तरराष्ट्रिय स्तरमा त्यसरी बोल्दा त्यसको परिणाम गम्भीर हुन सक्ने ठानेर नेताले सावधानी र चतुराई पूर्वक काम गर्नु पर्ने पनि उनी बताउँछन् । 

अहिले सिंगै दक्षिण एशियाको हालत ठिक छैन । सबै देश आ–आफ्नो आर्थिक र राजनीतिक संकट सुल्झाउन लागिपरेका छन् । यस्तोमा भारत र पाकिस्तानबीचको सम्बन्धलाई सामान्य बनाउने दिशामा खासै सफलता मिल्ने छैन । एक अर्कासँगको सम्बन्धलाई पाकिस्तान र भारत दुबैले सत्तामा पुग्ने साधन बनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानप्रति कट्टर नीति अपनाएर धेरै चुनावी फाइदा लिएका छन् । उनी अर्को आम निर्वाचनको तयारीमा छन् । यस्तोमा चुनावमा आफूलाई फाइदा हुने नीति उनले किन र कसरी परिवर्तन् गर्लान् ? 

शरिफले भारतसँग वार्ता प्रस्ताव गर्नु अघि विपक्षी दल, सुरक्षा संयन्त्र र संसदजस्ता देशका अन्य सरोकारवालाहरूलाई विश्वासमा लिएनन् । यो पनि पाकिस्तानको परम्परागत नीतिबाट यु–टर्न नै हो । भारत र पाकिस्तान दुवै आणविक शक्ति सम्पन्न देश हुन् । कश्मीरको पुलवामामा सुरक्षा बलमाथि भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानभित्र हवाई आक्रमण गरेपछि दुई देशबीचको सम्बन्ध निकै चिसिएको छ । मोदी सरकारले कश्मीरमा संविधानको धारा ३७०  लाई खारेज गरेपछि दुई देशबीच तनाव झनै बढेको हो ।

भारत र पाकिस्तानले स्वतन्त्रता र विभाजनपछि तीनवटा ठूला युद्ध लडेका छन् । यसबाहेक दुई देशबीच धेरै साना ठूला झडपहरू पनि भएका छन् । अन्तरवार्तामा शाहबाज शरीफले यी युद्धहरूतर्फ औंल्याउँदै आफ्नो देशले यसबाट पाठ सिकेको बताएका थिए । 

पाकिस्तानसँगको सम्बन्ध सुधार्ने मामिलामा भारतको रवैया निकै चिसो छ । यूएनको सुरक्षा परिषद्‍मा भारत र पाकिस्तानी विदेश मन्त्रीबीचको चर्काचर्कीपछि दुई देशको सम्बन्ध झनै चिसिएको छ । दुबै देशका विदेश मन्त्रीले एक अर्काको देशलाई तथानाम गाली गरेका थिए ।

पछिल्लो समय दक्षिण एशियाको कूटनीति कट्टर राष्ट्रवाद, र सस्तो लोकप्रियता आदिको शिकार भएको छ । यस्तोमा दुई देशबीच सम्बन्ध सुध्रने वा भारतले पाकिस्तानप्रति नम्र व्यवहार गर्छ भन्ने आशा गर्नु मुश्किल छ । एजेन्सीको सहयोगमा 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)