ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर बजारमा लगानी गर्न चाहनुहुन्छ ? यस्तो छ धितोपत्रको दोस्रो बजारमा प्रवेश गर्ने प्रक्रिया

२०७९ माघ, ६  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । पछिल्लो समय शेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताको सख्या बढ्दो छ । हालसम्ममा अनलाइन कारोबार प्रणालीमा १४ लाख भन्दा बढी लगानीकर्ता आवद्ध छन् ।

समग्र शेयर बजारमा प्रवेश गर्नेको सख्यालाई सिडिएस क्लियरिङ्ग लिमिटेडको तथ्याङ्कले पनि पुष्टि गर्छ । शुक्रवार सम्ममा डिम्याट खाताको संख्या ५४ लाख ८४ हजार २७३ पुगेको छ । यी सबैले भने धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दैनन् । 

शेयर  बजारमा दुईओटा बजार हुन्छन् । एउटा प्राथमिक बजार र अर्को दोस्रो बजार । यी दुईमध्ये प्राथमिक बजार भनेको आवेदन दिएर शेयर किन्ने बजार हो । कुनै कम्पनीको  साधारण शेयर (आईपीओ) किन्न आवेदन दिनुनै प्राथमिक बजारमा प्रवेश गर्नु हो । तर यसमा आवेदन दिँदैमा सबैले शेयर पाइहाल्ने अवस्था अपवादमा मात्रै हो । ९९ प्रतिशत कम्पनीको शेयर अहिले गोलाप्रथामार्फत बाँडफाँट हुन्छ । यसमा भाग्यमानीले मात्रै शेयर हात पार्छन् । यसरी हात परेको शेयर बेच्न भने दोस्रो बजारमै जानुपर्छ ।

दोस्रो बजारमा भने आईपीओ नकिन्नेहरू सिधै प्रवेश गर्न पनि सक्छन् । दोस्रो बजारमा शेयर कारोबारका लागि लगानीकर्ता धितोपत्र ब्रोकर कहाँ गएर वा अनलाइन मार्फत पनि खाता खोलेर कारोबार गर्न सक्छन् ।

लगानीकर्ताको आदेश बमोजिम शेयरको खरीद र विक्री गरिदिने धितोपत्र बोर्डबाट अनुमति प्राप्त कम्पनीलाई स्टक ब्रोकर भनिन्छ । 

यस्ता कम्पनीहरू हाल नेपालमा ५० ओटा छन् । तिनका शाखा कार्यालय सहित कुल ७६ ओटा ब्रोकर कार्यालय र एउटा स्टक डिलर रहेको छ ।  

धितोपत्रको दोस्रो बजारबाट शेयर खरीद गर्न लगानीकर्ताले अनलाइनबाटै वा ब्रोकर कम्पनीमा सम्पर्क राख्न सक्छन् । लगानीकर्ताले चाहेअनुसार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीको शेयर बजार मूल्य वा बिक्रेताले बिक्री गर्न चाहेको मूल्य तिरेर शेयर खरीद गर्न सक्नेछन् । 

पहिलो बजारमा जोखिम एकदमै नगन्य हुन्छ भने दोस्रो बजारमा जोखिम बढी हुन्छ । जोखिम हुने भएपनि लगानीकर्ताले चाहेअनुसार शेयर खरीद गर्न सक्छन् । 

दोस्रो बजारबाट शेयर खरीद गर्नका लागि भने लगानीकर्ताले केही प्रक्रियाहरू भने पूरा गरिसकेको हुनुपर्छ । ति प्रक्रियाहरु यस्ता छन् : 

बैंक खाता खोल्ने

शेयर बजारमा पहिलो वा दोस्रो जुनसुकै बजारमा प्रवेश गर्नको लागि पनि पहिलो आवश्यक्ता बैंक खाता हो । बैंक खाता खोल्नका लागि नजिकको बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिन्छ ।

डिम्याट खाता खोल्ने
शेयर खरीदका लागि पहिला डिम्याट खाता भने अनिवार्य हुनुपर्छ । पैसा राख्नका लागि बैंक खाता खोलेजस्तै शेयर राख्नका लागि डिम्याट खाता चाहिन्छ । डिम्याट खाता अहिले अनिवार्य गरिएको छ । डिम्याट खाता खोल्नका लागि बैंक खाताको विवरण र नागरिकताको  प्रतिलिपि तयार गर्नुपर्ने हुन्छ । यी कागजात लिएर आफ्नो खाता भएको बैंक, मर्चेन्ट बैंक, क्यापिटल र स्टक ब्रोकरमा गएर पनि डिम्याट खाता खोल्न सकिन्छ ।  कतिपय क्यापिटल र ब्रोकरले अनलाइनबाटै डिम्याट खाता खोल्ने सुविधा पनि  दिएका छन् । डिम्याट खातासंगै मेरो शेयर एपलिकेशनको लगइन पनि लिनुपर्छ ।

ट्रेडिङ खाता खोल्ने
दोस्रो बजारमा शेयर कारोबार गर्नका लागि डिम्याट खातपछि कारोबार (ट्रेडिङ) खाता  आवश्यक पर्छ । यो खाता भने ब्रोकर कार्यालयमा गएर खोल्न सकिन्छ । यसका लागि फोटो, नागरिकताको प्रतिलिपि र डिम्याट खाताको विवरण आवश्यक पर्छ । ट्रेडिङ खाता खोल्न ब्रोकरको कार्यालय वा वेवसाइट मार्फत अनलाइन आवेदन  दिएर सहजै खोल्न सक्ने ब्यवस्था छ । 

अनलाइन सुविधा
माथिका यी दुई प्रक्रियाहरु पूरा गरिसकेपछि  लगानीकर्ता दोस्रो बजारमा गएर शेयर खरीद गर्न सक्नेछन्  । तर अहिले अनलाइन कारोबार प्रणाली शुरु भइसकेकाले पहिलेको जस्तो ब्रोकर कम्पनीमै गएर कारोबार गर्नु पर्ने अवस्था छैन । अनलाइन सुविधा लिएर घरमै बसीबसी आफूले चाहेको कम्पनीको शेयर किन्न वा बेच्न सकिन्छ । पछिल्लो समय अनलाइन मार्फत सहज रुपमा धितोपत्रको कारोबार गर्ने ब्यवस्था छ ।

शेयर बेचेपछि के के गर्नुपर्छ ?
दोस्रो बजारमा शेयर किनबेच गरिसकेपछि हजारौं लगानीकर्ताले मेरो काम सकियो भनेर चुप लागेर बस्दा हजारौं रुपैयाँ जरिवाना पनि तिर्नुपरेको छ । यसरी जरिवनाबाट बच्नको लागि शेयर बेचिसकेपछि मेरो शेयर एप मार्फत इडीआईस गर्नुपर्छ । त्यसपछि मात्रै सम्बन्धित ब्रोकरले तपाईंको खातामा भएको शेयर किन्ने व्यक्तिको खातामा ट्रान्सफर गर्न सक्छन् । समयमै शेयर ट्रान्सफर भएन भने ब्रोकरले शेयर बेच्नेलाई पाउने रकमको २० प्रतिशत जरिवाना तिराउँछन् ।

शेयर खरीद गर्ने हो भने कनेक्ट आईपीएस वा तोकिएको बैंकमार्फत ब्रोकरको टिएमएसमा कोल्याट्रल रकम जम्मा गर्नुपर्ने हुन्छ । पहिलोपटक शेयर किन्नको लागि शतप्रतिशत  कोल्याट्रल माग्ने ब्रोकर कार्यालयले नियमित कारोबार गर्ने लगानीकर्तालाई भने २५ देखि ५० प्रतिशत रकम जम्मा गरेको आधारमा पनि शेयर किन्ने सुविधा  दिन्छन् ।

नेपाली शेयर बजारमा केही वर्ष देखि ‘टी प्सल टु सिस्टम’ लागू भएको छ । यो भनेको दुई दिनमै कारोबार राफसाफ हुने प्रणाली हो । तपाईंले कुनै शेयर खरीद गर्नु भयो भने दुई दिनभित्रै रकम तिरिसक्नु पर्छ । तर, तपाईंले बेचेको शेयरको रकम भने ब्रोकर कम्पनीले दुई दिनमै लगानीकर्ताको खातामा नपठाउन पनि सक्छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)