ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अदानी प्रकरणले भारतमा एफडीआई नआउने आशंका ! नेपाल लगायत छिमेकी देशमा कस्तो असर पर्ला ?

२०७९ माघ, २२  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । हालैका दिनमा भारतीय अर्बपति व्यापारी गौतम अदानीको कम्पनीको शेयर मूल्यमा 'पहिरो' गएको छ । कम्पनीका बजार पूँजीकरण गुम्ने क्रम जारी छ, अदानी स्वयंको नेटवर्थसँगै उनको साख गिरिरहेको छ । ‘लहरो तान्दा पहरो’ भनेझैं अदानीको साखको असरले भारतको छविलाई समेत धमिलो पारिरहेको छ । 

गत जनवरी २३ मा अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको अर्बपतिहरूको सूचीमा १ खर्बभन्दा बढीको नेटवर्थसहित अदानी विश्वको दोस्रो धनी व्यक्ति थिए । तर, अहिले उनी शीर्ष २० बाट पनि तल झरेका छन् । हरेक दिन उनको नेटवर्थसँगै खर्बपतिको सूचीमा अदानीको वरीयता झर्दै गइरहेको छ । 

अदानी जति 'गरिब' हुँदैछन्, उति नै उनको कम्पनीमा लगानी गरेका कम्पनी र व्यक्तिहरू 'कंगाल' भइरहेका छन् । अदानी समूहका कम्पनीमा उच्च लगानी गरेका भारतको सरकारी कम्पनीहरू भारतीय जीवन बीमा निगम र स्टेट बैंक आदिमा पनि यसको असर देखिएको छ । अदानीले २ खर्ब भारतीय रुपया उठाउन जारी गरेको अदानी इन्टरप्राइजेजको एफपीओ नबिकेर फिर्ता हुनु यसकै उदाहरण हो ।  

अदानीलाई मद्दत गर्न भारतका अर्का अर्बपति व्यापारी मुकेश अम्बानी अगाडि आउने हल्ला सुनिएको थियो । तर, यस्तो भएन । न त यूएईको शाहि परिवारले नै अदानीको उद्दार गर्न सक्यो । अदानीको मामिलाले भारतीय अर्थतन्त्रलाई नै क्षति भएको अर्थतन्त्र र शेयर बजार विज्ञहरूले बताइरहेका छन् । 

शेयर बजारमा चलखेल, अफसोर ट्याक्स हेभरमा गरिएको अर्बाैं डलरको लगानी र समूहको हिसाबकिताबमा धोकाधडी गरेको भन्दै अदानी समूहमाथि आरोप लगाउँदै हिन्डेनबर्ग रिसर्चले ल्याएको प्रतिवेदनपछि भारतको व्यावसायिक नियमनमाथि शंका उब्जिएको छ । भारतले आफ्नो व्यावसायिक वातावरण सुधारेर विदेशी लगानी बढाउन खोजिरहेकै समयमा अदानी काण्डको असर दूरगामी हुने विश्लेषण आउन थालेको छ । 

यसले भारतमा आउने विदेशी लगानी र एफडीआई नै प्रभावित बनाउने भन्ने शंका पनि गर्न लागिएको छ । विश्वस्तरमा अदानी समूहमा प्रतिबन्ध लाग्ने क्रम जारी छ । अमेरिकाको एसएन्डपी दाउ जोन्स इन्डिसिजले फेब्रुअरी ७ देखि अदानी इन्टरप्राइजेजलाई डाउ सस्टेनेबिलिटी इन्डेक्सबाट बाहिर गर्ने निर्णय गरेको छ । सिटी गु्रपको लगानी शाखाले अदानी समूहको शेयरलाई ग्यारेन्टीको रूपमा स्वीकार नगर्ने भएको छ । क्रेडिट सुसी जस्ता अन्य लगानी समूहले पनि यस्तै घोषणा गरिसकेका छन् । अन्यले भने अदानी समूहका कम्पनीको शेयरलाई नकारात्मक रेटिङ दिएका छन् ।  

गएको केही वर्षमा अदानी समूहले सञ्चारमाध्यमदेखि ऊर्जा र सडक परियोजनादेखि बन्दरगाह अनि सिमेन्टदेखि नवीकरणीय ऊर्जासम्म सबैतिर लगानी खन्याएको छ । भारतका कयौं मेगा परियोजना अदानीको नाममा छ । विदेशमा पनि लगानी छ । कोइलाको मूल्यमा चलखेलबारे अर्काे विवादमा पनि अदानी मुछिएका छन् । अदानी समूहले नेपालसँगै बंगलादेश, श्रीलंका र म्यानमारमा लगानी गरेको छ । मोदीको ‘छिमेकीलाई पहिला’ भन्ने पहलअन्तर्गत अदानीले छिमेकी देशमा लगानी ओइराएका छन् । छिमेकी देशका शीर्ष नेताहरूसँगको भेटघाटमा लगानीसम्बन्धी ठुल्ठूला घोषणा गरेका छन् । 

भारतीय शेयर बजार नियामक सेबीले अदानी समूहका कारण उत्पन्न हुन सक्ने अस्थिरता कम गर्न उपायहरू ठिक बनाइएको बताएको छ । तर, अदानी समूहका कम्पनीको शेयरमा आइरहेको कमी अनि अदानी इन्टरप्राइजेजको एफपीओ रद्दका घटनाले छिमेकी देशहरूलाई पनि सतर्क बनाएको छ । 

भारतको बाह्य मामिला मन्त्रालयले पनि अदानीको परियोजनामा आउने झट्काले छिमेकी देशसँगको सम्बन्ध प्रभावित नहोस् भन्ने सुनिश्चित गर्ने स्पष्ट पारेको छ । अदानीको शेयरमा आएको कमी विदेश नीतिको सवाल होइन भनेर पनि मन्त्रालयले स्पष्ट पारेको छ । वित्तीय वा आर्थिक कारणले गर्दा कुनै परियोजनाको काम नभए यसको असर आपसी सम्बन्धमा नदेखिने बिहीवार विदेश मामिला मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बताएका थिए । 

अदानी समूहले बंगलादेशलाई बिजुली उपलब्ध गराउने भन्दै झारखन्डको गोद्दामा थर्मल ऊर्जा परियोजनामा काम गरिरहेको छ । तर, २०२२ को जनवरीमै बंगलादेशलाई उपलब्ध गराउने भनिएको ऊर्जा अहिलेसम्म पनि पूरा हुन सकेको छैन । अन्यत्र पनि यस्तै छ । अदानीको पतनको असर भारतीय अर्थतन्त्रमा देखिने भय बढिरहँदा वित्तमन्त्री निर्मला सीतारमणले भने यस्तो नहुने दाबी गरिरहेकी छन् । 

दक्षिण एशियामा अदानी समूहको अन्य परियोजनाहरू पनि विवादमा आएका छन्, रोकिएका छन् । अमेरिकी प्रतिबन्धको धम्कीपछि २०२२ मा अदानी समूह म्यानमारको यंगुन नदीमा एक परियोजनाबाट बाहिरिएको थियो । श्रीलंकामा पनि सेलोन इलेक्ट्रिसिटी बोर्डले एउटा पत्र पठाएको सार्वजनिक भएपछि अदानी समूहले मन्नार तटमा ५०० मेगावाटको बिजुली परियोजनाबाट हात झिक्यो । भारतीय नरेन्द्र मोदीले श्रीलंकाका तत्कालीन राष्ट्रपति गोतबाया राजपाक्षलाई दबाब दिएर अदानीलाई सो ऊर्जा परियोजना दिन लगाएका थिए । 

सो आरोप राजापाक्षले खन्डन गरे अनि सेलोन इलेक्ट्रिसिटी बोर्डका तत्कालीन अध्यक्ष एमएमसी फार्डिनान्डोले राजीनामै दिए । अहिले अदानी समूह अहिलेसम्मकै खराब वित्तीय संकटमा फसेको छ । अदानीले ऊर्जाबाहेक छिमेकी देशहरूका पूर्वाधार परियोजनामा पनि हात हालेको छ । तर, पछिल्लो संकटपछि ती परियोजनामा रकम कसरी जोहो गर्छ भन्ने शंका उब्जिएको छ । 

अदानी समूहले नेपालमा पनि जलविद्युत् र प्रशारण लाइन निर्माणमा हात हालेको छ । यो प्रशारण लाइनले नेपालको बिजुली भारत, बंगलादेशमा मात्रै होइन, भविष्यमा श्रीलंकासम्म पुर्याउने आशा गरिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गत वर्ष भारत भ्रमणको क्रममा मोदी र उनले ऊर्जामा सहकार्यका विषयमा संयुक्त विज्ञप्ति नै जारी गरेका थिए । अदानीलाई मोदीको निकै निकट मानिन्छ । 

मोदीले आफू सत्ता र शक्तिमा रहँदा भारतका अदानी समूहका कयौं परियोजनामा सस्तोमा जमिन मिलाइदिएको उदाहरण पनि छन् । मोदीकै जोडमा अदानी समूहले नेपालमा लगानी गरेको विश्लेषण गरिएको छ । 

पछिल्लो समय समूहमा छाएको संकट र छिमेकी देशहरूमा समूहको परियोजनाबारे द हिन्दुले राखेको जिज्ञासामा अदानी समूहले कुनै प्रतिक्रिया दिएको छैन । अदानी समूहले नेपाललगायत अन्य छिमेकी देशहरुमा ऊर्जा र कनेक्टिभिटीमा हात हालेको छ । यस्तोमा अदानी समूहमा छाएको संकटबारे नेपाल र नेपालीहरूको पनि उत्तिकै चासो हुनु स्वभाविक नै हो । एजेन्सीहरूको सहयोगमा 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)